दोहोरी च्याम्पियनमा रेकर्ड राख्ने हस्तीहरु

२९ कार्तिक २०७८, सोमबार २१:५३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २९ कात्तिक । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा चर्चित गायक गायिकाहरु र भर्खरै दोहोरीमा चिनिदै गरेका कलाकारहरुको समूहले दोहोरी भिडेका थिए । ऐतिहासिक दोहोरी च्याम्पियनमा केही गायक गायिकाहरुले नयाँ रेकर्ड समेत कायम गरेका छन् । दोहोरी च्याम्पियनमा रेकर्ड राख्ने ती गायक गायिकाहरु को हुन् अनि उनीहरुले कस्ता रेकर्डहरु राखेका छन् त ? हामी यस भिडियो सामग्रीमा प्रस्तुत गर्दैछौँ । कृपया भिडियो अन्तिमसम्मै हेरिदिनुहोला ।

नम्बर १–चिज गुरुङ– दोहोरी च्याम्पियनको उत्कृष्ट १६ का क्रममा निर्णायकहरुले प्रतियोगीहरुलाई गोप्य मतका साथमा स्टार अर्थात तारा चिन्ह प्रदान गरेका थिए । जसमध्ये सबैभन्दा बढी स्टार पाउने प्रतियोगी गायक चिज गुरुङ हुन् । उनले प्रतियोगितामै सर्वाधिक फाईभ स्टार पाएका थिए । उनलाई ४ जनामध्ये ३ जना निर्णायकहरुले ५ स्टार प्रदान गरेका थिए । उनीपछि गायक राजु केसीले दुई जनाबाट फाईभ स्टार तथा वसन्त विश्वकर्मा, अस्मिता डल्लाकोटी र बिमाकुमारी अनुरागीले एक जना निर्णायकबाट फाईभ स्टार प्राप्त गरेका थिए ।

नम्बर २–राजु केसी र डिला बिक– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ का क्रममा निर्णायकहरुले दिएको अंकका आधारमा विजेता तय गरिएको थियो । जसमा सर्वाधिक धेरै अंकको अन्तरमा जीत हासिल गर्ने जोडी राजु केसी र डिला बिक हुन् । उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा प्रिती गिरी र अनुज अधिकारीको जोडीलाई सर्वाधिक १६.५ अंकले पछाडि पारेका थिए ।

नम्बर ३–कल्पना दाहाल र प्रदिप रोका– दोहोरी च्याम्पियनको उत्कृष्ट २४ का क्रममा सबैभन्दा बढी अंक प्राप्त गर्ने जोडी कल्पना दाहाल र प्रदिप रोका हुन् । उनीहरुले उत्कृष्ट २४ मा विक्रमबाबु विश्वकर्मा र लक्ष्मी बस्नेतको जोडीसँग प्रतिस्पर्धा गरेका थिए । उनीहरुले सबै प्रतियोगीहरुलेभन्दा बढी अर्थात जम्मा ६१२.५ अंक प्राप्त गरेका थिए । २४ जोडीमध्ये अरु कुनै जोडीले यति धेरै अंक प्राप्त गर्न सकेनन् । उनीहरुमध्ये केही जोडीको प्रतिस्पर्धामा निर्णायक प्रजापति पराजुली उपस्थित नभएकोले केबल ३ जना मात्र निर्णायकको अंक जोडिएको थियो ।

नम्बर ४–वसन्त विश्वकर्मा र अस्मिता डल्लाकोटी–दोहोरी च्याम्पियनमा सबैभन्दा सुरुमा फाईभ स्टार प्राप्त गरेर रेकर्ड राख्ने प्रतियोगीमा दुई जना कलाकारहरुको नाम छ । दोहोरी च्याम्पियनमा सबैभन्दा सुरुमा फाईभ स्टार प्राप्त गर्नेहरुमा गायक वसन्त विश्वकर्मा र गायिका अस्मिता डल्लाकोटी हुन् । उनीहरुले निर्णायक रमेश बिजीबाट फाईभ–फाईभ स्टार पाएका थिए । अस्मिता र वसन्त दुई फरक समूहबाट दोहोरी भिडेका थिए ।

नम्बर ५–रिता रावत क्षेत्री, तारा थापा, बिमाकुमारी अनुरागी र मिना नेपाल– दोहोरी च्याम्पियनमा जम्मा ४ जना प्रतियोगीहरुले निर्णायकहरुबाट स्यालुट पाएका थिए । उनीहरुले उत्कृष्ट गीत गाएको भन्दै निर्णायकहरुले स्यालुट गरेका हुन् । निर्णायकहरुले गायिकाहरु रिता रावत क्षेत्री, तारा थापा, बिमाकुमारी अनुरागी र मिना नेपाललाई स्यालुट गरेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*