टिका मगरले जिते हल अफ फेमको सिजन २

१६ फाल्गुन २०७७, आईतवार ०८:०२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १६ फागुन । अन्तराष्ट्रिय गायन प्रतियोगिता हल अफ फेम सिजन २ ईलामका टिका मगरले जितेका छन् । शनिबार भएको फाईनल राउण्डमा उनले फाईनलमा पुगेका पूर्ण विक र विजय सुनारलाई पछि पार्दै जीत हासिल गरेका हुन् । टाईटल जितेसँगै टिकाले अष्ट्रेलियामा सांगितिक टुरका साथै एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उनले ट्रफीका साथमा एउटा म्युजिक एल्बम निकाल्ने अवसर पनि उनले पाएका छन् । शोको सेकेण्ड रनर अप विजय सुनार र फर्स्ट रनर अप पुर्ण विक भएका छन् । हेर्नुहोस् भिडियो रिपोर्ट–

हरेक राउण्डहरुमा फरक फरक गीतसँगै निर्णायकहरुको मन जितेका टिकाले फाईनल राउण्डमा ‘मलाई छोडी नजाउ’ बोलको गीत गाएका थिए । उनको गायकीले निर्णायकहरुको मन जित्न सफल भएको थियो । उनको प्रस्तुतिमा निर्णायक दिप श्रेष्ठले प्रशंसा गर्दै उनी गीत गाउन र गीत छनौट गर्न निक्कै सिपालु भएको बताएका थिए । त्यस्तै निर्णायक विवेक श्रेष्ठले पनि उनको गीतहरुले सुरुदेखि नै मन जितेको बताएका थिए । पुरानो समयमा रेडियो नेपालमा सुन्ने गरेको जस्तै आवाज भएको भन्दै उनले टिकाको प्रशंसा गरेका थिए । निर्णायक रजिना रिमालले टिकाको गीत छनौट गर्ने बानी राम्रो भएको र तयारी पनि राम्रो भएको बताईन् ।

उनले सेमिफाईनलमा ‘निष्ठुरीलाई माया गरी’ बोलको गीत गाएका थिए । उनको प्रस्तुतिलाई निर्णायक विवेक श्रेष्ठले प्रशंसा गरेका थिए । उनी सुरुदेखि नै टिकाको प्रशंसक भएको भन्दै उनको भावसँग डुबेर गाउने शैली मनपरेको बताएका थिए । निर्णायक दिप श्रेष्ठले राम्रो गाउने प्रतियोगीहरुमध्ये टिका पनि एक भएको भन्दै उनको प्रशंसा गरेका थिए । निर्णायक रजिना रिमालले उनलाई एक बलियो प्रतियोगी भएको भन्दै उनको आवाज र गायन शैलीको प्रशंसा गरेका थिए । यसअघि टिकाले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा निक्कै राम्रो गीत गाएको भन्दै निर्णायकहरुले उनको प्रशंसा गरेका थिए । निर्णायक रजिना रिमालले उनको प्रस्तुति उत्कृष्ट ९ मा पुगेका सबै प्रतियोगीहरुको तुलनामा राम्रो भएको बताएकी थिईन् । टिकाले च्यालेञ्ज राउण्डमा प्रकाश प्रधान र निमा शेर्पासँग एउटै गीतमा प्रतिस्पर्धा गरेका थिए । उत्कृष्ट ५० को प्रस्तुतिका क्रममा टिकाले २१ अंक प्राप्त गरेका थिए । उनी सर्वाधिक अंक पाउने ५ प्रतियोगीहरुमध्येका एक पनि हुन् । टिका ईलाम निवासी हुन् । कक्षा ९ मा अध्ययन गर्ने क्रममा पहिलो पटक स्टेजमा गीत प्रस्तुत गरेका टिकाले त्यसबेला शिक्षक, अभिभावक र साथीहरुबाट राम्रो प्रशंसा पाएका थिए । त्यही प्रशंसाकैबिच उनी संगीत क्षेत्रमा लाग्ने अठोटका साथ अघि बढेका छन् । उनले विद्यालय जीवनदेखि नै गायन क्षेत्रमा रुचि देखाएका थिए । गायनमा रुचि भएता पनि घरको अवस्थाका कारण उनी विदेशिन बाध्य भएका थिए । विदेशमै भएपनि उनले गायन क्षेत्र छाडेनन् । उनी निरन्तर साँगितिक क्षेत्रमै अगाडि बढीरहेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*