सविन आचार्य र रिता रावत क्षेत्रीले जिते दोहोरी भिडन्त

११ श्रावण २०७८, सोमबार १६:५९
Featured Video Play Icon

मकवानपुर, ११ साउन । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को चर्चित जोडी सविन आचार्य र रिता रावत क्षेत्री उत्कृष्ट ८ मा पुग्ने दोस्रो जोडी बन्न सफल भएका छन् । उनीहरुले शोकै चर्चित अर्का टिम टेकराज भण्डारी र तारा थापासँग दोहोरी भिडेका थिए । यी दुबै टिमको दोहोरी भिडन्तपश्चात निर्णायकहरुले दिएको मत र दर्शकहरुबाट प्राप्त भोटका आधारमा विजेता जोडी घोषणा गरिएको हो । दोहोरी भिडन्त पश्चात उनीहरुमध्ये सविन आचार्यलाई निर्णायक चन्द्र शर्माले टु स्टार, निर्णायक रमेश बिजी र प्रजापति पराजुलीले थ्री स्टार तथा सिता थापाले फो स्टार दिएका थिए । त्यस्तै रिता रावत क्षेत्रीलाई निर्णायक प्रजापति पराजुलीले फो स्टार र बाँकी ३ जना निर्णायकहरुले थ्री स्टार दिएका थिए । सविन र रिता उत्कृष्ट ८ का लागि छानिएसँगै तारा र टेकराज शोबाट बाहिरिएका छन् ।

दोहोरी च्याम्पियनको उत्कृष्ट ८ मा पुगेका दोस्रो जोडी हुन् रिता रावत क्षेत्री र सविन आचार्य । उनीहरुले उत्कृष्ट २४ को दोहोरी भिडन्तमा निर्णायकहरुबाट ५६८ अंक प्राप्त गर्दै जम्मा १४ अंकले दोहोरी जितेका थिए । उनीहरुले उत्कृष्ट १६ को दोहोरी भिडन्त निर्णायकले दिएको मत र दर्शक भोटका आधारमा जितेका हुन् । दोहोरी च्याम्पियनमा निर्णायकहरुबाट सर्वाधिक प्रशंसा पाएकी रिता चर्चित लोकदोहोरी गायिकाका रुपमा चिनिएकी छिन् । रिता दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ५ की हुन् । दोहोरी गायनमा लामो संघर्ष गरेकी रिता करिब ३ वर्षअघि मात्र काठमाडौँमा आएकी हुन् । काठमाडौँमा आएर दोहोरी साँझहरुमा दोहोरी गाउँदै अगाडि बढेकी उनले दोहोरी साँझमा गीत गाएरै जीवन धानिरहेकी छिन् । सांगितिक परिवारमा जन्मिएकी रिताकी ठूली दिदी र आमा दुबै जना गीत गाउनुहुन्छ । साईली छोरीका रुपमा जन्मिएकी रितालाई उनकी आमाले चर्चित गायिका बनेको हेर्ने चाहाना गरेकी छिन् । गरिब परिवारमा जन्मिएकी रिता धनभन्दा मन ठूलो हुन्छ भन्ने कुरामा विश्वास गर्छिन् ।

रितासँगै जोडी बाँधेर प्रतिस्पर्धा गरिरहेका सविन आचार्य पाँचथरका हुन् । दोहोरीको श्रोताका रुपमा आफुलाई चिनाउने सविन लोकदोहोरी क्षेत्रमा अब्बल छन् । सानैदेखि गायन क्षेत्रमा रुचि भएता पनि सविनले करिब ३ वर्ष अघिदेखि गायन क्षेत्रलाई व्यवसायिक क्षेत्रका रुपमा अंगालेका हुन् । १७–१८ दिन अघि मात्रै एपिण्डिक्सको अपरेशन गरेका उनी कमजोर स्वास्थ्य अवस्थाका बावजुद दोहोरी भिडन्तमा सहभागी भएका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*