हेटौँडा र मनहरीका छात्राहरुलाई खाद्यान्न वितरण

१८ असार २०७८, शुक्रबार १४:३८

मकवानपुर, १८ असार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाका १ सय ८० जना छात्राहरुलाई खाद्यान्न वितरण गरिएको छ । अमेरिकन हिमालयन फाउन्डेसन (एएचएफ) को आर्थिक सहयोगमा ग्रामिण स्वास्थ्य र शिक्षा सेवा गूठी (आरएचईएसटी) विशालनगर काठमाडौं र महिला तथा बालबालिका सरोकार केन्द्र हेटौंडाको सहकार्यमा खाद्यान्न वितरण गरिएको हो ।

महिला तथा बालबालिका सरोकार केन्द्र हेटौँडाद्वारा सञ्चालित ‘बालिका शैक्षिक सहयोग’ परियोजना अन्तर्गत अध्ययन गरिरहेका १ हजार ९ सय छात्राहरुमध्ये १ सय ८० जना छात्राहरुलाई खाद्यान्न सहयोग गरिएको संस्थाकी कार्यक्रम संयोजक एलिना स्याङ्बोले बताईन् । कोरोना भाईरस संक्रमणको जोखिम न्यूनिकरण गर्न आह्वान गरिएको लकडाउनको कारण दैनिक गुजारा चलाउन समेत समस्या परेका छात्राहरु छनौट गरी उनीहरुलाई सहयोग गरिएको हो । उनीहरुलाई प्रतिव्यक्ति चामल ३० केजी, दाल ४ केजी, नुन एक प्याकेट, साबुन ४ वटा र तेल ३ लिटरका दरले सहयोग गरिएको हो ।

ती छात्राहरुमध्ये अपाङ्ग, एकल महिला तथा अशक्तहरुलाई भने घरमै राहत सामाग्री पुर्याइएको छ । खाद्यन्न वितरणका क्रममा कोरोना भाईरस सम्बन्धी सचेतना कार्यक्रम समेत गरिएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*