खैराङको कालिका माविमा पूर्व विद्यार्थीहरुद्वारा सहयोग

५ फाल्गुन २०७७, बुधबार ११:२१

मकवानपुर, ५ फागुन । श्री कालिका माध्यमिक विद्यालय खैराङ अठारेका पूर्व विद्यार्थी समूहले विद्यालयमा कक्षा १ देखि कक्षा १० सम्म अध्ययन गरिरहेका १५ जना छात्रछात्राहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । विद्यालयले छनौट गरेको आधारमा जेहेन्दार, आर्थिक अवस्था कमजोर भएका र शारिरिक अपाङ्गता भएका १५ जना छात्रछात्राहरूलाई वसन्त पञ्चमी (सरस्वती पूजा) को अवसर पारेर शैक्षिक सामग्री वितरण गरिएको विद्यालयका पूर्व विद्यार्थी एवम् अभियान्ता धर्मराज स्याङ्तानले जानकारी दिए । समूहले प्रति विद्यार्थी एक थान स्कुल ब्याग, १५ थान कपी , एक दर्जन कलम, ज्यामितीय बक्स लगायतका शैक्षिक सामग्री वितरण गरेको थियो ।

गाउँको विद्यार्थीको लागि सोही विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको समूहले विद्यालयमा हाल अध्ययनरत विद्यार्थीहरुको मनोबल बढाउन सहयोग गरेको अभियान्ता हरि लोप्चनले जानकारी दिए । आफू पढेको विद्यालयको लागि आफूहरुको समूहले सहयोग गर्न पाउँदा निक्कै खुशी लागेको अर्का अभियान्ता गणेश कुमार नगरकोटीले बताए । विद्यालयका पूर्व विध्यार्थीहरू आयुष खड्का, धर्मराज स्याङ्तान, हरि लोप्चन, बालिका तामाङ, गणेश कुमार नगरकोटी, श्रीमान नेगी, सूर्य रूम्बा लगायतको टोलीले विद्यालयमै पुगेर शैक्षिक सामग्री वितरण गरेको हो ।

अभियानको लागि कुनै समयमा सोही विद्यालयमा अध्ययन गरी हाल देश तथा विदेशमा रहेका पूर्व विद्यार्थी र अन्य सहयोगीहरूले समेत स्वैच्छिक सहयोग गरेका थिए । हाल अस्ट्रेलियाको सिड्नीमा रोजगारीको सिलसिलामा रहेका पूर्व विद्यार्थी रोशन लामाले अभियानका लागि सबैभन्दा बढी नगद २५ हजार रुपैयाँ सहयोग गरेका थिए । विद्यालयका लागि अगामी दिनहरूमा पनि यस्तै सहयोग र सहकार्य जारी राख्ने अभियान्ता धर्मराज स्याङ्तानले प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*