चर्चित तामाङ चलचित्र ‘घ्रान’ भदौ १६ गते भक्तपुरमा प्रदर्शन हुने

३१ श्रावण २०७५, बिहीबार १६:२४
Ghran-Murchunga TV 5

चन्द्र घलान, हेटौँडा, ३१ साउन । तामाङ चलचित्र ‘घ्रान’ यही आउँदो भदौ १६ गते भक्तपुरमा प्रदर्शन हुने भएको छ । भक्तपुरमा अवस्थित बारही मूभिज हलमा चलचित्र प्रदर्शन गर्ने कार्यक्रम तय भएको चलचित्रका नायक सागर घिसिङले जानकारी दिएका छन् ।

साउन ५ गते काठमाडौँ जमलस्थित राष्ट्रिय नाचघरमा पहिलो प्रिमियर शो गरिएको चलचित्र ‘घ्रान’ गीतसँगीत र दमदार ट्रेलरका कारण पहिलेदेखि नै चर्चामा छ । प्रिमियर शो पश्चात तामाङ चलचित्रको क्षेत्रमा प्राविधिक पक्ष र कथात्मक शैलीमा नै टर्निङ प्वाईन्ट बन्न सफल भएको प्रतिक्रिया पाएको यो चलचित्र तामाङको मौलिक भाषा तथा सँस्कृति र तामाङ समुदायकै कथामा आधारित छ ।

नेपाली चलचित्रजस्तै मेन स्ट्रीम चलचित्रको स्वाद दिने गरी छायाँकन गरिएका आकर्षक दृश्य, उच्चतम प्रविधि र उत्कृष्ट प्लटमा तयार पारिएको चलचित्रले तामाङ चलचित्रको परम्परागत शैलीलाई नै परिवर्तन गराईदिएको दर्शकहरुको प्रतिक्रिया छ ।

पहिलो शोबाट समिक्षकको राम्रो प्रतिक्रिया पाएको यो चलचित्रलाई हेर्नका लागि भक्तपुर सहित अन्य स्थानका तामाङ चलचित्र प्रेमी तथा बुद्धिजीवीहरुलाई चलचित्रका नायक घिसिङले सामाजिक सञ्जालमार्फत आह्वान गरेका छन् । चलचित्रलाई ओखलढुङ्गाको मूलखर्क गाउँमा खिचिएको छ ।

चलचित्रमा नायक सागर घिसिङसँगै नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ । चलचित्रको ‘तिङ मी ढुकढुक’ सँगै अन्य गीत समेत चर्चित भइसकेका छन् ।

चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।
यो पनि पढ्नुहोस्–
‘घ्रान’ : परम्परागत तामाङ चलचित्रमा टर्निङ प्वाईन्ट (भिडियो सहितको समिक्षा)

तामाङ चलचित्र ‘घ्रान’ हेर्न दर्शकको ओईरो, यस्तो भयो प्रिमियर शो

‘घ्रान’ को ‘तिङ मी ढुकढुक’ लाई अहिलेसम्मकै सर्वाधिक भ्यूज

तामाङ चलचित्र ‘घ्रान’ को दमदार ट्रेलर सार्वजनिक, यस्तो देखियो सागर र सुष्माको एक्सन अवतार


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*