गृह जिल्लामा नायिका निता ढुङ्गानाले भनिन्–‘मेरो मुटु र हात खुट्टा कामिरहेको छ’

८ जेष्ठ २०७५, मंगलवार ०२:२५

–चन्द्र घलान
हेटौँडा, ८ जेठ ।
कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुसल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानाले गृहजिल्लाको हेटौँडामा आएर सम्मान ग्रहण गर्दा आफ्नो खुट्टा कामेको बताईन् । चलचित्र पत्रकार संघ मकवानपुर शाखाले सोमबार आयोजना गरेको सम्मान कार्यक्रममा सम्मानित भएका ४ जनामध्ये उनलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो ।

सम्मान ग्रहण गरेलगत्तै उनले मन्तव्य राख्दै आफुले धेरै ठाउँमा सम्मान ग्रहण गरेता पनि हेटौँडामा सम्मानित हुँदा मुटु ढुकढुक भएको बताईन् । ‘धेरै ठाउँमा मैले सम्मान पाएँ तर अहिले मेरो खुट्टा कामिरहेको छ, मेरो मुटु कामिरहेको छ ।’ उनले भनिन्, ‘सायद मेरो आफ्नो ठाउँ भएर हुनुपर्छ ।’ उनले चलचित्र पत्रकारिता दिवसको शुभकामना दिँदै सम्मानका लागि धन्यवाद समेत ज्ञापन गरिन् ।

संघले लामो समयदेखि कलाकारिता क्षेत्रमा चर्चा कमाउन सफल दुई कलाकारसहित कलाकै क्षेत्रमा कलम चलाएका दुई पत्रकारलाई मकवानपुरको हेटौँडामा सम्मान गरेको हो । चलचित्र पत्रकारिता दिवसका अवसर पारेर आयोजित कार्यक्रममा हनायिका निता ढुङ्गाना र कलाकार सुशान्त श्रेष्ठलाई चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको हो ।

नायिका ढुङ्गानाले पछिल्लो पटक चर्चित नेपाली कथानक चलचित्र ‘पञ्चायत’मा अभिनय गरेकी थिईन् । उनले नोटबुक, छ एकान छ जस्ता थुप्रै हिट चलचित्रहरुमा अभिनय गरेकी छिन् । त्यस्तै कलाकार सुशान्त श्रेष्ठले विभिन्न चलचित्रमा अभिनय गर्नुका साथै निर्माण तर्फ पनि हात हालेका छन् । उनी चलचित्र निर्माता संघका सदस्य समेत हुन् ।

चलचित्र पत्रकार संघ मकवानपुरले प्रदान गर्ने चलचित्र पत्रकारिता पुरस्कारबाट यो बर्ष तत्कालिन समयमा चर्चित ‘कामना’ पत्रिकामा मनोरञ्जन बिटलाई टेकेर पत्रकारिता गरेका र अहिले समेत विभिन्न मिडियामा सक्रिय पत्रकार रामकुमार एलनलाई सम्मान गरिएको छ । उनलाई नगद ५ हजार सहित सम्मान गरिएको हो । त्यस्तै दोश्रो पटक वितरण गरिएको राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०७५ बाट राजधानी दैनिकमा कार्यरत डब्बु क्षेत्रीलाई सम्मान गरिएको छ । उनलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित सम्मान गरिएको हो ।

चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश नम्बर ३ का प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता तथा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन र शान्तिप्रियको विशिष्ट आतिथ्यता रहेको थियो । चलचित्र पत्रकार संघ मकवानपुरका सचिव श्रीराम अर्जुनले सञ्चालन गरेको कार्यक्रममा संघका जिल्ला शाखा कोषाध्यक्ष कपिल खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शान्तिप्रिय, निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष आनन्दराम पराजुली, जिल्ला युवा समितिका अध्यक्ष सन्तोष चौँलागाईँ, संघका संस्थापक अध्यक्ष कुमार अधिकारी, आरति पाठक लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*