परिवारको माया, डाक्टरको सहयोग अनि सकरात्मक सोचले जितिन् ६६ वर्षिया वृद्धाले कोरोना

२० असार २०७८, आईतवार ११:२५

दुदुमाया सिंतान,मकवानपुर,२० असार/ प्राय सधैँ जंगलमा बाख्रा चराउदै अनि दाउराको टुक्राटुक्री बटुल्दै गरिरहेकी भेटिन्छिन् देवकुमारी कार्की । उनी ६६ वर्षकी भइ सकिन् । देवकुमारी मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ बनस्पतिमा बस्दै आएकी छिन् । देवकुमारीले ६६ वर्षको उमेरमा १५ दिनमै कोरोनालाई जितेर घर फर्कन सफल भएकी छन् । उनको सकारात्मक सोच, बलियो आत्माविश्वास, परिवारको साथ, सहयोग, माया, उनको उपचारमा संलग्न डाक्टर, नर्सहरुको उल्लेख्य महत्वपुर्ण भुमिका, माया, सहयोगले नै उनले कोरोनालाई जित्दै नयाँ जिवन पाएकी हुन् ।

देवकुमारीले विश्वव्यापी महामारी कोरोना भाइरसको बारेमा रेडियो, टेलिभिजनबाट धेरै सूचनाहरु सुनेको अनि छरछिमेकतिर पनि सबैले सावधानी अपनाएको देख्दा आफू र आफ्ना परिवारका अन्य सदस्यले पनि सावधानीअपनाएरै हिडेको बताए । देवकुमारी प्राय बाख्रा चराउन घर नजिकैको जंगल, कुखरेनी खोलाको बगरमा पुग्थिन् । उनलाई भिडभाडमा जानहुन्न भन्ने थाहा भएर नै उनले बाख्रा गोठालो जाँदा समेत मास्क लगाएर जान्थिन् भने साथीहरुसंग नभई एक्लै छुट्टै बाख्रा चराउथिन् । वैशाख महिनाको कुरा हो, उनीजंगलमै बाख्रा चराइरहेकी थिइन्, उनलाई ज्यान बेस्सरी दुखेर आयो । उनले केही मेलो मेसो नै पाउन सकेकी थिइनन् । ‘वैशाखमहिनाको पहिलो हप्ताबाटै बेस्सरी ज्यान दुखेको थियो । अरु दिनमाभन्दा अप्ठेरो भइरहेको थियो, त्यसपछि हल्का खोकी लाग्ने, ज्वरो आउने अनि स्वास फेर्न अप्ठेरो भए जस्तो भएको थियो । अनि जचाएर औषधी ल्याएर खाएँ । ३ दिनको औषधी ल्याएँ, निको हुन्छु भन्ठानेको निको नै भएन ।’ केही दिनपछि देवकुमारी ज्वरोले थला नै परिन् । बोल्नओर्न नै गाह्रो भयो । ज्यानमा केही ताकत, शक्ति नै नभएको महसुश उनले गरेकी थिइन् । उनलाई धेरै गाह्रो भएपछि उनको माइलो छोरोले उनलाई अस्पताल लिएर गएर पिसिआर परिक्षण गराउनु भन्ने सल्लाह भएपछि पिसिआर जाँच गराइयो । त्यसको ३ दिनपछि पिसिआर रिपोर्ट पोजेटिभ आएको फोन आयो, देवकुमारीले भनिन् ।

