नेपालमै पहिलो पटक मकवानपुरबाट ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण

९ चैत्र २०७७, सोमबार १६:२८

मकवानपुर, ९ चैत । नेपाली पत्रकारिताको ईतिहासमै पहिलो पटक ज्येष्ठ पत्रकारलाई पेन्सन वितरण गरिएको छ । नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सोमबार ‘ज्येष्ठ पत्रकार पेन्सन वितरण शुभारम्भ कार्यक्रम’ को आयोजना गरी मासिक रुपमा पेन्सन वितरण गर्ने कार्यको सुरुवात गरेको हो । कार्यक्रमका प्रमुख अतिथी एवम् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले नेपाल पत्रकार महासंघ मकवानपुर शाखाका पूर्व अध्यक्ष नवराज शर्मालाई पेन्सन वापतको रकम वितरण गर्नुभयो । उहाँले यो पेन्सन कोषमा अरु पनि रकम थप गरिने बताउनुभयो । महासंघको संस्थागत कामका लागि आफुहरु तयार रहेको मेयर महतले बताउनुभयो । नगद रकम दिनका लागि केही कठिनाइ भएपनि फेरी पनि कोष वृछि गर्नका लागि सहयोग गरिने उहाँले बताउनुभयो । हेर्नुहोस् भिडियो फुटेज–

करिब ४० वर्ष सम्म पत्रकारिता गरेर निवृत जिवन बिताइरहनु भएका शर्मालाई चैत महिनाको ४ हजार रुपैयाँ पेन्सन वापत वितरण गरिएको हो । २० वर्षसम्म पत्रकारितालाई मुख्य पेसा बनाइ ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिन सुरु गरिएको हो । पेन्सन कोषमा १० लाख रुपैयाँ यसअघि हेटौंडा उपमहानगरपालिकाले सहयोग गरेको र अबका दिनहरुमा पनि सहयोगलाई जारी राख्ने मेयर महतले बताउनुभयो । पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैकमा यसअघिनै खोलिएको खातामा दश लाख रुपैयाँ जम्मा गरिएको छ । त्यसबाट ब्याज प्राप्त हुन थालेको छ । त्यही ब्याजबाट पेन्सन वितरणको काम सुरु गरिएको हो । पत्रकार महासंघका ७७ वटै जिल्लाका शाखा, प्रदेश र केन्द्रमा पहिलोपटक महासंघ मकवानपुर शाखाले ज्येष्ठ पत्रकारलाई पेन्सन वितरणको काम सुरु गरेको अध्यक्ष हरि हुमागाईले बताउनुभयो । पेन्सन सम्वन्धी कार्यविधिलाई महासंघको मंसिर २६ गतेको साधारण सभाले पारित गरेको थियो ।

महासंघ मकवानपुर शाखामा आवद्ध हुनुभएका सदस्यहरु मध्ये जेष्ठ सदस्यको वृत्ति बिकास गर्नका लागि पेन्सन दिन सुरु गरिएको हो । लगातार कम्तिमा बीस वर्ष मुख्य पेसा पत्रकारिता गरेर सक्रिय पत्रकारिता छोडी बिश्राम लिइसकेपछी प्राप्त निवेदनका आधारमा पेन्सन रकम दिन सुरु गरिएको अध्यक्ष हुमागाईले बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष प्रताप विष्टले नेपालमै पहिलोपटक मकवानपुर महासंघले राम्रो काम गरेको बताउनुभयो । प्रदेश र केन्द्रले पेन्सन कार्यक्रमको सुरुवात गर्न लागेपनि त्यो कार्यान्वयन गर्नका लागि समस्या रहेको बताउनुभयो ।

