त्यो सुनियोजित अन्तिम तिहार

४ बैशाख २०७५, मंगलवार ०३:२८

संस्मरण
चन्द्र घलान
एउटा कथाको दुःखत अन्त्य भनौँ या त मानवीय सम्वेदनाको अन्त्य, एउटा ‘सुनियोजित अन्तिम तिहार’ जसलाई म कदापि भुल्न सक्दिन । मैले जिन्दगीमा भोगेका अनगिन्ती पिडामध्ये त्यो त्यस्तो पिडा हो जसले मलाई आजका लागि बाँच्न सिकाउँछ, जे छ त्यसैमा रमाउन सिकाउँछ अनि जस्तो छु त्यस्तै रहन सिकाउँछ ।

विक्रम सम्वत् २०७२ सालको असारमा माईला दाइ (स्वर्गीय कुलबहादुर घलान) को अल्पायुमै भएको मृत्यूले हाम्रो घरलाई अँध्यारो बनाईदिएको थियो । पहिलो पटक मेरी आमाको कोख उजाडिएको थियो अनि मेरो बाबाको बुढेसकालको सहारा ।

माईला दाइको निधनलाई बिर्सन खोज्ने असफल प्रयासका बावजुद १ वर्षपछि ‘त्यो सुनियोजित अन्तिम तिहार’ का लागि हामी जसोतसो तयार भएका थियौँ । माईला दाइ बित्नुभएको केही महिना पछि साईला दाइ (स्वर्गीय बज्रबहादुर घलान) लाई पनि त्यही ब्यथाले च्याप्दै थियो । अवस्था यस्तो थियो कि मेरो दाई पिडाले छटपटिरहनु भएको थियो बस हाम्रो पिडालाई केही समय पछि सार्ने असफल प्रयास गर्दै थियो नियति ।

-चन्द्र घलान
दाईलाई पटक–पटक हेटौँडा अस्पताल र भरतपुर अस्पतालमा पराइसकिएको थियो अनि डाक्टरको परामर्शको भरमा उहाँ बाँच्ने ठूलो आसा लिएर अन्तिम दिनहरुमा खुशी हुने असफल प्रयास गरिरहनु भएको थियो ।

एकपटक रोगबाट केही तङ्ग्रीनुभएपछि मलाई फोन गर्दै ठिक भयो भनेर सुनाउनुभएको थियो । अनि दाइ बिरामी हुनुहुन्छ भनेर विदेशबाट फर्कनलाग्नुभएकी मेरी भाउजुलाई पनि म ठिक भएको छु अब ६ महिना त हो पुरा समय सकाएर आउनुभन्दै फोन गर्नुभएको थियो उहाँले ।

त्यो फोन कलहरु सायद मेरो दाजुभाउजुलाई ३ वर्षपछि पनि भेट्न नदिने नियतीको चाल थियो । २ वर्षको भिसामा जानुभएकी मेरी भाउजुलाई फेरि एक वर्ष त्यतै रोक्नु सायद उहाँहरुलाई बिछोडमा तड्पाउने नियतिको कुनै डरलाग्दो चाल थियो ।

दशैको छेउछाउमा अन्तिम उपचार गराईरहनु भएको मेरो साईला दाइको अवस्था देखेर अनि डाक्टरको परामर्श र रिपोर्टहरु देखेर म र मेरी जीवनसँगीनीले उहाँलाई ठिक हुने आसा लगभग मारिसकेका थियौँ । बस् पर्खाई थियो त केबल अन्तिम चमत्कारको जसले मेरो दाइलाई बचाईदिन सकोस ् । तर मृत्यूलाई नै जिताउने चमत्कार संसारमा विरलै हुन्छन् ।

वि.सं. २०७३ कात्तिक महिनाको १४ गतेको लक्ष्मी पुजा दाइको अन्तिम लक्ष्मी पुजा थियो अनि १६ गतेको भाइटिका दाइको अन्तिम भाइटिका थियो । लक्ष्मी पुजाको केही दिन अघि रोगले धेरै पिडा दिन थालेपछि दाइलाई लिएर हामी भरतपुर अस्पताल पुगेका थियौँ । उपचारपछि घर फर्कने क्रममा तिहारका लागि दाइ आफै सामाग्री किन्नमा लाग्नुभएको थियो । घर सजावटका झिलीमिली बत्ती र केही अन्य सामाग्री उहाँले किन्नुभएको थियो । लक्ष्मी पुजाको लागि विद्यूतबाट झलमल्ल बल्ने लक्ष्मीको फोटो उहाँले किन्न पाउनुभएनछ ।

म र मेरी जीवनसँगीनी सविको एउटै सल्लाह थियो–भोलि कसले देख्या छ र जे छ आजै गरौँ । हाम्रो यस्तो सल्लाहका कारण हामीले दाईको अन्तिम ईच्छा जस्तै मानेर मनमा उहाँसँग अर्को साल पनि यसैगरी तिहार मनाउने झिनो आसा लिएर उहाँले भने अनुरुपले लक्ष्मी पूज ागर्न अग्रसर भयौँ । उहाँले खोजेको जस्तै झिलीमिल बत्ती र लक्ष्मीको फोटो बोकेर हामी साँझ घर पुग्यौँ । उहाँ हामीलाई कुरीरहनु भएको थियो ।

उहाँले कान्छा भाइ र कान्छी बुहारीले लक्ष्मी पुजा गर्नुपर्छ भन्नुभयो र हामीले उहाँले सिकाए अनुरुप लक्ष्मी पुजा गर्यौँ । जसलाई जीवनमा फेरि देख्न पाईएला वा नपाईएला भनेर नै हामीले डिजिटल फाईल र मनभित्र सुरक्षित गर्यौँ । टिकाको दिन पुग्दा उहाँ अझै गल्दै जानुभएको थियो । तर जिन्दगीमा पहिलो पटक कान्छी दिदी, साईली दिदी र ठूली दिदी तिनै जनाले एकै पटक हामीलाई भाइटिका लगाईदिनुभयो । जुन मेरो साईला दाई र जेठा दाईसँग हाम्रो अन्तिम भाइटिका थियो ।

त्यसको केही हप्तापछि साईलादाई बित्नुभो अनि केही महिनापछि जेठा दाइ । चारैतिर मृत्यूले राज गरेका ती दिनहरु आज तिहारको आगमनसँगै बल्झिएका छन् । अनि हरेक साल बल्झिरहनेछन् ।
(वि.सं. २०७४ कार्तिक ३ गते शुक्रबार लिखित)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*