केटाहरुले एक रातको लागि अफर गर्छन् , उज्जु डार्लिङको वास्तविकता

४ बैशाख २०७५, मंगलवार ०२:५७

‘उज्जु डार्लिङ’, नेपाली कला क्षेत्रमा यो नाम चर्चित नाम हो । उनको नाम नसुनेका सायदै कमै होलान् । चर्चित कार्यक्रम ‘उज्जु डार्लिङ’ का प्रस्तोता भएपछि चर्चाको शिखरमा पुगेका उनी सो कार्यक्रमभन्दा अगाडिदेखि नै कला क्षेत्रमा लागिपरिरहेका कलाकार हुन् । विशेष गरी उज्जु डार्लिङमा ट्रान्स्जेण्डर (तेस्रो लिङ्गी) को गेटअपमा प्रस्तुत हुने गरेका उज्जु डार्लिङको वास्तविक नाम उज्ज्वल भण्डारी हो । काठमाडौँमा जन्मिएका उनको घर जमलमा पर्छ । किर्तिपुरको ल्याब्रोटरी स्कूल र दरवार हाई स्कूलमा अध्ययन गरेका उनी खासै आफ्नो उमेर खुलाउन चाहान्नन् । हेर्दा ३५ देखि ४० वर्षकै जस्ता देखिने उनी फिटनेसमा ध्यान दिने कुरालाई नकार्दैनन् । कलाकारिता बाहेक उनी हाल पर्यटन व्यवसायका रुपमा समेत अग्रसर छन् ।

टिभी शो ‘उज्जु डार्लिङ’ सहित अन्य कार्यक्रमहरुमा कलाकारदेखि नेतासम्म गरि ६ सय भन्दा बढी व्यक्तिहरुको अन्तरवार्ता लिएका उनले हाँस्यव्यङ्ग्यका साथै अन्य विधामा समेत सक्रिय सहभागीता जनाएका छन् । सबै धर्मलाई समान रुपमा सम्मान गर्ने उनी सबै धर्मको सार एकै भएको विश्वास गर्छन् । सबैलाई समान रुपमा व्यवहार गर्ने उनी भन्छन् ‘सबै मान्छे हो , यहाँ अरबपतिहरुको अनुहार पनि तपाई हाम्रो जस्तै छ ।’ हाल अमेरिकामा रहेका उनीसँग साक्षात्कार गर्दै तु खबरले उनका संघर्षका भित्री कथाहरुलाई उजागर गर्ने जमर्को गरेको थियो । यहाँ उनका केही रमाईला कुरा अनि केही नसुनिएका उनका जीवनका पाटाहरुलाई समेत प्रस्तुत गरिएको छ ।

‘१५ जनामा म अलि जिद्धी भएछु–अरु घरमा म विर अस्पतालमा’
भण्डारी उनको परिवारमा १५ औँ सन्तानका रुपमा जन्मिएका थिए । कान्छो छोराका रुपमा जन्मिएका उनी सानै देखि नाटक हेरेर हुर्किएका थिए । उनका अनुसार १५ जना सन्तानमा ८ जना मात्र बाँच्न सफल भए । ‘१५ औँ सन्तान हुँ, कान्छा हुँ, ७ जना चाहिँ परलोकमै गए, ८ जना चाहीँ बाँच्नु भएछ,’ । ‘म अलि जिद्धी भएर जन्मँे, किन कि अरु सबै घरमा जन्मिए, म चाहिँ विर हस्पिटलमा जन्मिएँ ।’ यति भनिनसक्दै उनी मज्जाले हाँसे ।

‘ केटाहरुले एक रातको लागि अफर गर्छन्’
भण्डारीलाई प्रेमप्रस्ताव राख्ने र उनको लागि मरिहत्ते गर्नेहरु समेत छन् । कपिय युवाहरुले उनलाई तेस्रो लिङ्गी नै ठानेर समेत झुक्कने गरेका छन् । उज्जु डार्लिङ बनिरहँदा उनलाई सेक्स अपिल समेत आउने गरेको उनी सुनाउँछन् ‘एक रातको लागि आईदेउ न प्लिज, जति परे पनि तिर्छु’ यस्ता कुराहरु मैले धेरै झेलेको छु ।’ उनी सुनाउँछन् ।

केटाहरुले ज्यादै नै सताउने गरेको उनको भनाई छ । ‘धेरैले आउ सुतौँ भन्छन्, हिजो भर्खर पनि ‘हजुर योङ एण्ड सेक्सी हुनुहुन्छ, हामी पार्टनर बनौँ’ भनेर मेसेज आको छ’–उनले सुनाए ।

उनलाई मेसेजमा समेत निकै प्रेमप्रस्ताव र शारिरीक प्रस्ताव समेत आउँछन् तर उनी त्यसमा खासै अल्झिन चाहान्न् । कतिपय त्यस्ता अफर र प्रस्तावहरुलाई उनी रिप्लाई नै गर्दैनन् । बरु उनी त्यस्ता प्रतिकृयालाई उज्जु डार्लिङ पात्रलाई आफुले न्याय दिन सकेकै कारण त्यस्तो भएको स्विकार्छन् ।

