पवित्रा सर्तुङ्गे मगर वा अस्मिता डल्लाकोटी, कुन टिमले जित्ला दोहोरी भिडन्त ?

२३ श्रावण २०७८, शनिबार १७:११
Featured Video Play Icon

मकवानपुर, २३ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ मा पुग्ने चौथो जोडीको नाम शनिबार सार्वजनिक हुँदैछ । गत शनिबार भएको दोहोरी भिडन्त पश्चात निर्णायकले दिएको मत र दर्शक भोटका आधारमा यो साता विजेता घोषणा गरिन लागिएको हो । गत साता चौथो दोहोरी भिडन्तमा जीवन सिग्देल र अस्मिता डिसीसँग पवित्रा मगर र वसन्त बिकले दोहोरी भिडेका थिए । हालसम्मको दोहोरी भिडन्तहरुमध्ये सर्वाधिक चर्चित दोहोरी भिडन्तका रुपमा चर्चा कमाएको यो एपिसोडको नतिजा शनिबार सार्वजनिक भएसँगै एउटा बलियो जोडी शोबाट बाहिरिने छन् भने एउटा जोडी मात्र उत्कृष्ट ८ मा प्रवेश गर्नेछ । फाईभ स्टार पाएको ऐतिहासिक यो टिमबाट अस्मिता र जीवनको टिम वा पवित्रा र वसन्तको टिम मध्ये कुन टिमले बाजी मार्ला भनेर दर्शकहरु पनि उत्सुक छन् । यो एपिसोडमा अस्मिता र वसन्तले दोहोरी भिडन्तबाट सबैलाई रुवाएका थिए भने जीवन र पवित्राले रमाईलो दोहोरी प्रस्तुत गरेर सबैलाई हँसाएका थिए । निर्णायक रमेश बिजीले वसन्तलाई फाईभ स्टार, प्रजापति पराजुलीले ३ स्टार तथा अन्य निर्णायकहरुले फो स्टार दिएका थिए । त्यस्तै अस्मितालाई निर्णायक रमेश बिजीले फाईभ स्टार र अन्य निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । त्यस्तै जीवनलाई सबै निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए भने पवित्रालाई निर्णायक प्रजापति पराजुलीले थ्री स्टार र अन्य ३ जना निर्णायकहरुले फो स्टार प्रदान गरेका थिए । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ८ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका पन्ध्रौँ जोडी हुन् अस्मिता डिसी र जीवन सिग्देल । उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका हुन् । उनीहरु वाईल्ड कार्डमार्फत छानिएका तेस्रो जोडी हुन् । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्त अन्तर्गत उनीहरुले निर्णायकहरुबाट जम्मा ४६० अंक प्राप्त गर्दै ०.५ अंकको झिनो अन्तरमा हार व्यहोरोका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् । दोहोरी च्याम्पियनबाट थप चर्चित बनेकी अस्मिता डल्लाकोटी धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० जोगीमाराकी हुन् । हाल चितवनमा बस्दै आएकी अस्मिता हजुरबुवा, हजुरआमा, बुवाआमा, दाईदिदी र भाइसँगै बस्दै आएकी छिन् । विद्यालयमा पढ्दाको समयमा नै संगीतमा रुचि राखेकी अस्मिता दोहोरी क्षेत्रमै लागेको करिब ६ वर्ष भईसकेको छ । गायन क्षेत्रमा लाग्न आफ्नै फुपु जुना डिसीबाट राम्रो साथ पाएकी उनी विभिन्न प्रतियोगितामा सहभागी हुँदै दोहोरी च्याम्पियनमा भिड्न आईपुगेकी हुन् ।

अस्मितासँगै जोडी बाँधेर दोहोरी भिडिरहेका जीवन सिग्देल स्याङ्जाको हरिनाश गाउँपालिका वडा नम्बर ३ निवासी हुन् । बुवा शंकर सिग्देल र आमा भगवती कोईरालाबाट जन्मिएका जीवन २०७२ सालदेखि लोकदोहोरी संगीतको क्षेत्रमा लागेका हुन् । वि.सं. २०७२ सालमा एसएलसी सकाएर गायन क्षेत्रमा लागेका उनलाई गायन क्षेत्रमा लागिरहन उनको घरपरिवार र आफन्तले राम्रो साथ दिएको उनी सम्झन्छन् । विभिन्न प्रतियोगिताहरुमा सहभागी भएर अगाडि बढेका जीवनले धेरै पटक हार र जीतको सामना पनि गरेका छन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका बाह्रौँ जोडी हुन् वसन्त बिक र पवित्रा मगर । यस अघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५०४ अंक प्राप्त गर्दै ३ अंकको अन्तरमा जित हासिल गरेका थिए । वसन्त र पवित्रा चिनिएका गायक गायिका हुनुका साथै लाईभ दोहोरीमा पनि चर्चित छन् । दोहोरी भिडन्तका क्रममा उनीहरुको निक्कै प्रशंसा भएको थियो । पवित्राको आवाजलाई निर्णायकहरुले निक्कै मनपराएका थिए । बसन्त विश्वकर्मा गायक तथा कलाकारका रुपमा परिचित छन् । उनी तनहुको रिसिङ गाउँपालिका वडा नम्बर १ ग्याजाटारका हुन् । वि.सं. २०७१ सालदेखि गायन क्षेत्रमा लागेका उनले काठमाडौँको धेरै दोहोरी साँझहरुमा गीत गाएका थिए । घरबाट कलाकार बन्ने सपना बोकेर काठमाडौँ छिरेका उनलाई उनकी दिदी भिनाजु र आमाबुवाले निक्कै सहयोग गरेका थिए । उनका केही चर्चित गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

त्यस्तै वसन्तसँगै जोडी बाँधेर दोहोरी भिडन्त भिडिरहेकी गायिका पवित्रा सर्तुङ्गे मगर गुल्मीकी हुन् । गुल्मीको मुसीकोट नगरपालिका वडा नम्बर ४ गजुङ्गामा जन्मिएकी पवित्रा विवाह भएर सिन्धुलीमा आएकी छिन् । टकबहादुर सर्तुङ्गे र गायत्री सर्तुङ्गेका जेठी छोरीका रुपमा जन्मिएकी पवित्राको ३ भाई र एक बहिनी पनि छन् । २०७० सालदेखि गायन क्षेत्रमा लागेकी उनी हालसम्म निरन्तर सक्रिय छिन् । घरकी जेठी छोरी भएका कारण थप संघर्ष गर्न बाध्य भएकी पवित्रालाई संगीत क्षेत्रमा लाग्न उनको बुवाले ठूलो मदत गरेको उनी सम्झिन्छिन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*