कमेडी च्याम्पियनमा श्रेया र श्वेता तहल्का मच्चाउँदै

१३ फाल्गुन २०७७, बिहीबार ०७:३८
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, १३ फागुन । कमेडी च्याम्पियन सिजन २ को प्रसारण यही फागुन २१ गतेदेखि हुँदैछ । कान्तिपुर टेलिभिजन एचडी र रेडियो कान्तिपुरमार्फत हरेक शुक्रबार र शनिबार प्रसारण हुने यो कार्यक्रमलाई ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत पनि हेर्नसकिनेछ । सिजन २ मा फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिएका छन् जो अघिल्ला राउण्डहरुमा प्रवेश पाउनका लागि कडा प्रतिस्पर्धामा उत्रँदैछन् । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये २२ जना प्रतियोगीहरु पुरुष कमेडियन छन् भने २ प्रतियोगीहरु महिला कमेडियनहरु छन् । सिजन २ मा गोल्डेन की पाएका ३ जनासहित २२ जना पुरुष कमेडियनहरुलाई कडा टक्कर दिँदै झापाकी श्रेया सुबेदी र सिन्धुपाल्चोककी श्वेता चौलागाई प्रतिस्पर्धामा सरिक भएका छन् । सिजन १ मा ३ जना महिला कमेडियनहरुले बाँकी कमेडियनहरुलाई कडा चुनौति दिएका थिए भने दोस्रो सिजनमा पनि यी दुई नारी कमेडियनहरु बाँकी २२ पुरुष कमेडियनहरुमा भारी हुनसक्ने अवस्था सतप्रतिशत रहेको छ ।

श्रेया झापाको दमक निवासी हुन् । उनी व्यक्तिगत युट्युब च्यानल पनि संचालन गर्छिन् । १८ वर्षीया श्रेया उत्कृष्ट २४ मा पुगेकी पहिलो महिला प्रतियोगी पनि हुन् । त्यस्तै श्वेता हाल काठमाडौँमा बसोबास गर्छिन् । उनी उत्कृष्ट २४ मा पुगेकी दोस्रो महिला प्रतियोगी हुन् । उनीहरुले सर्वप्रथम डिजिटल अडिसनमा करिब ६ हजार व्यक्तिहरुलाई पछार्दै फिजिकल अडिसनमा भिडेका थिए । डिजिटल अडिसनबाट १ सय ८० प्रतियोगीहरुमध्येमा आफ्नो सिट सुरक्षित पार्दै श्रेया र श्वेताले फिजिकल अडिसमार्फत उत्कृष्ट २४ मा आफुलाई कायम गर्न सफल भएका हुन् । अब उनीहरुले अघिल्ला राउण्डहरुका लागि प्रतिस्पर्धा गर्नेछन् । हेर्नुहोस् भिडियो फिचर–

त्यसो त नेपालमा महिला कमेडियनहरुको खडेरी रहेको कुरा घामजस्तै छर्लङ्ग छ यसका विविध कारणहरु छन् जुन तपाईहामीले पनि सहजै अनुमान लाउनसक्छौँ । कमेडी च्याम्पियनको सिजन १ मा पनि महिला कमेडियनहरुलाई रिसर्च टिमले नै सहभागी गराउनुपरेको अवस्था आएको थियो । तर श्रेया र श्वेता भने रिसर्च टिमले खोजेर ल्याएका प्रतियोगी होईनन् । उनीहरुले अडिसनमै हजारौँलाई पछि पार्दै उत्कृष्ट २४ मा ईन्ट्री पाएका हुन् । पुरुषवादी चिन्तनबाट ग्रसित समाजमा महिला कमेडियनहरु निक्कै कम मात्रमा आउने गर्छन् । नेपालमा मात्र नभई विश्वमै महिला कमेडियनहरुको खडेरी छ । नेपालमा महिला कमेडियनहरुलाई निक्कै चुनौति छ । कमेडी च्याम्पियनको निर्माण टिम तथा सिजन १ र सिजन २ कै महिला प्रतियोगीहरुकै अनुसार महिला कमेडियनहरुलाई कमेडी गर्दा परिवार र समाजबाटै सहयोग हुँदैन ।

स्ट्यान्ड–अप कमेडी गर्ने महिलाहरुलाई दर्शकहरुले पनि ताली र गाली दुबै दिन्छन् । उनीहरुको रुप र पहिरनका बारेमा केही दर्शकहरुले नसोचिकै कमेन्ट लेखिदिने गरेका छन् । उनीहरुलाई कमेडियन भन्दा पनि केटी कमेडियन नै भनेर हेर्ने चलन पनि छ । हुन त केही शोहरुमा महिला भएकै कारण उनीहरुलाई स्थान पनि दिईन्छ तर त्यो पनि विभेदबाट मुक्त हुँदैन । उनीहरुले तारिफ त पाउँछन् तर आलोचना पनि उत्तिकै खेप्नुपर्ने हुन्छ । समाजका अन्य क्षेत्रमा जस्तै यो क्षेत्रमा पनि उनीहरुको कन्फिडेन्टलाई गिराउन पनि मानिसहरु सक्रिय हुन्छन् । तर यी दुई प्रतियोगीहरुले यी सबै बाध्यताहरुलाई चिर्दै नेपाली कमेडीको ईतिहासमा नयाँ ईतिहास रच्ने संकल्पका साथ अघि बढेका छन् । यी दुईको कमेडीले पनि तहल्का मच्चाउने संकेत ट्रेलरबाटै देखिसकिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*