‘बुद्धिका जोडी’ फेरि एकपटक चर्चाको शिखरमा

६ आश्विन २०७८, बुधबार १२:४१
Featured Video Play Icon

मकवानपुर, ६ असोज । चर्चित डान्सिङ रियालिटी शो डान्सिङ विथ द स्टार्स नेपालको चर्चित ‘बुद्धिका जोडी’ फेरि एक पटक चर्चाको शिखरमा छ । चर्चित गायक बुद्ध लामा र चर्चित कलाकार केबिका खत्रीको जोडी फेरि एक पटक चर्चामा आएका हुन् । डान्सिङ विथ द स्टार्स नेपालमा दर्शक र निर्णायकको मन जितेर तहल्का मच्चाएको यो जोडी ‘बुद्धिका जोडी’ का नामले बहुचर्चित बनेको थियो । शोमा सर्वाधिक एउटै अंक पाएर मात्र नभई उनीहरु राम्रो केमिष्ट्री मिलेको जोडीका रुपमा दर्शकहरुमाझ चर्चित छन् । बुद्ध र केबिकाको यो रोमान्टिक जोडी यस पटक भने बुद्धको आफ्नै गीतमा गरेको अभिनयका कारण चर्चामा आएका हुन् । अहिले युट्युब ट्रेण्डिङमा समेत परेको ‘जाले रुमाल’ बोलको गीतमा बुद्ध र केबिकाले रोमान्टिक अभिनय गरेका छन् ।

गायक बुद्ध लामा र चर्चित गायिका रचना रिमालको रहेको यो गीत गायक बुद्ध लामाकै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । बुद्ध र रचनाको आवाजमा सजिएको गीतलाई अल्बिन थापा र अलेक लामाले लेखेका हुन् । बुद्धकै संगीत रहेको गीतलाई राहुल प्रधानले एरेञ्ज र मिक्सिङ मास्टरिङ गरेका हुन् । गीतमा रत्न विश्वकर्माले बाँसुरी, मनिष गन्दर्भmले साराङ्गी र प्रिमाज स्याङ्तानले अकष्टिक गितारको संगीत भरेका छन् । डान्सिङ विथ द स्टार्स नेपालबाट चर्चामा आएको बुद्धिका जोडीको यो रोमान्टिक भिडियोलाई दर्शकहरुले रुचाएका छन् । म्युजिक भिडियोमा बुद्ध र केबिकासँगै डान्सिङ विथ द स्टार्स नेपालकै चर्चित जोडीहरु उमेश राई ‘फुलन्देकी आमा’ र प्रमोद भण्डारी तथा केशव थापा र सृष्टि केसी एक साथ देखिएका छन् ।

युवराज लामाको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा प्रमोद, केशव र केबिकाको कोरियोग्राफी रहेको छ । लोमुस पौडेलले निर्देशनमा सघाएका छन् । सागर प्रधानको सिनेम्याटोग्राफी रहेको म्युजिक भिडियोलाई विकाश दाहालले सम्पादन गरेका छन् । म्युजिक भिडियोमा दिपक एम सिंहको गेष्ट रोल पनि रहेको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*