प्रकाश र मिनासँग अस्मिता र जीवनको कडा दोहोरी भिडन्त

१९ भाद्र २०७८, शनिबार १४:४५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १९ भदौ । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा यो हप्तादेखि उत्कृष्ट ८ को दोहोरी भिडन्त सुरु हुँदैछ । दोहोरी च्याम्पियनले यसअघि नै उत्कृष्ट ८ छनौटपछि कुन कुन समूहको बिचमा दोहोरी भिडन्त हुनेछ भनेर तालिका सार्वजनिक गरिसकेको छ । जस अनुसार उत्कृष्ट १६ मा परेका ८ समूहको भिडन्तमा जुन जुन जोडी समूह विजेता हुन्छन् उनीहरुको बिचमा नै दोहोरी भिडन्त हुने तय भएको थियो । यस अनुसार दोस्रो हप्तामा उत्कृष्ट ८ मा परेका प्रकाश पराजुली र मिना बुढाथोकीसँग अस्मिता डल्लाकोटी र जीवन सिग्देलको कडा दोहोरी भिडन्त हुनेछ । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनका उत्कृष्ट ८ मा हुने यी दुबै जोडीहरुको दोहोरी भिडन्तका बारेमा छोटो चर्चा गर्दैछौँ ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ छनौटपछिको दोस्रो दोहोरी भिडन्तमा प्रकाश पराजुली र मिना बुढाथोकीसँग अस्मिता डल्लाकोटी र जीवन सिग्देलले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तहरुमा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । उत्कृष्ट ८ को दोस्रो दोहोरी भिडन्तमा उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ४ अर्थात सेमिफाईनलमा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका तेस्रो जोडी हुन् प्रकाश पराजुली र मिना बुढाथोकी । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा दिलिप थापा र संगिना थापाको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा प्रकाशलाई निर्णायक चन्द्र शर्माले थ्री स्टार र बाँकी ३ जना निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै मिनालाई सबै निर्णायकहरुले फो स्टार दिएका थिए । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५६८ अंक प्राप्त गर्दै ७ अंकको अन्तरमा दोहोरी भिडन्त जितेका थिए । उनीहरु दुबै जना लाईभ दोहोरीमा चर्चित छन् ।.गायक गायिकाकै रुपमा उनीहरु चिनिएका छन् । प्रकाश स्याङ्जाका हुन् । स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ मा जन्मिएका प्रकाश वि.सं. २०७१ सालदेखि दोहोरी गायन क्षेत्रमा सक्रिय छन् । सानैदेखि गीत गाउन रुचाउने प्रकाशले मेलापात र पूजापाठमा भजन गाउँदै गायन क्षेत्रमा पाईला टेकेका हुन् ।

प्रकाशसँगै जोडी बाँधेर दोहोरी भिडिरहेकी गायिका मीना बुढाथोकी दाङकी हुन् । दाङको नारायणपुर गाविस वडा नम्बर ४ मा जन्मिएकी मिनाका बुवा ईमानसिंह बुढाथोकी र आमा सितामाया बुढाथोकी हुन् । सानैदेखि गीत गाउन सिपालु मिना विद्यालयसँगै गाउँघरमा हुने विभिन्न कार्यक्रमहरुमा पनि सहभागी हुन्थिन् । गीत गाउँदै जाने क्रममा उनले १ सय ५० वटा भन्दा बढी प्रतियोगिताहरुमा प्रतिस्पर्धा गरेको उनी बताउँछिन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका चौथो जोडी हुन् अस्मिता डल्लाकोटी र जीवन सिग्देल । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्तमा प्रतियोगिताका अर्का चर्चित टिम पवित्रा मगर र वसन्त बिकको जोडीसँग दोहोरी भिडेका थिए । यो दोहोरी भिडन्तमा अस्मितालाई निर्णायक रमेश बिजीले फाईभ स्टार र अन्य निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । त्यस्तै जीवनलाई सबै निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । यसअघि उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका थिए । उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा निर्णायकहरुबाट जम्मा ४६० अंक प्राप्त गर्दै ०.५ अंकको झिनो अन्तरमा हार व्यहोरोका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् । दोहोरी च्याम्पियनबाट थप चर्चित बनेकी अस्मिता डल्लाकोटी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोगीमाराकी हुन् । हाल चितवनमा बस्दै आएकी अस्मिता हजुरबुवा, हजुरआमा, बुवाआमा, दाईदिदी र भाइसँगै बस्दै आएकी छिन् । विद्यालयमा पढ्दाको समयमा नै संगीतमा रुचि राखेकी अस्मिता दोहोरी क्षेत्रमै लागेको करिब ६ वर्ष भईसकेको छ । गायन क्षेत्रमा लाग्न आफ्नै फुपु जुना डिसीबाट राम्रो साथ पाएकी उनी विभिन्न प्रतियोगितामा सहभागी हुँदै दोहोरी च्याम्पियनमा भिड्न आईपुगेकी हुन् ।

अस्मितासँगै जोडी बाँधेर दोहोरी भिडिरहेका जीवन सिग्देल स्याङ्जाको हरिनाश गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । बुवा शंकर सिग्देल र आमा भगवती कोईरालाबाट जन्मिएका जीवन २०७२ सालदेखि लोकदोहोरी संगीतको क्षेत्रमा लागेका हुन् । वि.सं. २०७२ सालमा एसएलसी सकाएर गायन क्षेत्रमा लागेका उनलाई गायन क्षेत्रमा लागिरहन उनको घरपरिवार र आफन्तले राम्रो साथ दिएको उनी सम्झन्छन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर अगाडि बढेका जीवनले धेरै पटक हार र जीतको सामना पनि गरेका छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*