ज्येष्ठ पत्रकार पेन्सन कार्यक्रम लागू भएपछी कोषबाट व्यय हुने गरी मासिक रुपमा चार हजार रुपैयाँ प्रदान गरिने र कोषमा रकम वृद्धि भएसंगै पेन्सन रकम पनि वृद्धि गर्ने तयारी छ । तर, कोषमा धेरै रकम जम्मा नहुने र पेन्सन लिने ज्येष्ठ पत्रकार वृद्धि हुँदै गएमा पेन्सन वितरणको रकम पनि घटाउने गरी कार्यविधि पास गरिएको छ । राज्यबाट उपलब्ध हुने अन्य कुनै सामाजिक सुरक्षा भत्ता वा नेपाल सरकार, प्रदेश सरकार, वा स्थानीय तहबाट कुनैपनि संघ संस्था, गैर सरकारी संस्थाबाट सेवा सुविधा प्राप्त हुने पदमा बहाल रहेको भए मासिक पेन्सन उपलब्ध नगराइने अध्यक्ष हुमागाईले बताउनुभयो ।

ज्येष्ठ पत्रकार मासिक पेन्सन प्रदान गर्ने प्रयोजनका लागि पेन्सन प्राप्त गर्नेको निवेदन र कागजपत्रका आधारमा सिफारिस गरिने कार्यविधिमा उल्लेख छ । सिफारिसका लागि पत्रकार महासंघ मकवानपुरको निवर्तमान अध्यक्ष संयोजक, पत्रकार महासंघ मकवानपुर शाखाको पुर्व अध्यक्षहरु मध्येबाट एक जना सदस्य र पत्रकार महासंघ मकवानपुर शाखाको बैठकले सिफारिस गरेका एक जना महिला सहित अरु दुइजना सदस्य राखिने छ ।

मासिक पेन्सन प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारले अन्य सामाजिक सुरक्षा भत्ता वा सार्वजनिक पदको सुविधा प्राप्त गरेमा वा मृत्यु भएमा मासिक लगत कट्टा गर्ने प्रयोजनको लागि सोको जानकारी एकाघरको सदस्यले महासंघ मकवानपुर शाखालाई जानकारी दिनुपर्ने नियम वनाइएको छ । मासिक पेन्सन वृत्ति प्राप्त गरिरहेका ज्येष्ठ पत्रकारहरुको मृत्यु वा दोहोरो सुविधा प्राप्त भएको भन्ने उजुरी वा महासंघको जानकारीमा आएमा लगत कट्टा गरिने महासंघ मकवानपुरका सचिव गणेश दर्पण अधिकारीले बताउनुभयो ।

पेन्सन प्राप्त गर्नका लागि पत्रकार महासंघ मकवानपुर शाखाको सदस्य भएको हुनुपर्ने, साठी वर्ष उमेर पुरा भएको हुनुपर्ने, निरन्तर बीस वर्ष पत्रकारीतालाई मुख्य पेसा बनाएर सञ्चार क्षेत्रमा कार्य गरेको हुनुपर्ने, कुनै पनि सरकारी संस्था, गैरसरकारी र कम्पनिमा काम गरेर नियमित सरकारी पेन्सन रकम नलिएको र उक्त संस्थाबाट उमेर हदका कारण उपदान रकम नलिएको हुनुपर्ने र ६० वर्ष उमेरपछी सक्रिय पत्रकारिता छोडेर बिश्राम लिएको हुनुपर्ने उहाँले बताउनुभयो । पेन्सन कोषको सञ्चालन महासंघ मकवानपुर शाखाले विभिन्न सरकारी वा अर्घ सरकारी संस्था, विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था, विभिन्न व्यक्ती संघ, सस्था, उद्योग प्रतिष्ठान बाट प्राप्त रकम कोषमा राखिने छ ।

कार्यक्रममा ब्रोकाष्टिङ एसोसीएसन अफ नेपालका उपाध्यक्ष उज्वल चौलागाई, नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्ष राममणि दाहाल, प्रेस चौतारी बागमती प्रदेशका सहसंयोजक प्रकाश दाहाल, प्रेस सेन्टर बागमती प्रदेशका संयोजक सुनिल खड्का, प्रेस चौतारी मकवानपुरका संयोजक धर्मेन्द्र दाहाल लगायतकाको सहभागिता रहेको थियो । पत्रकार महासंघ मकवानपुरका उपाध्यक्ष कुमार अधिकारी (पोष्टराज) ले स्वागत गर्नु भएको कार्यक्रम सचिव गणेश दर्पण अधिकारीले सञ्चालन गर्नुभएको थियो । आजैको कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई अध्यक्ष हुमागाईले मायाको चिनो प्रदान गर्नुभएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*