‘ यो जुनीमा त तपाईलाई मैले पाईन, अर्को जुनीमा म तपाईलाई पाएरै छोड्छु ’

उज्जु डार्लिङको चरित्रलाई न्याय गर्न सकेकोमा उनी खुशी व्यक्त गर्छन् । ‘सायद मेरो अभिनयमा जीवन्त अभिनय भएर नै होला, मान्छेहरु मलाई देखेर धेरै पटक झुक्किन्छन् ।’कतिपय अवस्थामा म केटा नै हो भन्ने थाहा पाइसकेर पनि मलाई प्रपोज गर्छन् ।’ उनले रमाईलो कुरा सुनाए ।

उनका अनुसार एक जना युवक थिए, जसले उज्जु डार्लिङको रुपमा उनलाई धेरै प्रेम गरेका थिए । धेरै प्रयाश बावजुत उनलाई सम्झाउन नसकेपछि उनले वास्तविकता बताउँदै उनलाई सम्झाउने प्रयाश गरे । भेट्ने लाख कोशिसका बावजुत पनि भण्डारीले उनलाई भेटेनन् र त्यो युवक पढ्न भनेर लण्डन गयो ।
उ यस्तो पात्र थियो जसले भण्डारीलाई पुरुष भएकै भन्ने थाहा पाएर पनि प्रेम गर्छु भनेर भनिरहन्थ्यो । ‘यो जुनीमा त तपाईलाई मैले पाईन, म भोलि पढ्न लण्डन जाँदैछु, अर्को जुनीमा म तपाईलाई पाएरै छोड्छु ।’ यो शब्द उसले अन्तिम पल्ट भण्डारीलाई फोनमा भनेका थिए । त्यसदिन पछि उसको फोन कहिल्यै नआएको भण्डारी बताउँछन् । जुन कुरालाई उनले आफुले लेखेको किताब ‘उज्जु डार्लिङ’ मा समेत समेटेका छन् ।


बाल्यकाल : नाचघरमा कट्टु नलाई छिरिन्थ्यो, नक्कल गरिन्थ्यो

घर नजिकै नाचघर भएकोले भण्डारीको बाल्यकाल नाचघरमै कलाको प्रत्यक्ष साक्षात्कारमा बित्यो । ‘त्यो धेरै नाटक हेरियो, जुन बेला कट्टु पनि लाउन पर्दैनथ्यो ।’, अनि सिंगान बगेको हुन्थ्यो, पैसा नि पर्दैनथ्यो, क्या मज्जा’, –उनले बाल्यकाल सम्झिए ।

नाचघरमा नाटक हेरिसकेपछि उनी त्यही नाटकको नक्कल गर्थे, आँगनमा भुराहरु जम्मा गरेर क्यारिकेचर गर्न र हुबहु अभिनय गर्न उनी जतिसक्दो प्रयाश गर्थे । उनलाई उनका दाजु (काकाका छोरा) शैलेष भण्डारीले विशेष साथ दिए । पछि गएर शैलेष र उनी गाईजात्रामा प्रहशन गर्ने टप जोडीका रुपमा समेत चिनिए ।

पहिलो किस र पहिलो अंगालो
हामीले उनको अन्तरङ्ग केलाउने प्रयाश गर्यौँ । प्रेमका केही अनूभूतिहरुलाई उजागर गर्न चाह्यौँ र पहिलो चुम्बन र आलिंगनका बारेमा घुमाएर सोध्यौँ । तर उनी निकै बाठा देखिए । ‘पहिलो किस आमाले म जन्मेपछि मलाई गर्नुभयो क्यारे, मैले जानेर नि पहिलो अंगालो आमालाई नै हालेको हो ।’– उनले सजिलै जवाफ दिए ।
‘उज्जु डार्लिङ बन्नुको संघर्ष : आलोचना र आरोह–अवरोह’
उज्जु डार्लिङ पात्रलाई न्याय गर्नका लागि उज्वलले कतिपटक अल्पसंख्यक तेस्रोलिङ्गीहरुको जीवनलाई नजिकैबाट नियालेका छन् । ठमेल क्षेत्रमा समेत उनले रिसर्च गरेका छन् । ती रिसर्चसहित चर्चित कार्यक्रम सञ्चालन सुरु गरेका उनलाई उज्जु बन्नुले धेरै पिडा र खुशीहरु दिएका छन् । तर ती सबैलाई उनी आफ्नो सफलतासँग जोड्छन् । ‘उज्जु बन्दा कसले के भने र फाईदा बेफाईदा के भयो ? भनेर सुनाउ थाल्यो भने कयौँ दिन बित्छ’–उनले तु खबरसँग हाँस्दै भने । ‘मैले २००७ मा उज्जु डार्लिङ सुरु गरेको हुँ, हाम्रो समाज कस्तो थियो तपाईलाई थाहा नै छ ।’ उनले अलि भावुक भएर भने ।

