तरकारीवालीलाई लिएर हेटौँडामा आए लम्फू

१९ बैशाख २०७५, बुधबार १६:५९
Featured Video Play Icon

–चन्द्र घलान
हेटौँडा, १९ बैशाख ।
यही बैशाख २८ गतेदेखि देशभर प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र ‘लम्फू’ को टोली प्रचार प्रसारका क्रममा आज हेटौँडामा आइपुगेका छन् । ‘तरकारीवाली’ का नामले भाईरल बनेकी कुसुम श्रेष्ठको डेब्यू चलचित्रका रुपमा पनि चर्चा कमाउन सफल चलचित्रको युनिट कुसुम सहित हेटौँडामा आएका हुन् ।

चलचित्र पत्रकार संघ मकवानपुर शाखाले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक गोपाल चन्द्र लामिछानेले ‘लम्फू’ सामान्य कथामा बनेको चलचित्र भएता पनि यसले दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको बताए । चलचित्रमा कुसुमको विशेष रोल मात्र भएकोले उनी नै यस चलचित्रको मुख्य नायिका नभएको बताए । ‘कुसुमको विशेष रोल छ, तर यसका उनी मुख्य नायिका होईनन् ।’ लामिछानेले चलचित्र प्रचारका क्रममा धरान, दमक हुँदै हेटौँडा आइपुगेको र अब नारायणगढ हुँदै पोखरासम्म पुग्ने बताए ।

चलचित्रमा कुसुमसँगै सलोन बस्नेत, कबिर खड्का, मरिस्का पोखरेल, चाँदनी शर्मा, सञ्जीत भण्डारी लगायतको अभिनय छ । भुपतिको कथा र पटकथामा निर्मित चलचित्रका निर्माता शक्ति बल्लभ घोरासैनी हुन् । घोरासैनीले यसअघि बोक्सी, किन लाग्छ माया जस्ता चलचित्र निर्माण गरेका थिए ।

चलचित्रका बारेमा प्रष्ट पार्दै निर्माता घोरासैनीले चलचित्र करिब १ करोड लागतमा निर्माण भएको बताए । पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले कुसुम चलचित्रमा आउनुको कारणबारे प्रष्ट समेत पारे । पहिलो पटक फिल्मको अफर गर्दा कुसुमले अश्विकार गरेको उनले बताए । पढ्ने मनसायका साथमा बसेकी कुसुमलाई चलचित्र युनिटले डिग्रीसम्म पढ्ने व्यवस्था समेत मिलाईदिएको छ भने चलचित्र खेलेबापत पाईने पारिश्रमिकलाई उनले सामाजिक सेवामा लगाउने बताएकी निर्माता घोरासैनीले जानकारी दिए । ‘लम्फु’ मा आफ्नो दर्शकले सम्झने विशेष रोल भएको कुसुमले बताईन् । उनले, समाजले आफूलाई चर्चित बनाई दिएपछि चलचित्रमा काम गरेको र निरन्तर चलचित्रमा लाग्न सक्ने समेत बताईन् ।

चलचित्रका नायक कबिर खड्काले पहिलो पटक अनुभवी चलचित्रकर्मीसंग काम गर्न पाउँदा खुशी लागेको बताए । कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य नरेन्द्र महर्जन, चलचित्र पत्रकार संघका अध्यक्ष मणिराज गौतम, निर्माता संघका सदस्य एवं कलाकार सुशान्त श्रेष्ठ, चलचित्रका कलाकार आयान खड्का र सञ्जित भण्डारी लगायतले चलचित्रका बारेमा चर्चा गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*