नविन गजमेरको पर्दा पछाडिको संघर्षको कथा

३ जेष्ठ २०७८, सोमबार २०:४६
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३ जेठ । सन् २०१९ मा द भोईस अफ नेपाल सिजन २ को ब्लाईण्ड अडिसनमा एउटा आवाज गुञ्जियो । ‘आँशुको अर्थ के थाहा’ बोलको गीतमा गुञ्जिएको त्यो आवाज सिक्किमका नविन गजमेरको थियो । उक्त गीत गाएर तहल्का मच्चाएका नविनले चारै जना कोचहरुको कुर्सी आफुतर्फ घुमाउने अपेक्षा दर्शक श्रोताले गरेका थिए । हुन पनि उनको गायकी यस्तो दमदार थियो कि चारै जना कोचहरु फर्किन्छन् भन्नेमा अडिसन हेरिरहेका सबै दर्शक श्रोताहरु विश्वस्त थिए । तर दर्शक श्रोताको सोचाई विपरित कुनै पनि कोचहरु उनीतर्फ फर्किएनन् । उनले राम्रो गीत गाउँदा पनि कोचहरुले बज नगरेपछि त्यस समयमा कोचहरुलाई पहिलो पटक दर्शकहरुले नकरात्मक कमेन्ट गरेका थिए । कोचहरु नफर्किनुको त्यसबेलाको कारण के थियो दर्शकहरुलाई थाहा छैन तर त्यस समयमा अधुरो रहेको नविनको भोईसको कथा तेस्रो सिजनमा आएर उत्कर्षमा पुगेको छ । किनभने सिजन ३ मा उनले चारै जना कोचहरु आफुतर्फ फर्काउन सफल भए । उनले पर्दासँगै ईन्ट्री भएर कोचहरुलाई सरप्राईज पनि दिए । त्यतिमात्र होईन, यो सामग्री तयार पार्दाको समयमा उनी ब्याटल राउण्ड पार गर्दै नकआउट राउण्डका लागि पनि छनौट भईसकेका छन् । हुन त आम नेपाली दर्शक श्रोताको लागि नविन गजमेर भोईसबाट चिनिएका हुन् । तर उनको कथा भोईस अफ नेपालसँग मात्र जोडिएको छैन । उनको साँगितिक क्षेत्रको संघर्षको कथा छुट्टै छ । उनको पर्दा पछाडिको कथा आज हामी यो सामग्रीमा प्रश्तुत गर्दैछौँ । हेर्नुहोस् भिडियो सामग्री–

सन् १९९६ जुन १ तारिखमा पश्चिम सिक्किमको सुल्डुङ–कामलिङ अन्तर्गत सानो गाउँमा जन्मिएका नविन गजमेरले गाउँमै अवस्थित सुल्डुङ–कामलिङ माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । बुवा रविलाल गजमेर र आमा सशिता गजमेरको माईलो छोरा भएर जन्मिएका नविन सानैदेखि साँगितिक परिवारमा हुर्किएका थिए । सानैदेखि राजु लामाको गीतहरु गाएर हुर्किएका नविन नेपाली गीतसँगीतलाई निक्कै माया गर्छन् । उनको बुवा निक्कै राम्रो गीत गाउने गर्थे जसका कारण नविन पनि गीत गाउने र गायक बन्ने सपना पालेर हुर्किए । उनको गायक बन्ने सपना यत्ति बलियो थियो कि उनले गायक बन्नकै लागि अरु कसैको घरमा बसेर संगीत सिक्नथाले । उनलाई सँगीत सिकाउने अनि जस्तोसुकै दुःखमा पनि साथ दिने उनका गुरु अमरबहादुर विश्वकर्मालाई उनी सदैव सम्झिरहन्छन् । नविनका दाजु रुकेश गजमेर गीतार बजाउनमा प्रख्यात छन् भने बहिनी ललिता गजमेर पनि गायनमा अब्बल छिन् ।

परिवारको आर्थिक अवस्थाका कारण नविनले साँगितिक यात्रामा निक्कै संघर्ष गर्नुपरेको थियो । साँगितिक क्षेत्रमा लाग्दै गर्दा आर्थिक अवस्था सधैँ नाजुक हुन्थ्यो । तर उनले संघर्ष गर्न छोडेनन् । संघर्षका दिनहरु सम्झँदै नविन भन्छन् ‘‘मैले गायक बन्नका लागि जीवनमा धेरै संघर्ष गरेँ । पारिवारिक अवस्थाका कारण मैले चाहेर पनि केही गर्न सकिरहेको थिईँन ।’’ कडा संघर्षका बावजुद असफलताहरु हात लागेता पनि नविन साँगितिक क्षेत्रमा थाकेनन् । उनी असफलतालाई विश्राम गर्ने समयका रुपमा प्रयोग गर्दै अझ बढी जोस र जाँगरका साथ साँगितिक क्षेत्रमा लागिरहे । कयौँ असफलताहरुका बिचमा उनले सफलताको स्वाद पनि चाख्न थाले । उनी सन् २०१७ मा सिक्किम राईजिङ स्टारको फर्स्ट रनर अप हुन सफल भए । सन् २०१८ मा उनी सिक्किम ईकल्चर स्वरका विजेता समेत बने ।

साँगितिक यात्राका क्रममा उनले बहुचर्चित गायक गायिकाहरुसँग स्टेज शेयर गर्ने मौका समेत पाएका थिए । चर्चित गायक गायिकाहरु शम्भु राई, मेलिना राई, शिव परियार , पुष्पन प्रधान, राजु लामा लगायतका गायक गायिकाहरुसँग उनले स्टेजमा सँगै प्रस्तुति दिने मौकाको सदुपयोग गरे । नविनलाई आज धेरैले गायकका रुपमा चिन्छन् तर उनी गायक मात्र होईनन् । उनी गायकका साथै सँगीतकार र गीतकार पनि हुन् । उनी गीत लेख्न र त्यसलाई कम्पोज गर्नमा अग्रसर छन् । नविनले हालसम्म १२ वटा ओरिजिनल गीतहरु रेकर्ड गराईसकेका छन् तर उनका गीतहरुले साँगितिक बजारमा सोचेको जस्तो सफलता भने नपाएको उनी बताउँछन् । सिक्किमको गोरी कान्छी, माया के हो भन्ने कुरा तिमीबाट सिकेँ, अब म कसैलाई माया लाउँदिन लगायतका केही गीतहरु उनका प्रतिनिधिमुलक गीतहरु हुन् । यी संघर्षहरुका बावजुद आज नविन गजमेर भोईसमार्फत विश्वमा नै चिनिएका छन् । जीवनमा जस्तोसुकै परिस्थिति आएता पनि हार नखाने सोचका साथ अगाडि बढेका नविन अझै साँगितिक दुनियाँमा परिचय स्थापित गराउनमा तल्लिन छन् । नविनको यो प्रयास सफल होस् भनेर हामी सबै उनलाई शुभकामना दिनचाहान्छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*