नेपाल स्टारको रोचक ७ रेकर्डहरु

२६ माघ २०७७, सोमबार ०६:२१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २६ माघ । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारको पहिलो सिजन सकिएको छ । पहिलो सिजनबाट एलिना गुरुङ विजयी भएका छन् भने सुरेश लामा, लक्ष्मण लिम्बु र सन्देश बम्जन लामा उपविजेता बनेका छन् । वाईवाई नेपाल स्टारले नेपाली गायन रियालिटी शोको ईतिहासमा विभिन्न रेकर्डहरु कायम समेत गरेको छ । यस भिडियो सामग्रीमा नेपाल स्टारका ७ वटा रोचक रेकर्डहरुका बारेमा चर्चा गर्दैछौँ । कृपया भिडियो अन्तिमसम्मै हेरिदिनुहोला ।

नम्बर १– सर्वाधिक लामो रियालिटी शोको रेकर्ड-वाईवाई नेपाल स्टार नेपालमा संचालनमा आएका गायन रियालिटी शोहरुमध्ये सबैभन्दा लामो समयसम्म चलेको रियालिटी शो हो । अन्य रियालिटी शोहरु केही महिनामै सकिने भएता पनि वाईवाई नेपाल स्टार सकिन करिब १ वर्ष लागेको थियो । यो शोको पहिलो एपिसोड मार्च ७, २०२० मा नेपाल टेलिभिजन मार्फत प्रसारण भएको थियो भने फाईनल एपिसोड जनवरी ३०, २०२१ मा प्रसारण भएको थियो । नेपाली गायन रियालिटी शोको ईतिहासमा फाईनल हुन सबैभन्दा बढी समय लागेको शो नै यही हो ।

नम्बर २– महामारीको समयको एउटै मात्र रियालिटी शो-वाईवाई नेपाल स्टार महामारीका बिचमा नेपालमा संचालन भएको एकमात्र रियालिटी शो हो । हुन त केही महिनापछि अन्य रियालिटी शोको पनि प्रक्रिया सुरु भयो तर महामारीका समयमा नै सुरु भएको यो एकमात्र रियालिटी शो हो । महामारीकै कारण यो शोको फाईनल राउण्ड सकिन करिब एकवर्ष लागेको हो ।

नम्बर ३–पहिलो महिला प्रतियोगी विजयी भएको शो -वाईवाई नेपाल स्टार नेपाली गायन रियालिटी शोको ईतिहासमा पहिलो सिजनमै महिला प्रतियोगी विजयी बनाउने शो हो । नेपालमा संचालनमा आएका नेपाली तथा फ्रेञ्चाईज रियालिटी शोहरुमा पहिलो सिजनमै महिला प्रतियोगी विजयी भएको अन्य रियालिटी शोहरु छैनन् । वाईवाई नेपाल स्टारले नै यो रेकर्ड राख्न सफल भएको छ । वाईवाई नेपाल स्टारको पहिलो सिजनमै पोखराकी एलिना गुरुङ विजयी भएकी हुन् ।

नम्बर ४–सबै फाईनल उपविजेताहरुलाई नगद पुरस्कार दिने शो-वाईवाई नेपाल स्टारको अर्को रेकर्ड पनि रोचक छ । अन्य रियालिटी शोहरुमा एक जना विजेतालेमात्र नगद पुरस्कार प्राप्त गर्थे वा पहिलो तथा दोस्रो रनर अपका रुपमा नगद पुरस्कार प्राप्त गर्ने गर्थे । तर वाईवाई नेपाल स्टारको फाईनलमा पुगेका सबै जनाले ५–५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । उनीहरु पहिलो र दोस्रो रनरअप भन्दा पनि सबैलाई उपविजेताको उपमा दिईएको छ । यसरी सुरेश लामा, लक्ष्मण लिम्बु र सन्देश बम्जन लामा तिनै जना नेपाल स्टारको उपविजेताहरु भएका छन् । यो नेपाली गायन रियालिटी शोको बिलकुलै नयाँ रेकर्ड हो ।

