दोहोरी च्याम्पियनमा कल्पना दाहाल र राजु परियारको दोहोरी भिडन्त

११ चैत्र २०७७, बुधबार १२:१६
Featured Video Play Icon

मकवानपुर, ११ चैत । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा शोकै चर्चित प्रतियोगी कल्पना दाहाल र चर्चित गायक राजु परियारबिच दोहोरी भिडन्त चल्ने भएको छ । यस साताको शोको प्रोमोमा देखाइए अनुसार कार्यक्रममा अतिथिका रुपमा पुगेका गायक राजु परियारसँग कल्पनाले ‘कालिपारे दाई’ भाकामा दोहोरीमा जुहारी खेलेकी छिन् । हुन त कार्यक्रममा वास्तविक रुपमा उनीहरुबिच कत्तिको दोहोरी चल्यो त्यस बारे भने शनिबार मात्रै खुलासा हुनेछ तर प्रोमोका कारण यो साताको दोहोरी भिडन्त अझ रोचक हुने देखिएको छ । हेर्नुहोस् भिडियो सामग्री–

हुन त राजु र कल्पनाकाबिच यसअघि नै विभिन्न लोकदोहोरी प्रस्तुतिहरुमा जुहारी परिसकेको छ । ‘खेलौँ जुहारी’देखि विभिन्न कार्यक्रममा दोहोरी खेलिसकेका राजु र कल्पनाको यो जुहारी अझ रोचक हुने भएको छ । रोचक यस अर्थमा पनि हो कि दोहोरी च्याम्पियनका निर्णायकहरु विवादमा तानिएपछि धेरै जसो श्रोता दर्शकहरुले गायक राजु परियारलाई शोमा निर्णायक बनाउनुपर्ने माग गर्दै कमेन्ट गरेका थिए भने कल्पनामाथि गरिएको टिप्पणी रुखो भएको भन्दै श्रोता दर्शकले निर्णायकहरुकै विरोध पनि गरेका थिए । यस्तो अवस्थामा शोमा गायक राजु परियार नै पुगेपछि र कल्पनासँग जुहारी नै परेपछि यसले थप चर्चा पाउने भएको छ ।

दोहोरी च्याम्पियनमा यो साता उत्कृष्ट २४ मा पुगेका २४ जोडीहरुमध्ये दोस्रो दोहोरी भिडन्त चल्दैछ । यो साता सज्जन रोका र कल्पना दाहालसँग लक्ष्मी बस्नेत र विक्रमबाबु विश्वकर्माको दोहोरी भिडन्त हुँदैछ । दुई जोडी प्रतिस्पर्धीहरुको यो दोहोरी भिडन्तबाट एक जोडी प्रतियोगीले मात्र अगाडि बढ्ने मौका पाउनेछ भने अर्को जोडी शोबाट बाहिरिनेछ । उनीहरुको दोहोरी भिडन्त यही शनिबार राति ८ः५० मा प्रसारण हुँदैछ । यी दुबै जोडीहरु लाईभ दोहोरीमा चर्चामा रहेका जोडीहरु हुन् । साथै उनीहरु गायक गायिकाकै रुपमा दर्शक श्रोतामाझ चर्चामा छन् । उनीहरुले फिजिकल अडिसनमा पनि निर्णायकहरुबाट राम्रो प्रतिकृया पाएका थिए । उनीहरुमध्ये कुन जोडीले दोहोरी भिडन्त जित्ला त ? कृपया कमेन्ट गर्नुहोस् ।

कल्पना र सज्जन दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका एक्काईसौँ जोडी हुन् । उनीहरुले फिजिकल अडिसनमा ‘चाँगुनारायण थान’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई केही सुझाव समेत दिएका थिए । उनीहरु चर्चित गायक गायिका समेत हुन् । उनीहरु दुबै जना लाईभ दोहोरीमा पनि चर्चित छन् । उनीहरु दुबै जना सिन्धुपाल्चोक निवासी हुन् । सज्जन प्रदिपका नामले पनि परिचित छन् । त्यस्तै लक्ष्मी र विक्रमबाबु दोहोरी च्याम्पियनको उत्कृष्ट २४ मा पुगेका बाईसौँजोडी हुन् । उनीहरुले फिजिकल अडिसनमा ‘म त तिम्रो भरैमा परेको’ बोलको भाकामा दोहोरी प्रस्तुत गरेका थिए । निर्णायकहरुले उनीहरुलाई केही सुधार गर्नलाई सुझाव दिएका थिए । उनीहरु लाईभ दोहोरीमा चर्चित छन् । लक्ष्मी नवलपरासीकी र विक्रम गुल्मीका हुन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*