‘ए सरकार’ को भिडियोमा बेरोजगार युवाको कथा, भिमफेदी गाईजले सार्वजनिक गर्यो यस्तो भिडियो (भिडियो सहित)

२७ श्रावण २०७५, आईतवार १३:०८
Featured Video Play Icon

चन्द्र घलान / हेटौँडा, २७ साउन । रेकर्डिङको समयदेखि नै चर्चामा रहेको गीत ‘ए सरकार’ को म्यूजिक भिडियो भिमफेदी गाईजले आज सार्वजनिक गरेको छ । उच्च शिक्षा हासिल गरेर दक्ष भइसक्दा पनि नेपाली युवाले बेरोजगार भई विदेशीनुपर्ने बाध्यताका विभिन्न पाटाहरुलाई समेटेर शब्द सिर्जना गरिएको गीतको म्यूजिक भिडियो गरिएको हो ।

चर्चित पत्रकार तथा गीतका रचनाकार गिरिजा अधिकारीले बेरोजगारी समस्या, युवाहरु ऋण राखेर विदेशिनु परेको पीडा र नेपालको मायालाई शब्दमा उतारेका छन् । गीतमा पुष्पन प्रधानको आवाज रहेको छ । अधिकारीको शब्दमा विकास पाण्डेले संगीत भरेका छन् । रिकेश गुरुङ ‘किज’ को एरेन्ज मिक्सिङ रहेको गीतमा चर्चित डान्स क्रियू ‘भिमफेदी गाईज’ को फिचरिङ रहेको छ ।

निर्मल लामा (बिजी) को परिकल्पना र निर्देशनमा बनेको म्यूजिक भिडियोलाई पवन सुस्लिङले खिचेका छन् । भिमफेदी गाईजले निर्माण गरेको म्यूजिक भिडियोमा भिमफेदी गाईजका सुरेन्द्रराज थिके, अर्या अनुराग थापालिया, मनोज विक्रम कुँवर, पवन लामा, विसन लामा, एलिना राना, रामराज शाही, कमल धामी, मनिस वाईबा, विशाल वाईबा, रोमियो केसी र भिमफेदी आमा समूह तथा भिमफेदीका स्थानीयको समेत अभिनय रहेको छ ।

यो म्यूजिक भिडियोलाई अपलोड गरेको आधा घण्टामा नै करिब ६ हजार पटक हेरिसकिएको छ । अधिकारीको शब्द रहेको गीतहरु यस अघि पनि सार्वजनिक भइसकेका छन् । उनको मेरी कम्मर मर्काई मर्काई, धरोधर्म लगायतका गीतहरुमा क्रमशः रुपक डोटेल र रामचन्द्र काफ्लेले आवाज दिएका छन् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*