दिपकराज गिरीको दुई वटी श्रीमती ?

१५ श्रावण २०७५, मंगलवार १७:००
Featured Video Play Icon

-चन्द्र घलान

मकवानपुर, १५ साउन । शिर्षक पढेर अचम्म लाग्यो होला तर यो सत्य हो । नझुक्किनुस् है , यो कुरा कलाकार दिपकराज गिरीको वास्तविक जीवनको बारेमा होईन । उनी वास्तविक जीवनमा आफ्नै श्रीमतीसँग खुशी छन् । यहाँ म कुरा गरिरहेको छु दिपकराज गिरी सहितको टिमको नयाँ चलचित्र ‘छक्का पञ्जा ३’ को ।

छायांकनको समयदेखि नै चर्चामा रहेको चलचित्रको ‘पहिलो नम्बरमा’ बोलको गीत साउन १४ गते युट्युबमार्फत सर्वाजनिक गरिएसँगै चलचित्रको कथाका बारेमा समेत कौतहुलता पैदा भएको छ । तर दिपकको दुई वटी श्रीमति देखिएसँगै यो चलचित्र बहुविवाह सम्बन्धी हो कि भन्ने अनुमान गर्न सकिन्छ ।

औँठी बैना मारे मैले पहिलो नम्बरमा भनेर केही कमेडी जोडीले कम्मर मर्काईरहँदा एउटा मण्डपको दृश्य पनि सँगै देखिन्छ । कलाकार किरण केसी हातमा विवाह पात्रो लिएर लगनको मन्त्र उच्चारण गरिरहेका देखिन्छन् । अनि एक जोडीले विवाहको आँैठी लगाएको दृश्य देखिन्छ । त्यससँगै कलाकार निर शाह, शिवहरी पौडेल लगायतका टोली बरबधुलाई फुल छरिरहेको दृश्य देखिन्छ । त्यसैबेला इन्ट्री हुन्छ बेहुला बनेका दिपकराज गिरीको, जसको अंगालोमा नायिका प्रियंका कार्की र दिपिका प्रसाईँ बेहुलीको भेषमा सर्पझैँ लपक्क बेरिन्छन् । त्यतिमात्र होईन दिपक नमिठो पारामा सुसेल्छन् जसले उनले नक्कले पात्रको भूमिका निभाएका हुन् कि भन्ने लाग्छ । गीतको क्लाईमेक्स यसरी नै सकिन्छ ।

‘छक्का पञ्जा’ को पहिलो र दोस्रो सेरिजमा समाजको विभिन्न विकृतिको बारेमा कथा पस्किएका दिपक–दिपाको टिमले यस चलचित्रमा यही कथा भने भन्ने एकिन नभए पनि बहुविवाह नै चलचित्रको कथा हो कि भन्ने लाग्छ । तर त्यसका लागि भने आउँदो दशै कुर्नै पर्ने हुन्छ । चलचित्रको यो गीत पनि अघिल्ला सेरिजका चर्चित गीतहरु जस्तै लोक फम्र्याटमा तयार पारिएकाले चर्चामा आउने निश्चित छ । जसलाई युट्युबमा अपलोड गरिएको केही क्षणमै भएको भ्यूजका आधारमा समेत भन्न सकिन्छ ।

राजेन्द्र थापाको शब्द र दिपक शर्माको संगीतमा रहेको गीतमा डेबिड शंकर र बिन्दु परियारले आवाज दिएका छन् । यस गीतमा नायिका वर्षा राउतलाई पाउन उनको रियल लाईफकै हिरो सञ्जोग कोईराला र कलाकार जितु नेपालले घम्साघम्सी गर्नुपर्ने अवस्था देखाइएको छ । त्यस्तै केदार घिमिरे माग्ने बुढाको जोडीका रुपमा चलचित्रकी निर्देशक समेत रहेकी दिपाश्री निरौला देखिएकी छिन् । कलाकार बुद्धि तामाङको जोडीका रुपमा नायिका स्वस्तिमा खड्का फिट देखिएकी छिन् । हाँस्य कलाकारहरुको यो टिमले गीतमा कम्मर समेत मस्तले मर्काएका छन् । साथै मूख्य कलाकारहरुलाई समेत यही गीतमा अटाइएको छ ।

चलचित्रमा उल्लेखित कलाकारहरु बाहेक अनुराग कुँवर, लक्ष्मी गिरी, विल्सन राई, जयनन्द लामा, शारदा गिरी, बिमला गिरी, बसन्त भट्ट, सुमन गिरी ‘भान्जा’ लगायतका कलाकारहरुको अभिनय रहेको छ । दिपकराज गिरीको कथा तथा पटकथा रहेको चलचित्रका गीतहरुमा दिपक शर्मा र अर्जुन पोखरेलको संगीत छ । गीतका म्यूजिक भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । रोशन शर्माको द्वन्द रहेको चलचित्रलाई मानकृष्ण मानन्धर र शेरबहादुर लामाले खिचेका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*