उज्जु बनेपछि कति साथीहरुले बोल्नै छोडेको तितो अनुभव पनि उनीसँग छ । ‘कतिपय साथीले हिजडा रहेछ, हामीलाई थाहै थिएन भने, अहिले पनि धेरै दर्शकहरु म तेस्रो लिङ्गी नै हो भन्ने सोच्छन्’ मलाई लाग्छ मैले जीवन्त अभिनय गरेछु ।’

उज्जु बन्नुको फाईदा र बेफाईदा कुन हदमा भन्ने उनलाई थाहा छैन । उनलाई मान्छेले तेस्रो लिङ्गी नै सोच्छन्, यो उनको सफलता हो । त्यसो त उज्जुले कार्यक्रममा जुन गेटअपमा प्रस्तुति दिए, जुन तयारी गरे त्यसबाट समेत अल्पसंख्यक तेस्रो लिङ्गीको लागि केही गर्न सकेको अनुभव उनी गर्छन् । त्यसबाट उनले आफुले सम्मान पाएको महशुस समेत गरेका छन् । ‘यही रोलले नै मलाई प्रख्यात बनायो, अहिले तेस्रो लिङ्गीहरुलाई मानिसहरु उज्जु भन्ने गर्छन् रे’यो मेरो सफलता हो, –उनले भने । पैसाको कुरो भएन तर उनी यसबाट सन्तुष्ट छन् ।

उज्जु डार्लिङ सञ्चालन गर्दा उनले अनगीन्ति स्मरणयोग्य भोगाइ भोगेका छन् । कतिपयले बिहे गरौँ भनेर मरिहत्ते गरेको घटना आज पनि भण्डारीले भोगिरहेका छन् । कतिले उनलाई देख्नेबित्तिकै शिरदेखि पाउसम्म हेर्न भ्याउँछन्, उनी यस्ता कारणहरुले गर्दा नै नेपालमा प्राय मास्क लाएर हिँड्छन् ।
तेस्रोलिङ्गी पनि समाजको एक अभिन्न अंग भएको कुरा उनी सहर्ष स्विकार्छन् । उनीहरुलाई सम्मान गर्न सिक्नुपर्ने कुरा उनी बताउँछन् । कसैले रहरले त्यस्तो नभइ प्रकृतिकै कारणले गर्दा उनीहरुले चलनचल्तिमा रहेका भन्दा फर किसिमका स्वभाव देखाउँछन् । भगवानको समयदेखि नै समाजको एक अभिन्न अंगका रुपमा देखिएका अल्पसंख्यक तेस्रोलिङ्गीलाई उनी सम्मान गर्न सबैलाई आग्रह गर्छन् । उनी सेक्सलाई आर्ट अफ लभ भन्छन् तर पार्ट अफ लभ भन्ने पक्षमा उनी छैनन् ।

‘नारीहरु फुक्ने ठाउँमा फुक्नुपर्छ, सुक्ने ठाउँमा सुक्नुपर्छ ’
कार्यक्रममा अर्धनारी बन्ने गरेका भण्डारीलाई नारीको सबैभन्दा मनपर्ने अंगका बारेमा पनि रमाईलो कुरा हामीले खोतल्ने प्रयास हामीले गरेका थियौँ । अरु प्रश्नमा समेत रमाईलो र ठट्यौली किसिमका जवाफ दिएका उनले यसमा पनि खुलेरै भने–‘जुन अंग राम्रो र पुरुष आकर्षित हुन्छन् त्यो छोपेको बेला अझ राम्रो लाग्छ, नारीहरु फुक्ने ठाउँमा फुक्नुपर्छ, सुक्ने ठाउँमा सुक्ुनुपर्छ ।’ ‘मलाई महिला वा पुरुष दुबै जनाले शारिरीक स्वस्थतामा ध्यान दिएको मनपर्छ ।’– उनले थपे ।

नारीहरुलाई कसरी फकाउन सकिन्छ भन्ने प्रश्नमा उनले हाँस्दै भने –‘महिलाहरु पुरुषको व्यक्तित्वले फकिन्छन् ।’ भण्डारीको अभिनय रहेको पछिल्लो चलचित्र‘फिर्के’ पनि पुस २१ गतेबाट प्रदर्शन हुँदैछ । जसमा उनले उज्जु डार्लिङकै अभिनय गरेका छन् ।

अभिनय र कलाका माध्यमबाट चिनिएका भण्डारीको फरक किसिमको कार्यक्रमले नेपाली समाजमा अल्पसंख्यकका रुपमा रहेका तेस्रो लिङ्गीहरुको पहिचान र अधिकारका लागि समेत उल्लेख्य कार्य भएका छन् । कलाकारको काम दर्शकलाई हँसाउनुमात्र होईन, समाज परिवर्तनका लागि आधार खडा गर्नुपर्छ भन्ने बुझेका भण्डारीको जस्तै सोच बोकेका कलाकारहरु जन्माउन सके अवश्य पनि समाजले समेत परिवर्तनके श्वास फेर्न पाउनेछ, समाज परिवर्तनका आधारहरुको ढोका खोलिनेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*