जीवन वा बसन्त कसले जित्ला दोहोरी भिडन्त ?

१६ श्रावण २०७८, शनिबार २०:०३
Featured Video Play Icon

मकवानपुर, १६ साउन । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को उत्कृष्ट ८ का लागि चौथो दोहोरी भिडन्त यही शनिबार हुँदैछ । चौथो दोहोरी भिडन्तमा जीवन सिग्देल र अस्मिता डिसीसँग पवित्रा मगर र वसन्त बिकले दोहोरी भिड्दैछन् । यी दुबै टिमले यसअघिको दोहोरी भिडन्तका क्रममा दर्शक र निर्णायकहरुबाट प्रशंसा पाएका थिए । शनिबार उनीहरुको प्रस्तुति पश्चात निर्णायकहरुले दिएको अंकबाट ५० प्रतिशत र ५० प्रतिशत दर्शक भोटको आधारमा अर्को शनिबार रिजल्ट हुनेछ । यी दुबै जोडीहरु गायक गायिकाकै रुपमा चिनिएका र लाईभ दोहोरीमा दर्शकहरुको मन जित्न सफल जोडीहरु हुन् । दुबै टिम बलियो भएकोले एकअर्कालाई पछि पार्न यो जोडीहरुले दमदार दोहोरी भिडन्त गर्नेछन् । यी दुई जोडीको यो कडा प्रतिस्पर्धामा कसले बाजी मार्ला त ? आखिर को जानेछ उत्कृष्ट ८ मा ? तपाईको विचारमा यी दुई जोडीमध्ये कुन जोडीको जित्ने सम्भावना बलियो छ ? कृपया कमेन्ट गर्नुहोस् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका पन्ध्रौँ जोडी हुन् अस्मिता डिसी र जीवन सिग्देल । उनीहरु वाईल्ड कार्डमार्फत उत्कृष्ट १६ मा प्रवेश गरेका हुन् । उनीहरु वाईल्ड कार्डमार्फत छानिएका तेस्रो जोडी हुन् । यसअघि उत्कृष्ट २४ को दोहोरी भिडन्त अन्तर्गत उनीहरुले निर्णायकहरुबाट जम्मा ४६० अंक प्राप्त गर्दै ०.५ अंकको झिनो अन्तरमा हार व्यहोरोका थिए । यो दोहोरी च्याम्पियनकै सर्वाधिक कम अन्तरमा हारजीत भएको दोहोरी भिडन्त थियो । फिजिकल अडिसनदेखि नै निक्कै चर्चामा रहेका अस्मिता र जीवन लाईभ दोहोरीमा चर्चित छन् । उनीहरु चर्चित दोहोरी गायक गायिका पनि हुन् । जीवन स्याङ्जाका र अस्मिता धादिङकी हुन् ।

त्यस्तै दोहोरी च्याम्पियनको उत्कृष्ट १६ मा पुगेका बाह्रौँ जोडी हुन् वसन्त बिक र पवित्रा मगर । यस अघि उत्कृष्ट २४ को दोहोरी भिडन्तका क्रममा उनीहरुले निर्णायकहरुबाट जम्मा ५०४ अंक प्राप्त गर्दै ३ अंकको अन्तरमा जित हासिल गरेका थिए । वसन्त र पवित्रा चिनिएका गायक गायिका हुनुका साथै लाईभ दोहोरीमा पनि चर्चित छन् । दोहोरी भिडन्तका क्रममा उनीहरुको निक्कै प्रशंसा भएको थियो । पवित्राको आवाजलाई निर्णायकहरुले निक्कै मनपराएका थिए । बसन्त तनहुका र पवित्रा गुल्मीकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*