चर्चामा तामाङ चलचित्र ‘घ्रान’ , साउन ५ गते भव्य प्रिमियर शो हुँदै

२ श्रावण २०७५, बुधबार ०२:३५

हेटौँडा, ०२ साउन । तामाङ चलचित्र ‘घ्रान’ (कसम) को पहिलो प्रिमियर शोको समय नजिकिएसँगै चलचित्र थप चर्चित बन्दै गएको छ । प्रदर्शन अगावै चर्चामा रहेका गीतसँगीत र दमदार ट्रेलरका कारण चलचित्रले थप चर्चा पाएको हो । तामाङको मौलिक भाषा तथा सँस्कृति र तामाङ समुदायकै कथामा आधारित ‘घ्रान’ को यही साउन ५ गते शनिबार दिउँसो १ बजे काठमाण्डौं जमलस्थित राष्ट्रिय नाचघरमा विशेष प्रिमियर शो गर्न लागिएको नायक सागर घिसिङले जानकारी दिएका छन् ।

नेपाली चलचित्रजस्तै मेन स्ट्रीम चलचित्रको स्वाद दिने गरी छायाँकन गरिएका आकर्षक दृश्य, उच्चतम प्रविधि र उत्कृष्ट प्लटमा तयार पारिएको चलचित्रले तामाङ चलचित्रको परम्परागत शैलीलाई नै परिवर्तन गर्न सक्ने दर्शकहरुको प्रतिक्रिया छ । चलचित्रको भव्य प्रिमियर शोको तयारीले चलचित्रको चर्चालाई थप उचाईमा पुराएपछि अहिले ‘घ्रान’ परिवार थप उत्साहित भएका छन् । चलचित्रको प्रदर्शनमा चलचित्रकर्मी,पत्रकार,बुद्धिजीवि,चलचित्र समिक्षकका साथै दर्शकहरुको सहभागीता रहनेछ ।

चलचित्रलाई ओखलढुङ्गाको मूलखर्क गाउँमा खिचिएको छ । देशमा राजनीतिक परिवर्तन भएता पनि थुप्रै ग्रामिण क्षेत्रमा सामन्ती प्रवृत्ति भएको भन्दै त्यही ज्यादतीको बाध्यात्मक उपचारलाई कलामार्फत प्रस्तुत गरिएको नायक घिसिङको तर्क छ । नेपाली भाषामा समेत डबिङ गरी अल नेपाल रिलिजको तयारी गरिएको चलचित्रको लागत डबिङ गर्दासम्म करिब ४० लाख पुग्ने बताइएको छ । मौलिक सँस्कृति र नेपाली परिवेशसँग मेल खाने कथावस्तु रहेकोले चलचित्रले दर्शकको मन जित्ने उनको दाबी छ ।

चलचित्रमा नायक सागर घिसिङसँगै नायिका सुष्मा मोक्तान, विकास स्याङ्तान, सुकुमाया मोक्तान, शम्भु घिसिङ, सुनिता थिङ,पुसन लामा, राम घिसिङ, मुस्कान तामाङ, रामचन्द्र तामाङ, कर्मा घिसिङ, कुन्साङ तामाङ, योगेश मोक्तान, सरोज तामाङ, प्रशान्त तामाङका साथै अन्य कलाकारहरुको समेत अभिनय रहेको छ । चलचित्रको ‘तिङ मी ढुकढुक’ सँगै अन्य गीत समेत निकै नै चर्चामा छन् ।

चलचित्रमा अमृत लामा र सागर घिसिङको कथा छ । चलचित्रलाई राम घिसिङ, शम्भु घिसिङ, र सागर घिसिङले निर्माण गरेका छन् । त्यस्तै निर्देशन जनक गुरुङले गरेका छन् । चलचित्रको छायांकन बिक्रम लामा र सम्पादन बज्र न्यासुरले गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*