कोरोना आफूलाई लागेको भन्ने थाहा पाउनसाथ सुरुमा ‘म धेरै आत्तिए, मनमा अनेक कुराहरु खेल्यो, दिमाग सहि ठाउँमा बसेकै थिएन । मन एक तमासले आत्तिएको मात्रै थियो, म अब बाँच्दिन होला भन्ने लागेको थियो, देवकुमारीले ती पीडादायी दिनलाई सम्झदै भनिन् ।’ तर देवकुमारी सतर्क थिइन् की उनलाई लागेको रोग अरुलाई नलागोस् । उनले आफूलाई कोरोना लागेर भइरहेको पीडा अरुलाई नहोस् भनेर उनी घरबाट बाहिर कतै गइनन् । वैशाख २४ गते, दिनको ३ बजेतिर मेरो घर अगाडी एम्बुलेन्स हुइकिदै आयो, एम्बुलेन्स अगाडी मोटरसाइकलमा सेतो कपडा ( पिपिइ ) लगाएको एक जना मान्छे उभियो, म झसंग भएँ, उहाँले अब तपाइको उपचार गर्न जानुपर्छ, आफ्नो आवश्यक पर्ने लुगा, औषधीहरु लिएर जानुपर्छ भन्नु भयो । म एकछिन अलमलमा परेँ, के गर्ने के नगर्ने । केही समयपछि म एम्बुलेन्समा चढेँ, अनि अपरान्ह ४ बजेतिर गौरीटार आइसोलेसन सेन्टरमा पु¥याइयो । मनमा कुराहरु खेल्न छोडेको थिएन, घर परिवारका छोरा बुहारी, छोरी ज्वाइ, नातिनातिना, आफन्तहरुलाई सम्झेँ, मन कुडिएर आउथ्यो, मलाई यो के भयो भन्ने लाग्थ्यो ।’ देवकमारीले आइसोलेसनमा डाक्टर, नर्सले राम्रो स्याहार गर्दैन भन्ने सुनेकी रहेछिन्, त्यसैले पनि उनीझन् आत्तिएकी थिइन् । सुरुमा त घरमा नै राम्रो हुन्थ्योकी भन्ने पनि उनलाई लागेको थियो रे तर पछि उनको घरमा स्याहार गर्ने अरु सदस्य नभएकोले पनि आइसोलेसन जाने निर्णय भएको रहेछ ।

आइसोलेसनमा सुरुका दिनहरुमा उनलाई धेरै गाह्रो भएको थियो । उनी केही पनि खान सक्ने अवस्थामा थिइनन् । उनलाई खान मन नलाग्ने, वाकवाक लाग्ने भएको थियो । ५ दिनसम्म उनले १ गिलास दालको भरमा दिन कटाउथिन् । पछि डाक्टरहरुले खान नखाइ औषधी खाइयो भने झन् गाह्रो हुन सक्ने, बाँच्नकालागि खाना खानु पर्छ,आफ्नो ज्यानलाई माया गर्नुपर्छ, सुरुमा आफुले आफ्नो ज्यानलाई माया नगरे अरुले गर्दैनन् भनेर सम्झाएपछि ६ दिनको दिनबाट अलिअलि खाना खान थालेको उनले बताइन् । औषधीसंगै भिटामिन खान थालेकी देवकुमारीलाई घर परिवारका सदस्यहरु, छोरी ज्वाइ, आफन्तहरुले निकै नै हौसला दिएका थिए । छोरी, ज्वाई प्रत्येक दिन उनलाई भेट्न पुग्थे, संगै बसेर भलाकुसारी गर्न नपाए पनि छोरीको अनुहार हेर्न पाउँदा नै आत्माबल बढेर आउथ्यो । डाक्टर, नर्सहरुले पनि उनलाई धेरै नै राम्रो व्यवहार गरे, जुन व्यवहारबाट उनलाई कोरोना जित्न थप उर्जा मिल्यो ।

