सम्पादक गिरिजा अधिकारी जनसेवा श्रीबाट विभूषित हुने

३ आश्विन २०७८, आईतवार १४:४८

मकवानपुर, ३ असोज । पत्रकारितामार्फत समाजमा विशिष्ट योगदान पुर्याएको भन्दै नेपाल सरकारले तु खबर डटकमका सम्पादक गिरिजा अधिकारीलाई जनसेवा श्रीबाट विभूषित गर्ने घोषणा गरेको छ । गृह मन्त्रालयले संविधान दिवस २०७८ को अवसर पारी विभिन्न क्षेत्रबाट समाजमा महत्वपूर्ण योगदान पुर्याउने व्यक्ति तथा संस्थाहरुलाई विभूषण, मानपदवी तथा अलंकारबाट सम्मान गरिने उल्लेख गरेको छ । जसमध्ये पत्रकारिता मार्फत विशिष्ट योगदान पुर्याएकोमा सम्पादक अधिकारीलाई विभूषित गरिन लागिएको हो ।

अधिकारी पत्रकार, साहित्यकार तथा गीतकार हुन् । २०४२ सालमा सिन्धुपाल्चोक जिल्लामा जन्मिएका उनी मकवानपुरका स्थायी वासिन्दा हुन् । २०५७ सालबाट पत्रकारितामा आवद्ध अधिकारीले पर्सा जिल्लाको वीरगञ्जबाट प्रकाशित हुने प्रतिक दैनिकबाट पत्रकारिता सुरु गरेका हुन् ।

अधिकारीले पत्रपत्रिका, एफएम रेडियो र टेलिभिजनमा सम्पादकीय विभागको नेतृत्व गरेर काम गरिसकेका छन् । काठमाडौँबाट प्रकाशित हुने नयाँ पत्रिका दैनिकको उपसम्पादक, शौर्य दैनिकको बरिष्ठ उपसम्पादक, हेटौंडाबाट प्रकाशित हुने थाहा सन्देश दैनिक र प्रदेश दैनिकको सम्पादक, टिम टेलिभिजनको डेक्स सम्पादक र साम साप्ताहिकको सम्पादकको रुपमा काम गरिसकेका उनी हाल तु खबर डटकमको सम्पादकको रुपमा कार्यरत छन् ।

मनकामना एफएम, नेशनल एफएम, पाल्पाको रेडियो पश्चिमाअञ्चल, रेडियो सगरमाथा, शक्ति एफएम, रेडियो सरोवरलगायतका एफएम रेडियोको रिपोर्टर, समाचार प्रमुख र सम्पादकको रुपमा उनले काम गरेर अनुभव बटुलेका छन् ।

अधिकारीको अक्षरका जुलुसहरु, ईतिहास र लाल झा र २५ प्रतिवाद नामक कविता संग्रहहरु प्रकाशित भएका छन् । उनको ‘ईतिहास र लाल झा’ कविता संग्रह बज्जिका भाषामा अनुवाद भएको पहिलो कविता संग्रह पनि हो । उनले मकवानपुरे पत्रकारिता (इतिहास र समिक्षा) नामक अनुसन्धानमुलक पुस्तकको सम्पादन गरेका छन् । अधिकारी गीत लेखनमा समेत सक्रिय छन् ।

उनलाई प्रेस काउन्सिल नेपालले युवा पत्रकारिता पुरस्कार प्रदान गरिसकेको छ । त्यस्तै उनी राष्ट्रिय सूचना आयोगको प्रादेशिक सूचना पुरस्कार, शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, पहल उत्कृष्ठ खोज पत्रकारिता पुरस्कार र रिपोटर्स क्लबको क्रियाशील युवा पत्रकारिता पुरस्कारबाट समेत पुरस्कृत भएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*