डान्सिङ स्टार्स नेपालमा यस्तो विवाद

५ बैशाख २०७९, सोमबार १४:०४

मकवानपुर, ५ बैशाख । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ स्टार्स नेपाल यो साता एउटा विवादका कारण थप चर्चामा छ । शोकै चर्चित प्रतियोगी निलम ढुङ्गाना र कोरियोग्राफर रवि पटेलको नृत्यका क्रममा आयोजकको तर्फबाट भएको केही कमजोरीका कारण शो विवादमा तानिएको हो । शोमा भएको कमजोरीका बारेमा चर्चित सिंगल लेग्ड डान्सर निलम ढुङ्गानाले आफुलाई निक्कै दुःख लागेको बताएकी थिईन् ।

हुन त उनको अभिव्यक्तिलाई सम्पादनका क्रममा हटाउन पनि सकिन्थ्यो तर प्रोडक्सन टिमले यसलाई पनि शोमा समावेश गरेका थिए । भएको के थियो भने निलम र रविको प्रस्तुतिका क्रममा जनावरलाई खोरमा नथुनी स्वतन्त्रता दिनुपर्ने विशेष सन्देश समावेश गरिएको थियो । तर प्रस्तुतिको अन्तिम समयसम्म पनि निलम र रविले परिकल्पना गरेबमोजिमको पिंजडा तथा अन्य आवश्यक सामग्रीहरु निर्माण नभएपछि उनीहरुको प्रस्तुति नै काँटछाँट गर्नुपरेको थियो । यस बारेमा निलमले शोकै क्रममा दुःख व्यक्त गरेकी थिईन् ।

प्रस्तुति पश्चात निराश देखिएका निलम र रविलाई निर्णायकहरुले प्रश्न गरेपछि उनीहरुले वास्तविकता खुलाएका थिए । शोको आयोजकहरुले आफुहरुको प्रस्तुतिलाई नै महत्व नदिएको भन्दै निलमले आफुलाई लागेको कुरा बताएकी थिईन् । शो प्रसारण भएपछि अहिले यस विषयले थप चर्चा पाएको छ । निलमले पछिल्लो पटक आफ्नो फेसबुकमार्फत पनि शोमा खास के भएको थियो भनेर थप कुरा बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमा यस्तो लेखेकी छिन्–‘ मेरा प्यारा शुभचिन्तक महानुभावहरुमा मेरो नमस्कार । सर्वप्रथम त धेरै धेरै धन्यवाद हजुरहरुको भोटले नै म हाम्रो टिम निलवी यहाँ सम्म आइपुगेका हौं । पर्फोमेन्सको हिसाबले हो ममा केही शारिरिक सिमितता छ त्यसै कारण साङ्ग (अपाङ्गता नभएका) व्यक्तिहरुसरह मेरो पर्फोमेन्स नहोला म स्विकार्छु यो कुरालाई पनि । र जहाँ सम्म मेरो आज के भएको होला भन्ने यहाँहरुको जिज्ञासा छ, अन्तिम सुट हुने समयसम्म पनि हामीले प्रयोग गर्ने प्रप (डान्स गर्दा प्रयोग गरिने सामान), बिरालोरालाई थुन्ने केज हामीले नपाएको कारणले गर्दा हाम्रो होल यक्ट नै खराब भएको हो ।

आफूमाथि भएको विभेदको बारेमा बोल्दा एक हिसाबले छुच्चो नै देखिनेरहेछ तर खुशी पनि छु कि मैले कमसेकम यो बारेमा बोलेको छु । काम गर्दै जाँदा यस्ता धेरै अवस्था आइपर्ने नै रहेछन् । दोष म कसैलाई दिन्न यहाँ । र शो हो यहि कारणले भोलि म आउट हुन पनि सक्छु, हुन त रहने वा आउट हुने क्रम जारी नै रहनेछ यो ठूलो कुरा नै भएन तर जब सम्म यहाँ रहन्छु आउने एपिसोडमा अझ राम्रो प्रस्तुति दिने प्रयास गर्नेछु । तपाईहरुले दिनु भएको माया र स्नेहको सदैव ऋणी रहनेछु । धन्यवाद ।’

निलमको स्टाटस आएसँगै उनले बोलेकै कुराले उनी शोबाट अर्को हप्ता बाहिरिने हो कि भन्ने चिन्ता थपिएको देखिएको छ । हुन त उनको अभिव्यक्तिले केही न केही असर त पर्ला तर शोको नियम अनुसार चल्ने हो भने उनले दर्शकबाट पाएको भोटले नै उनलाई बचाउनेछ । निलमले बाहिरिने डर व्यक्त गरेसँगै यस विषयमा दर्शकहरुले विभिन्न कमेन्ट गरेका छन् ।

निलम नेपालमा मात्रै नभई अन्तराष्ट्रिय स्तरमा पनि चर्चित डान्सर हुन् । उनी एकै खुट्टाको भरमा नाचेर दर्शकहरुको मनमा स्थान बनाउन सफल भएकी छिन् । शोको पहिलो पर्फोमेन्स अफ द विक अवार्ड विजेता मात्र नभई रवि र निलमले विभिन्न रेकर्डहरु समेत बनाएका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published.


*