जेनिश उप्रेती नै हो त भोईस किड्स नेपालको विजेता ?

९ मंसिर २०७८, बिहीबार ०६:१३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ९ मंसिर । द भोइस किड्स नेपालको ब्लाईण्ड अडिसन अहिले चर्चाको शिखरमा छ । हुन त यो गायन रियालिटी शोको भर्खरै ब्लाईण्ड अडिसनमात्र सुरु भएको छ तर पनि दर्शक श्रोताहरुले शोका एक प्रतियोगीलाई अहिलेदेखि नै सम्भावित विजेताका रुपमा चर्चा गर्ने गरेका छन् । द भोईस किड्स नेपालको ब्लाईण्ड अडिसनमा तहल्का मच्चाएका जेनिश उप्रेतीलाई दर्शक श्रोताहरुले सम्भावित विजेताका रुपमा चर्चा गरेका हुन् । जेनिशलाई सम्भावित विजेताका रुपमा चर्चा गर्नुको कारणमध्ये पहिलो कारण हो उनको गायकी । उनले ‘ए मेरो हजुर’ बोलको बहुचर्चित गीत गाएर तहल्का मच्चाएका थिए । उनी चारै जना कोचहरुको कुर्सी आफुतर्फ फर्काउन सफल चौथो प्रतियोगी हुन् । द भोईस किड्स नेपालमा अहिलेसम्मकै सबैभन्दा छिटो कोचको कुर्सी घुमाउन सफल जेनिश ११ वर्षका छन् । उनको आवाज सुनेर कोच राजु र कोच मिलन फास्टेट टर्न भएका थिए ।

त्यस्तै उनलाई सम्भावित विजेताका रुपमा चर्चा गर्नुको दोस्रो कारण उनको कोच छनौट हो । उनी कोच प्रमोदको टिममा छन् जो द भोईस अफ नेपालमा पनि दुई पटक विजेता कोच बनिसकेका छन् । भोईस अफ नेपालमा कोच प्रमोदको टिमबाट सिजन २ मा राम लिम्बु र सिजन ३ मा किरण गजमेर विजेता बनेका थिए । त्यसैले जेनिशलाई पनि दर्शकहरुले विजेताकै रुपमा हेर्न थालेका छन् । उनलाई कोचहरुले उत्कृष्ट गीत गाएको भन्दै कोचको कुर्सीमै लगेर राखेका थिए । जेनिश विजेता होलान् वा नहोलान् भन्ने कुरा आगामी राउण्डहरुले निर्धारण गर्ने नै छ । तर अहिलेलाई भने दर्शकहरु उनलाई सम्भावित विजेताका रुपमा हेरिरहेका छन् ।

जेनिश झापा निवासी हुन् । उनी हाल अंकल र आन्टीसँगै बसेर चितवनमा अध्ययन गर्दैछन् । ४ वर्षको उमेरदेखि विद्यालयको स्टेजमा गीत गाउन थालेका जेनिशलाई उनको बुवा तिर्थ प्रसाद उप्रेती र काका रमेश उप्रेतीले गायन क्षेत्रमा लाग्न प्रेरणा दिएका छन् । उनी पियानो पनि राम्रो बजाउँछन् । क्यान्सर र कोरोनाका कारण आमा गुमाएका जेनिशलाई उनकी आमाले गायक बन्न र असल मान्छे बन्न प्रेरणा दिने गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*