कोचलाई चकित पारेका उत्कृष्ट ४ आवाजहरु

८ जेष्ठ २०७८, शनिबार १४:४३
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ८ जेठ । नेपालकै चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को ब्याटल राउण्ड सकिएसँगै नकाउट राउण्डका लागि उत्कृष्ट ३६ प्रतियोगीहरु छानिएका छन् । तर लकडाउनका साथै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै यो हप्ता नकाउट राउण्डका कुनै पनि एपिसोडहरुको छायाँकन नगरिएकोले यो हप्ता नकाउट राउण्ड नहुने जानकारी भोईस टिमले आफ्नो आधिकारिक फेसबुक पेजबाट जानकारी दिएको छ । नकाउट राउण्डमा पुगेका ३६ जना प्रतियोगीहरुमध्ये ४ जना प्रतियोगीहरु यस्ता छन् जसले आफ्नो आवाजका कारण कोचहरुलाई नै चकित पारेका थिए । आफ्नो कोचहरुले बाध्यताबस एकजनालाई छानेर उनीहरुलाई छनौट नगरेता पनि अन्य कोचहरुले आफ्नो स्टील पावरको प्रयोग गर्दै उनीहरुलाई नकाउटका लागि छनौट गरेका थिए । कोचहरुसँग भएको एउटामात्र अधिकारलाई प्रयोग गर्नेसम्मकै प्रस्तुति दिनु चानचुने कुरा होईन । यसअघि स्टीलबाटै जोगिएका प्रतियोगीले शो जितेका कारण यी ४ जना प्रतियोगीहरुले नकाउटमा पनि कोचहरुलाई चकित पार्दै अगाडि बढ्ने सम्भावना ठूलो छ । यस भिडियो सामग्रीमा ब्याटल राउण्डमा कोचहरुलाई चकित पार्दै आफ्नो टिममा पार्नका लागि स्टील पावर प्रयोग गर्न जुर्मुराएका उत्कृष्ट ४ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । भोईस अफ नेपालबारे अन्य भिडियोका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् ।

१) निहारिका ज्ञवाली–द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी दोस्रो प्रतियोगी हुन् निहारिका ज्ञवाली । उनले ब्याटल राउण्डमा टिम राजुकै तारा श्रीस मगरसँग प्रतिस्पर्धा गरेकी थिईन् । ब्याटलमा कोच राजुले तारालाई नकआउटका लागि छानेका थिए । तर दमदार प्रस्तुति दिएकी निहारिका नकआउटका लागि छनौट हुन सफल भईन् । निहारिकालाई स्टिलको अधिकार प्रयोग गर्दै सबै कोचहरुले बर्जर दबाएका थिए । उनले कोच प्रमोदको टिममा जाने निर्णय गरेसँगै उनी कोच राजुको टिमबाट कोच प्रमोदको टिममा प्रवेश गरेकी छिन् । निहारिका सिजन ३ को ब्याटलमा स्टीलका लागि सबै कोचहरुबाट बर्जर पाएकी एकमात्र प्रतियोगी हुन् । साथै उनी सिजन ३ मा स्टीलबाट नकाउटका लागि छानिएकी पहिलो प्रतियोगी पनि हुन् । २२ वर्षीया निहारिका काठमाडौँ कपन निवासी हुन् । संगीतलाई जीवनको अभिन्न अंगका रुपमा लिएकी निहारिकालाई गायन क्षेत्रमा उनको आमाबुवाको पनि साथ छ ।

२) ध्रुव तामाङ–द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका सत्रौँ प्रतियोगी हुन् ध्रुव तामाङ । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै दिक्षा थापासँग प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये दिक्षालाई नकआउट राउण्डका लागि छनौट गरेपछि ध्रुव संकटमा परेका थिए । तर ध्रुवलाई पनि कोच राजुले स्टिल गरेका थिए । यसअघि कोच प्रमोदको टिममा भएका ध्रुव अब भने कोच राजुको टिममा छन् । उनी ब्याटलमा स्टीलबाट नकाउटका लागि छानिएका दोस्रो प्रतियोगी हुन् । २९ वर्षीय ध्रुव नुवाकोटका हुन् । उनी हाल काठमाडौँमा बस्छन् । संगीतमै रमाउने उनी संगीत क्षेत्रमै आफ्नो परिचय स्थापित गर्न चाहान्छन् ।

३) सुरक्षा सेञ्चुरी– द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएकी तेईसौँ प्रतियोगी हुन् सुरक्षा सेञ्चुरी । उनले ब्याटल राउण्डमा टिम प्रमोदकै किरण गजमेरसँग प्रतिस्पर्धा गरेकी थिईन् । कोचले उनीहरुमध्ये किरणलाई नकआउट राउण्डका लागि छनौट गरेपछि सुरक्षा खतरामा परेकी थिईन् । तर दमदार प्रस्तुति दिएकी सुरक्षालाई कोच तृष्णाले स्टिल गरेपछि उनी नकआउट राउण्डमा प्रवेश गरेकी हुन् । यसअघि टिम प्रमोदमा रहेकी सुरक्षा अब भने कोच तृष्णाको टिममा छिन् । सुरक्षा ब्याटलमा स्टील हुँदै नकाउटका लागि छानिएकी तेस्रो प्रतियोगी हुन् । २३ वर्षीया सुरक्षा दार्जिलिङकी हुन् । दुर्गम क्षेत्रमा बसिरहेकी सुरक्षा सँगीत सिक्न सिलीगुडीसम्म पुग्छिन् । आफुलाई संघर्षशिल गायिकाका रुपमा चिनाउने सुरक्षाले संगीत क्षेत्रबाटै आफ्नो घर सम्हालीरहेकी छिन् । उनी नेपाली गीतसँगीतमै आफ्नो करियर बनाउन चाहान्छिन् ।

४) कुशल श्रेष्ठ– द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका एकतिसौँ प्रतियोगी हुन् कुशल श्रेष्ठ । उनले ब्याटल राउण्डमा टिम राजुकै सन्दिप राईसँग कडा प्रतिस्पर्धा गरेका थिए । कोचले उनीहरुमध्ये सन्दिपलाई नकआउट राउण्डका लागि छनौट गरेपछि कुशल संकटमा परेका थिए । तर दमदार प्रस्तुति दिएका कुशललाई कोच दिपले स्टील गरेका छन् । स्टिलसँगै यसअघि कोच राजुको टिममा रहेका कुशल अब कोच दिपको टिममा छन् । कुशल सिजन ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल छैटौँ प्रतियोगी पनि हुन् । साथै उनी ब्याटलबाट स्टील हुँदै नकाउटमा प्रवेश गरेका चौथो तथा अन्तिम प्रतियोगी हुन् । ३१ वर्षीय कुशल पाल्पाका हुन् । उनी हाल बसुन्धारामा बस्छन् । हालसम्म औपचारिक रुपमा संगीत नसिकेता पनि उनी सेल्फ लर्निङकै भरमा साँगितिक क्षेत्रमा अगाडि बढिरहेका छन् । सानोमा मामाहरुबाट गीत गाउन प्रेरणा पाएका कुशलले चारै जना कोचहरुको मन जित्दै आएका छन् ।हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*