कोच प्रविशाको टिममा ३ दमदार प्रतियोगी

३१ भाद्र २०७९, शुक्रबार १२:०१

मकवानपुर, ३१ भदौ । द भोईस अफ नेपाल सिजन ४ मा चर्चित गायिका तथा शोकी कोच प्रविशा अधिकारीले सुमधुर आवाज भएका ३ प्रतियोगीहरुलाई आफ्नो टिममा समावेश गरेकी छिन् । चर्चित कलाकार तथा गायिका सन्ध्या बुढासँगै शोमा चारै जना कोचहरुको कुर्सी घुमाउन सफल दुई प्रतियोगीहरु प्रिजोल नेपाली र वर्षा ईटानी कोच प्रविशाको टिममा समावेश भएका हुन् । शोको दोस्रो एपिसोड सकिँदासम्म कोच प्रविशाले दमदार आवाज भएका ३ प्रतियोगी पाएसँगै कोच प्रविशाको टिम निक्कै बलियो बनेको छ ।

कलाकार तथा गायिका सन्ध्या बुढा सुर्खेतकी हुन् । हाल काठमाडौँमा बसोबास गर्ने सन्ध्या काउली बुढीका नामले मनोरञ्जनको दुनियाँमा चर्चित छिन् । उनको काउली बुढी शो र अन्य विभिन्न म्युजिक भिडियोहरु चर्चामा छन् । घरकी कान्छी छोरीका रुपमा जन्मिएकी सन्ध्यालाई सानैदेखि उनकी आमाले राम्रो गायिका बनाउने सपना देखेकी थिईन् । १३ वर्षको उमेरमा आमा गुमाएकी सन्ध्या अहिले साँगितिक क्षेत्रमा पनि सक्रिय छिन् । २४ वर्षीया सन्ध्या कलाक्षेत्रमा पनि चर्चित छिन् ।

आवाजका धनी प्रिजोल नेपाली किर्तिपुर काठमाडौँमा बस्छन् । २४ वर्षिय प्रिजोलले प्लस टु सकिएसँगै साँगितिक जीवनमा व्यस्तता बढाएका थिए । गिग्क्सका साथै एरेञ्जमा समेत लागेका प्रिजोलको परिवार जिजुबाजेदेखि नै साँगितिक क्षेत्रमा सक्रिय छन् । उनका दाई प्रिन्स नेपाली र उनका बुवा श्याम नेपाली पनि साँगितिक क्षेत्रमा चर्चित छन् । लोक गीतलाई अघि बढाउन ब्याण्ड समेत खोलेका प्रिजोलले सुरुमा साँगितिक बाजाहरु बजाएर यात्रा सुरु गरेका थिए । तर अहिले भने उनी गायनमा संघर्ष गरिरहेका छन् । द भोईस अफ नेपाल सिजन ४ मा चारै जना कोचहरुको कुर्सी घुमाउने उनी दोस्रो प्रतियोगी हुन् ।

वर्षा ईटानी माछापोखरी बालाजुमा बस्छिन् । उनी धादिङकी हुन् । १८ वर्षीया वर्षाले सानैदेखि गीत गाउन सिकेकी हुन् । उनकी आमा तारा थापा पनि लोकदोहोरी गायिका हुन् । सानैदेखि गायिका बन्ने सपना देखेकी वर्षालाई उनका शिक्षकहरुले समेत सँगीत क्षेत्रमै लाग्न प्रोत्साहन दिएका थिए । उनले कक्षा १० सकिनेबित्तिकै सँगीतका कक्षाहरु पनि लिएकी थिईन् । उनी कोच प्रविशाको टिममा बलियो प्रतिस्पर्धीका रुपमा देखिएकी छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*