दोहोरी च्याम्पियनमा रुवाबासी

१६ श्रावण २०७८, शनिबार २०:१६
Featured Video Play Icon

मकवानपुर, १६ साउन । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को सेटमा दोहोरी गाउँदा गाउँदै रुवाबासी चलेको छ । दोहोरी च्याम्पियनले सार्वजनिक गरेको प्रोमो अनुसार दोहोरी च्याम्पियनको सेटमा दोहोरी गाउँदा गाउँदै रुवाबासी चलेको देखिएको छ । प्रोमो अनुसार सुरुमा गायिका अस्मिता डिसीले मार्मिक टुक्का प्रहार गर्छिन् । उनको टुक्का सुनेर शोमा विशेष अतिथिका रुपमा पुगेका अतिथि निर्णायक मात्र नभई निर्णायकहरु र दर्शकहरुका पनि आँखा रसाउँछन् । विशेष अतिथि सहित निर्णायक चन्द्र शर्मादेखि दर्शक भएर बसेकी अर्की गायिका मिना बुढाथोकी भावुक देखिन्छिन् । दोहोरी गाउँदै गर्दा अस्मिता र उनलाई साथ दिईरहेका गायक जीवन सिग्देलको पनि आँखा रसाएको देखिन्छ ।

यसरी रुवाबासी चलिरहेकै बेला अस्मितालाई गायक वसन्त बिकले पनि मार्मिक जवाफ फर्काउँछन् । यसबेला निर्णायक सिता थापाको आँशु रोकिदैन अनि निर्णायक प्रजापति पराजुली पनि भावुक देखिन्छन् । प्रेमीहरु छुट्नुपर्ने बाध्यात्मक विषयमा गाईएको यो दोहोरीले सबैको आँखा रसाएको देखिन्छ ।

शनिबार दोहोरी च्याम्पियनमा उत्कृष्ट ८ का लागि चौथो दोहोरी भिडन्त हुँदैछ । यो दोहोरी भिडन्तमा जीवन सिग्देल र अस्मिता डिसीसँग पवित्रा मगर र वसन्त बिकले दोहोरी भिड्दैछन् । उनीहरुबिचको दोहोरी भिडन्तको यो प्रोमो सार्वजनिक भएसँगै शनिबार अस्मिता र वसन्तको बिचमा भावुक दोहोरी भिडन्त हुने अनुमान सहजै लाउन सकिन्छ । ‘मन परेको फुल खसीगो’ भाकामा गाईने यो दोहोरी भिडन्तमा निक्कै पिडा मिसिने देखिएको छ । रमाईलो टुक्का गाउन माहिर अस्मिता र बसन्तले कारुणिक भाकामा पनि सबैको मन जित्ने देखिएको छ । जीवन स्याङ्जाका र अस्मिता धादिङकी हुन् । त्यस्तै बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । उनीहरुबिचको यो दोहोरी प्रोमो सार्वजनिक भएसँगै दर्शकहरुले शनिबारलाई सर्वाधिक पर्खाईको दिनका रुपमा टिप्पणी गरिसकेका छन् । तर उनीहरुबिचको पुरा दोहोरी हेर्न भने अझै केही दिन कुर्नैपर्ने भएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*