जीवनसाथी बन्न खोज्नेलाई सोच्न बाध्य तुलाउने साधनाको शर्त

२ बैशाख २०७५, आईतवार ०६:५१

कविता
–साधना लामिछाने (साँझ), हेटौँडा–१२
ओ….।
प्रिय मान्छे
मेरो दिलसम्म आउने बाटोमा
जिम्मेवारीको पहाड ठडिएको छ
दुःखको सगरमाथा छाती फुलाएर बसेको छ
दरिद्रता लम्पसार परेको छ
आवश्यकताहरु अनसन बसेका छन्
सपनाहरु आँशुको खहरे बगाउँदै छन्
प्रेमिल गन्तव्य भेट्टाउने मोहमा
के सक्छौ तिमी उठाउन
दुर्घटनामय यात्राको जोखिम ?

मेरो आमाको
गर्भमा नै तुहिएको छोराले
तिमीलाई भिनाजु सम्बोधन गर्ने छैन
मेरो ‘बा’ले बर्षै भरी
दश नङ्ग्रा खियाएको आम्दानीले
तिम्रो बैठक कोठा र भान्छा भर्ने
सामथ्र्य राख्ने छैन
मेरो प्राप्तिको लागी
के सक्छौ तिमी त्यागीदिन
दाईजो स्वरुप लिने सम्पत्तिको मोह ?

एक छाक
गुन्द्रुक र ढिँडो
अर्को छाक
ढिँडो र गुन्द्रुक खाएर
आधा अघाएर पनि
पुरा सन्तुष्ट हुन्छौँ हामी
पानीमा टिङ–टिङ थर्कने
जाडोमा शीत चुहिने
गर्मीमा रापले डाम्ने
थोत्रो टिनको झुपडीमा पनि
मस्त निदाउछौँ हामी
चौरासी व्यञ्जन अनि
ज्वाईँको मेजमानि नखोजेर
के सक्छौ तिमी
आधा अघाएर पनि पूरा निदाउन ?

कसौँडीमा चामल उम्लन्छ
आमाको मनमा बेदना
‘बा’ सहानुभूतिको पंखा हम्कनुहुन्छ
आमाको नाकको बुलाकीमा
रहरहरुले आत्महत्या गरेका छन्
हातका चुराले हतकडी बनेर
कैद गरेका छन् स्वतन्त्रता
मलाई खोलिदिनु छ हतकडी
पुनर्जन्म दिनु छ ती रहरहरुलाई
‘सासू’ लाई आमा मानेर
के सक्छौ तिमी
मलाई निःश्वार्थ साथ दिन ?

‘कन्यादान’ धर्म भन्ने
भ्रमित पाप पालेर
ज्युँदै ‘बाआमा’ को
श्राद्द गराउने यो समाजमा
म खुशीको डोरी बाटेर
जिम्मेवारीको लिङ्गो हालेर
मच्चाउन चाहन्छु जिन्दगीको पिङ
के सक्छौ तिमी गरालो बनेर
थामिदिन मेरो जिन्दगीको बोझ ?

प्रिय……।
मेरो रङ्गहिन जिन्दगीमा रङ भर्न
हाँस्न बिर्सिएको ओठमा
मुस्कानको लाली छर्न
अङ्गालेर मेरो हरेक बोझ
उन्मत्त प्रेम गर्न
सक्छौ ?

सक्छौ भने मात्र आउनु
यात्रा जटिल छ
तर गन्तव्य प्रेमिल छ
दिलको दैलो खोलेर
गर्नेछु तिम्रो प्रतिक्षा
के सक्छौ तिमी
यी शर्तहरु पूरा गर्न ?


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*