‘डाक्टर, नर्सहरुको बोलीबचन, उनीहरुले गर्ने व्यवहार, उनीहरुले गर्ने मायाले गर्दा नै मलाई कोरोना जितेर छिट्टै घर फर्कन्छु भन्ने आँट पलाएको थियो, देवकुमारीले भनिन् । आफ्नै आमाबुबालाई जस्तै गरी मलाई डाक्टर, नर्सले सम्झाउनु हुन्थ्यो, माया गर्नु हुन्थ्यो र त म अहिले म बाँचेकी छु उनले भनिन् । आइसोलेसनमा स्वास्थ्यको निकै ख्याल गर्ने गरिएको, समयमा उचित पोषणयुक्त खानेकुराको व्यवस्था, औषधी उपचार, सरसफाइ राम्रो भएको उनले बताइन् । कोरोना जितेर दिनदिनै अरु साथीहरु घर फर्किएको देख्दा आफूलाई पनि छिट्टै घर फर्कनु पर्छ मनमा लागीरहन्थ्यो उनले सुनाइन् । ‘म एक त उमेर पनि ढल्कीएको, त्यो माथि हाम्रो समाजमा कोरोना संक्रमितलाई हेर्ने नजर ती सबै नराम्रा कुराहरुलाई मैले दिमागमा बस्नै दिइन । म एकदमै राम्रो कुराहरु मात्रै सोचिरहे, धेरै नै सकारात्मक कुराहरु मात्रै दिमागमा राखेँ, आफन्तहरुको माया, सहयोग सम्झे, छोरी ज्वाइ दिनदिनै भेट्न आउनुले पनि मैले सजिलै कोरोनालाई जित्न सकेँ ।

कोरोना संक्रमितहरुलाई छिछि दुरदुर होइन, माया हौसलाको खाँचो छ । यो त्यस्तो डरलाग्दो रोग होइन, सावधानी अपनाइयो भने सजिलै जित्न सक्छ, ‘राम्रो खानपान, समयमा उचित औषधी उपचार पाउन सकियो भने निको हुने रहेछ’उनले आफ्नो अनुभव सुनाइन् । कोरोना लागेको १५ दिनमै निको भएर जेठ ७ गते आफ्नो घरमा फर्कन सकेकी देवकुमारी अरु रोगले विरामी भएको भन्दा फरक महसुश ज्यानलाई हुने गरेको बताउछिन् । कोरोना भएपछि अलि धेरै नै ज्यानलाई आराम चाहिने रहेछ, शारीरिक अनि मानसिक रुपमै राम्रोसंग आराम हुनु पर्ने रहेछ, ज्यान गल्ने, दुख्ने हुँदा आत्तिएर, डराएर होइन की मनलाई सम्हालेर, मन दरिलो बनाएर, मनोबल बलियो बनाएर सही समयमा उपचार पायो भने कोरोना निको हुने उनले बताइन् । ‘सबैभन्दा ठुलो भुमिका स्वास्थ्यकर्मीहरुको हुने भएकोले उहाँहरुको मिठो बोलीबचन, व्यवहारले धेरै नै कोरोना संक्रमितको ज्यान बच्ने भएकोले आफ्नो उपचारमा संलग्न हुनुभएका डाक्टर रविराज देवकोटा, नर्सहरु, आइसोलेसनमा लैजान अनि ल्याउन भुमिका खेल्नु हुने समाजेसेवी अनिलकुमार खाती, मेरो परिवारका सदस्यहरु, आफन्त सबैलाई धन्यवाद दिन चाहन्छु ।’

अहिलेको यो विसम अवस्थामा रोगसंग सबैलाई डर लाग्छ, सबैलाई आफ्नो ज्यानको माया छ तर पनि डाक्टर, नर्सहरु आफ्नो ज्यानलाई जोखिममा राखेर अहोरात्र खटेका भगवानरुपी डाक्टर, नर्सहरुलाई अपमान नगर्न अनुरोध समेत गरेकी छन् । देवकुमारी कोरोना जितेपछि अहिले पनि दैनिक रुपमा बाख्रा चराउन जान्छिन् । अहिले वर्षे झरी, कति बेला पानी पर्छ, कति बेला घाम लाग्छ ठेगान हुन्न, अनि जतिबेला घाम लाग्छ, पानी पर्न रोक्छ, त्यति नै बेला बाख्रा फुकाउने गरेको उनले बताइन् । उनलाई प्राय घरमा भेटाउन मुश्किल हुन्छ । देवकुमारीले अहिले पनि धेरै वेरसम्म उभिएर बस्न नसक्ने, कामेको जस्तो भइरहने बताइन् । शरीर धेरै गलेको छ, त्यो उमेरले पनि होला, खासै आराम पनि गर्न पाइनँ भन्दै चर्दै गरेको १२ वटा बाख्रा धपाउँदै उनी जंगलतर्फ लागिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*