एक करोड क्लबमा प्रविण बेड्वाल र रचना रिमालको ‘उनको प्रीति’

१० फाल्गुन २०७७, सोमबार २०:५६
Featured Video Play Icon

मकवानपुर, १० फागुन । बहुचर्चित गीत ‘उनको प्रीति’ पून एकपटक रेकर्ड भएर सार्वजनिक भएसँगै पून चर्चित बनेको छ । श्रोता दर्शकहरुको मनमा राज गर्न सफल यो गीतले युट्युबमा हालैमात्र एक करोडभन्दा बढी भ्युज प्राप्त गरेको छ । यो सामग्री तयार पार्दाको समयमा यो गीतको म्युजिक भिडियोलाई एक करोड ६१ हजारभन्दा बढी पटक हेरिएको छ । म्युजिक भिडियोमा १ लाख ७४ हजार लाईक र करिब ८ हजार कमेन्टहरु गरिएका छन् । नेपालमा सर्वाधिक चर्चामा आएर एक करोड बढी भ्यूज पाएका गीतहरुमध्ये यो गीत थोरै समयमै उक्त लक्ष्यमा पुगेको गीत हो । हेर्नुहोस् भिडियो रिपोर्ट–

राष्ट्रकवि माधव प्रसाद घिमिरेको शब्द रहेको यो गीत वि.सं. २०२४ साल बैशाख १२ गते रचना गरिएको थियो । गीत रचना भएको ३६ वर्षपछि यो गीत पहिलो पटक वि.सं. २०६० साल मंसिर महिनामा रेकर्ड भएको थियो । यो गीतलाई सुरुमा चर्चित गायक जगदिश समाल र चर्चित गायिका सपना श्रीले गाएका थिए । उनीहरुको आवाजमा रेकर्ड भएको यो गीत रचना भएको ५३ वर्षपछि र पहिलो रेकर्ड भएको १७ वर्षपछि पून रेकर्ड गरी सार्वजनिक गरिएको हो । अहिले यो गीतलाई नेपाल चर्चित गायक तथा नेपाल आईडल सिजन ३ का फर्स्ट रनर अप प्रविण बेड्वाल र पछिल्लो समय युवाहरुको ढुकढुकी बनेकी गायिका रचना रिमालले आवाज दिएका छन् ।

‘उनको प्रीति’ बोलको यो गीत १४ सेप्टेम्बर २०२० मा रिमा ईन्टरटेन्मेन्ट नेपाल युट्युब च्यानलबाट प्रिमियर भएको थियो । प्रविण र रचनाको यो पहिलो डुयट गीत हो । राष्ट्रकवि घिमिरेको सम्झनामा उनकै रचनामा पस्किएको यो गीत सार्वजनिक हुनुपूर्व नै चर्चामा थियो । प्रविण र रचनाको आवाजमा रहेको यो गीतमा चर्चित संगीतकार नारायण रायमाझीको संगीत रहेको छ । बि.बि. अनुरागीको संगीत संयोजनमा तयार भएको गीतलाई श्याम श्वेत रसाईलीले मिक्सिङ गरेका छन् । गीतको भिडियोलाई मिराज अर्यालले छायाँकन तथा सम्पादन गरेका छन् । गीतमा रत्न बिकको बाँसुरी सुन्न सकिन्छ । गीतको भिडियोमा उदिराम खड्का, बिन्दु खड्का, बिबेक खड्का, मनोज खड्का र राकेश सोनीलाई फिचरिङ गरिएको छ । उनीहरुलाई विर्मा खड्काले सिंगारेका छन् । हेर्नुहोस् म्युजिक भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*