नम्बर ५ अडिसनपछि डिजिटल राउण्ड गर्ने पहिलो रियालिटी शो-नेपालमा संचालनमा आएका थुप्रै रियालिटी शोहरुले सम्भवत अडिसनको बेलामा डिजिटल अडिसन लिने गथ्र्यो । तर वाईवाई नेपाल स्टारले भने अडिसनपछि पनि डिजिटल राउण्ड संचालन गरेको थियो । महामारीका बेलामा लकडाउन भएपछि अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका प्रतियोगीहरुले आ–आफ्नो स्थानमा उपलब्ध भएका श्रोत साधनहरुलाई प्रयोग गरी आफ्नो प्रस्तुति रेकर्ड गरेर पठाएका थिए । ती रेकर्डेड प्रस्तुतिकै आधारमा शोको अन्य राउण्डहरु अगाडि बढाइएको थियो । यो पनि नेपाली गायन रियालिटी शोको ईतिहासमा नयाँ रेकर्ड हो ।

नम्बर ६ फाईनालिष्टभन्दा अडिसनमा सहभागीको भ्युज धेरै-वाईवाई नेपाल स्टारका प्रस्तुतिका क्लिपहरु नेपाल टेलिभिजनकै अफिसियल युट्युब च्यानलहरुमार्फत सार्वजनिक गरिएको थियो । सामान्यतया कुनैपनि शोको फाईनलमा पुगेका प्रतियोगीहरुको प्रस्तुतिलाई सर्वाधिक दर्शकहरुले हेर्ने गरेका छन् । तर वाईवाई नेपाल स्टार त्यस्तो शो हो जहाँ फाईनल प्रतियोगीभन्दा पनि अडिसनमा सहभागी प्रतियोगीको प्रस्तुति सर्वाधिक हेरिएको थियो । हुन त फाईनलमा पुगेका प्रतियोगीहरुको प्रस्तुतिहरु ढिला अपलोड भएका कारण उनीहरुको प्रस्तुतिमा भ्युज बढ्ने क्रम जारी छ तर यो सामग्री तयार पार्दाको समयमा भने अडिसनमा सहभागी प्रतियोगीकै प्रस्तुतिलाई युट्युब मार्फत धेरै पटक हेरिएको छ । वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको पहिलो नम्बरमा लक्ष्मी रानाको अडिसनको प्रस्तुति रहेको छ । नेपाल स्टारमा दोस्रो चरणका लागि धनगढी अडिसनबाट छानिएकी लक्ष्मीलाई अडिसनमा निर्णायकहरुले सुरुमा थारु गीत गाउन आग्रह गरेपछि उनले सुरुमा थारु गीत सुनाएकी थिईन् । उनी सोही गीतबाट दोस्रो राउण्डका लागि छनौट भएकी थिईन् । उनले छनौट पश्चात पनि ‘चौबन्दीमा पटुकी’ बोलको गीत गाएकी थिईन् । लक्ष्मी यो शोको दोस्रो राउण्ड षडज राउण्डसम्म पुगेकी थिईन् । लक्ष्मीको यो प्रस्तुतिलाई अप्रिल २, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई २ लाख २४ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ६ हजार ५ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर ७ सर्वाधिक हेरिएको एपिसोडमा पहिलो एपिसोडको रेकर्ड-नेपालमा संचालनमा आएका विभिन्न रियालिटी शोहरुको विशेष गरी पहिलो एपिसोडको तुलनामा फाईनलका भिडियोहरुले रेकर्ड ब्रेक गर्छन् र सर्वाधिक हेरिएको नम्बर एक एपिसोड बन्छन् । तर वाईवाई नेपाल स्टारको केसमा भने यो फरक छ । यो सामग्री तयार पार्दाको समयमा यस शोको फाईनल शो नभई पहिलो एपिसोड नै सर्वाधिक हेरिएको एपिसोड बन्न सफल भएको छ । हुन त फाईनलको भिडियो युट्युबमा लाईभ भएको धेरै नभएकोले पनि यस्तो भएको हुनसक्छ तर यो सामग्री तयार पार्दाको समयमा भने पहिलो एपिसोडलाई नै सर्वाधिक हेरिएको छ । पहिलो एपिसोडमा पोखरा अडिसनका दृश्यहरु समावेश गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यो एपिसोड नेपाल स्टारको सर्वाधिक हेरिएको एपिसोडमात्र नभई नेपाल टेलिलिभजको युट्युब च्यानलमा सर्वाधिक हेरिएका भिडियोहरुमध्येको पनि पहिलो नम्बरमा परेको छ । यो एपिसोडलाई मार्च ७, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस एपिसोडलाई १२ लाख ५८ हजार ५ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३९ हजार लाईक र ३ हजार २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*