दमदार हुँदै द भोईस अफ नेपाल सिजन ४

२३ श्रावण २०७९, सोमबार १६:१४

मकवानपुर, २३ साउन । द भोईस अफ नेपाल सिजन ४ छिट्टै प्रसारण हुँदैछ । शोको नयाँ प्रोमो समेत सार्वजनिक भईसकेको छ । सार्वजनिक प्रोमो अनुसार यसपटक भोईसको टिमले नेपालको विकट स्थानहरुको प्रतियोगीहरुलाई शोमा सहभागिता गराउँदैछन् । प्रोमोमा पुर्व, पश्चिम र तराईका विकट स्थानका प्रतियोगीहरुले समेत सहभागिता जनाउँदैछन् ।

शोका लागि नयाँ कोचका रुपमा चर्चित गायक राजेश पायल राई र चर्चित गायिका प्रविशा अधिकारी समावेश भएका छन् । प्रविशालाई यस अघि नै डान्सिङ स्टार्स नेपालमा द भोईस अफ नेपाल सिजन ४ को नयाँ कोचका रुपमा घोषणा गरिएको थियो भने गायक राजेश पायल राईलाई औपचारिक कार्यक्रमकाबिच नै कोच घोषणा गरिएको हो । भोईसको कोचमा पुराना दुई कोचहरु चर्चित गायकहरु राजु लामा र प्रमोद खरेल पून दोहोरिएका छन् भने कोच दिप श्रेष्ठ यसपटक शोमा सहभागी भएका छैनन् ।

साउन पहिलो साताबाट सुरु हुने अनुमान गरिएको शो केही ढिला गरि प्रसारणमा आउन लागेको हो । सिजन ४ का लागि २० हजारभन्दा बढी आवेदनहरु परेको छ । स्वदेश तथा विदेशका गरी २० हजारभन्दा बढीले डिजिटल अडिसनमा सहभागिता जनाएका हुन् । यी २० हजार प्रतियोगीहरुमध्येबाट उत्कृष्ट १५० जनालाई शोको ब्लाईण्ड अडिसनमा सहभागी गराईनेछ । यी १५० जना प्रतियोगीहरुमध्येबाट केबल ६४ जना प्रतियोगीहरुमात्र ब्याटलका लागि छानिनेछन् । द भोईस अफ नेपालमा अहिलेसम्म सिडी विजय अधिकारी, राम लिम्बु र किरण गजमेर विजेता भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published.


*