तामाङ चलचित्र ‘घ्रान’ को आज प्रिमियर शो हुँदै

५ श्रावण २०७५, शनिबार ०६:४४

हेटौँडा, ०५ साउन । तामाङ चलचित्र ‘घ्रान’ (कसम) को पहिलो प्रिमियर शो आज हुँदैछ । आज शनिबार दिउँसो १ बजे काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रिमियर शो गर्न लागिएको नायक सागर घिसिङले जानकारी दिएका छन् ।

चलचित्रको प्रदर्शनमा चलचित्रकर्मी,पत्रकार,बुद्धिजीवि,चलचित्र समिक्षकका साथै दर्शकहरुको सहभागीता रहनेछ । प्रदर्शन अगावै चर्चामा रहेका गीतसँगीत र दमदार ट्रेलरका कारण चलचित्रले थप चर्चा पाएको छ । नेपाली चलचित्रजस्तै मेन स्ट्रीम चलचित्रको स्वाद दिने गरी छायाँकन गरिएका आकर्षक दृश्य, उच्चतम प्रविधि र उत्कृष्ट प्लटमा तयार पारिएको चलचित्रले तामाङ चलचित्रको परम्परागत शैलीलाई नै परिवर्तन गर्न सक्ने दर्शकहरुको प्रतिक्रिया छ ।

चलचित्रलाई ओखलढुङ्गाको मूलखर्क गाउँमा खिचिएको छ । नेपाली भाषामा समेत डबिङ गरी अल नेपाल रिलिजको तयारी गरिएको चलचित्रको लागत डबिङ गर्दासम्म करिब ४० लाख पुग्ने बताइएको छ । मौलिक सँस्कृति र नेपाली परिवेशसँग मेल खाने कथावस्तु रहेकोले चलचित्रले दर्शकको मन जित्ने उनको दाबी छ ।
चलचित्रमा नायक सागर घिसिङसँगै नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ ।

चलचित्रको ‘तिङ मी ढुकढुक’ सँगै अन्य गीत समेत निकै नै चर्चामा छन् । चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*