अस्मिता र जीवन बाहिरिँदा सबैको आँखामा आँशु

६ आश्विन २०७८, बुधबार १३:०३
Featured Video Play Icon

मकवानपुर, ६ असोज । चर्चित दोहोरी रियालिटी शो दोहोरी च्याम्पियन अब फाईनलको नजिक छ । फाईनलको नजिक पुगेसँगै दोहोरी च्याम्पियनका होनहार प्रतियोगीहरु बारिहिँदैछन् भने अन्तिमसम्म केबल २ जोडी होनहार प्रतियोगीहरुमात्र बाँकी रहनेछन् । त्यसैले अबका एपिसोडहरुमा दोहोरी गायक गायिकाको जोडी बाहिरिँदा दर्शक र प्रतियोगीहरु नै चिन्तित हुनेछन् । यस्तै चिन्ताको घडिमा गत साता जीवन सिग्देल र अस्मिता डल्लाकोटी शोबाट बाहिरिए । उनीहरु बाहिरिँदा उनीहरुसँगै दोहोरी भिडेर जीत हासिल गरेका प्रकाश पराजुली र मिना बुढाथोकी पनि पिडामा परे । नियम अनुसार एक जोडीमात्रै अघि बढ्नुपर्ने भएकोले यी जोडीहरु बाहिरिँदा प्रतिस्पर्धीसहित धेरै दर्शक श्रोताहरु पनि दुःखी भएका थिए ।

यो रिजल्ट पछि नै अस्मिता र जीवनलाई सान्त्वना दिईरहेका दर्शक श्रोताले प्रकाश र मिनालाई बधाई पनि दिए । सबैको प्रिय भएका यी दुई जोडी कलाकारहरु एकै टिममा परेको भन्दै कतिपय दर्शकहरुले असन्तुष्टि पनि पोखेका थिए । तर प्रतियोगिताको नियम अनुसार नै उत्कृष्ट १६ बाट जित हासिल गरेका जोडीहरु क्रम अनुसार भिड्नुपर्ने भएकोले यी दुई जोडी पनि आमनेसामने दोहोरी भिडन्तमा परेका थिए । दोहोरी च्याम्पियनबाट बाहिरिएपछि जीवनले लेखेको फेसबुक स्टाटसले पनि ठूलो खैलाबैला मच्चायो । उनले फेसबुकमा लेखेका थिए–‘अब विदेशतिर लाग्छु’ । उनको यो स्टाटसले दर्शक श्रोतालाई पनि उनीतर्फ तान्यो ।

उनको यो स्टाटसपछि उनीसँगै दोहोरी भिडेका गायक प्रकाश पराजुलीले उनीप्रति समर्पित एउटा मनछुने स्टाटस लेखे । वास्तवमा जीवन र प्रकाश मिल्ने साथी हुन् । प्रकाशले दुईको तस्बिरसहित पोष्ट गरेको स्टाटसले जीवनलाई सान्त्वना दिने देखिएको थियो । उनले यस्तो लेखेका थिए–‘२०७१ सालको गुरुङ लोह्सारको दोहोरी प्रतियोगिताबाट मेरो दोहोरी प्रतियोगिता क्षेत्रको यात्रा सुरु भएसँगै २०७३ सालमा वालिङ महोत्सवको दोहोरी प्रतियोगिता भिड्ने क्रममा हजुर–नमस्ते शब्दबाट सुरु भएको हो जीवन र मेरो सम्बन्ध । तेरो संघर्ष मलाई थाहा छ र मेरो संघर्ष तँलाई पनि पक्कै थाहा छ । दर्जनौं मेला महोत्सवमा सँगै हिँड्यौं र दर्जनौं प्रतियोगीता सँगै भिड्यौं त्यही हिँड्ने र भिड्ने क्रममै हो दोहोरी च्याम्पियनमा पनि प्रतिस्पर्धा गर्नु परेको । हामीबिच अन्य कुनै कुराको प्रतिस्पर्धा छैन दोहोरीको मात्रै प्रतिस्पर्धा हो । मलाई मैले जितेको खुशी भन्दा तँ हारेको को पीडा बढी छ र म हारेको भएपनि तँलाई उस्तै हुन्थ्यो होला । दोहोरी च्याम्पियनले हाम्रो सम्बन्ध अझै बलियो बनेको छ यो सम्बन्धको जग केहिगरी हल्लिने छैन मलाई विश्वास छ ।’

प्रकाशले स्टाटसमा आफुलाई माया गर्ने श्रोताहरुले जीवन र अस्मितालाई पनि उत्तिकै माया गर्ने कुरा उल्लेख गरेका छन् । जीवनले पनि पछि पून स्टाटस लेख्दै सबैलाई सम्झिएका छन् । गायिका मिना बुढाथोकीले पनि अस्मिता र जीवनलाई सम्झिएका छन् । दोहोरी च्याम्पियनबाट बाहिरिएपछि गायिका अस्मिता डल्लाकोटीले पनि मनछुने पत्र लेख्दै दर्शक श्रोताहरुलाई सम्झिएकी छिन् । उनले लेखेकी छिन्–‘सायद दोहोरी च्यापियनमा नआएको भए हजुरहरुले देखाउनु भएको यो अथाह मायाको अनुभव मैले जिवनमा यति छिट्टै कहिँकतैबाट गर्न पाउने थिइनँ होला । हारेर पनि सन्सार जितेको जस्तो अनुभूति भएको छ । सानो सानो कुरामा पनी रोईहाल्ने मेरो मन अनि म हजुरहरुले खाईनखाई गर्नु भएको त्यति धेरै भोट साथ सपोर्ट खेर गएको देख्दा सम्झिँदा रुँदिन भनेर सम्हालीन खोज्दाखोज्दै पनि सकिनँ । त्यस्को लागी माफी चाहान्छु ।

म हजुरहरुले गर्नुभएको भोटको ऋण र गुन दुबै यो जुनीमा तिर्न सक्दिनँ । तपाईहरुले के कति भोट गर्नुभएको छ त्यो मैले महसुश गरेको छु । कसरी धन्यवाद दिउँ मसँग धन्यवाद ज्ञापन गर्ने शब्द पनि छैन । फेसबुकको क्यापसनमा हजुरको नाम लेखिरहँदा एक भोट गर्नेदेखि हजारौं भोट गर्नेको नाम छुट्न सक्छ तर मनमा सझाएर राखेको हजुरको नामको सदैव सम्मान गर्नेछु । हजुरहरु सबै सँग क्षमा चाहन्छु तपाईको भोट मार्फत दोहोरी च्याम्पियनको उत्कृष्ट ४ मा प्रवेश गर्न सकिनँ । अनि दोहोरी च्याम्पियनमा मात्रै नभइ हरेक दुःख सुखमा साथ दिनुहुने मलाई पिर नगर नरोउ भनेर सम्झाउँदै आफु एक्लै बसेर रोईरहने दाइ जीवन सिग्देललाई पनि धेरै धेरै सम्मान यो साथ यो माया सधै यस्तै रहिरहोस् ।’ हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*