मकवानपुरे गायक शोभराज तामाङको ‘कान्छी’ सार्वजनिक (भिडियो सहित)

३० चैत्र २०७७, सोमबार २०:४३

मकवानपुर, ३० चैत्र । मकवानपुरे गायक शोभराज तामाङको नयाँ गीत ‘कान्छी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार हेटौँडाको ‘द क्रियटिभ रेष्टुरेन्ट एण्ड बार’ मा पत्रकार सम्मेलन गरी गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवम् मकवानपुरका चर्चित अग्रज गायक कृष्णगोपाल सिंहले भिडियो प्ले गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । औपचारिक रुपमा म्युजिक भिडियो सार्वजनिक भएसँगै म्युजिक भिडियोलाई शोभराजकै व्यक्तिगत युट्युब च्यानलमार्फत पनि प्रिमियर गरिएको छ ।

गीतमा गायक शोभराज तामाङकै शब्द र सँगीत रहेको छ । गीतलाई हेटौँडामा नै एरेञ्जर तथा रेकर्डिष्ट अमृत लवागुनले एरेञ्ज, मिक्स तथा रेकर्ड गरेका हुन् । गीतको म्युजिक भिडियोमा युभाष श्रेष्ठ, निरु थिङ र दिपक लामाले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई विशाल राज राईले छायाँकन, निर्देशन तथा सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियो मकवानपुरकै विभिन्न पर्यटकीय स्थलहरुमा छायाँकन गरिएको निर्देशक राईले पत्रकार सम्मेलनमा बताएका छन् । म्युजिक भिडियोलाई भैँसे, रातोमाटे लगायतका स्थानहरुमा छायाँकन गरिएको छ । यसअघि पनि विभिन्न गीतको म्युजिक भिडियो सार्वजनिक गरेका शोभराजले सन् २०१२ मा ‘तिमीलाई छोडी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । सोही म्युजिक भिडियोको बाँकी कथालाई ‘कान्छी’ गीतको म्युजिक भिडियोमा उतारिएको गायक तामाङले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् । गीतमा विछोडपछिको मिलनका बारेमा कथा छ ।

म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा अग्रज गायक कृष्णगोपाल सिंहसहित गायक शोभराज तामाङ, निर्देशक विशाल राज राई, कलाकारहरु युभाष श्रेष्ठ, निरु थिङ, मकवानपुरे गायक धिरेन लामा, अणराज तामाङ, मकवानपुरे कलाकार विक्रम लुङ्वा, राससका मकवानपुर प्रतिनिधि रिपेश रिद्धि दाहाल लगायतको आतिथ्यता रहेको थियो । हेर्नुहोस् गीतको म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*