एलिना गुरुङले रचिन् नयाँ ईतिहास

१९ माघ २०७७, सोमबार २०:४१
Featured Video Play Icon

मकवानपुर, १९ माघ । नेपालको आफ्नै गायन रियालिटी शो वाईवाई नेपाल स्टारको पहिलो सिजनको विजेता पोखराकी एलिना गुरुङ भएकी छिन् । शनिबार भएको फाईनलमा अन्य ३ जना प्रतियोगीहरुलाई पछि पार्दै उनले दर्शक भोटका आधारमा प्रतियोगिता जितेकी हुन् । विजयी भएसँगै उनले नगद ३५ लाख रुपैयाँ, १ करोडको जिवन बिमा र १५ लाख बराबरको दुर्घटना बिमासहित अन्य थुप्रै पुरस्कारहरु पनि प्राप्त गरेकी छिन् । एलिनाले नेपाल स्टारको सिजन १ जितेर नेपाली गायन रियालिटी शोको ईतिहासमा नयाँ रेकर्ड कायम गरेकी छिन् । नेपाली गायन रियालिटी शोको ईतिहासमा रियालिटी शोको पहिलो सिजन जितेर उनले नयाँ रेकर्ड राखेकी हुन् । गायन रियालिटी शो जित्ने पहिलो महिला प्रतियोगी सज्जा चौलागाई हुन् । सज्जाले नेपाल आईडलको सिजन ३ जितेकी थिईन् । तर एलिनाले भने नेपाल स्टारको पहिलो सिजनमै जित हासिल गरेकी छिन् । गायन रियालिटी शो जित्ने दोस्रो महिला प्रतियोगी र पहिलो सिजन जित्ने पहिलो महिला प्रतियोगी भएर उनले नयाँ ईतिहास रचेकी हुन् । हेर्नुहोस् भिडियो–

एलिनाले शोमा एकपटक पनि बटम थ्रीको सामना गरेकी थिईनन् । उनले उत्कृष्ट ५ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड पनि जितेकी थिईन् । एलिनाले फाईनलमा चौबन्दिमा पटुकी बोलको गीत गाएकी थिईन् । टाईटल जितेसँगै एलिनाले आफ्नो व्यक्तिगत फेसबुक पेजमार्फत सबै दर्शक र शुभचिन्तकहरुलाई पनि धन्यवाद दिएकी छिन् । उनले लेखेकी छिन्–‘ हार्दिक धन्यवाद । देश तथा विदेशमा रहनुहुने सम्पूर्ण परिचित अपरिचित शुभचिन्तक महानुभावहरुमा साइनो अनुसारको नमस्कार , ढोग एवं प्रणाम ! यहाँहरुको माया , सहयोग ,सदभाव र आशीर्वादले आज म प्रथम नेपाल स्टार बन्न सफल भएकी छु । मलाई यो ठाउँसम्म ल्याउन एलिना जिताऊ सहयोग समितिका संयोजक वरिष्ठ सँस्कृतिकर्मी आदरणीय गुरु मेनकाजी गुरुङ ज्यु , संरक्षक तमु धीका अध्यक्ष आदरणीय अभिभावक हुम गुरुङ ज्यु, संरक्षक आदरणीय गुरु मनकुमार श्रेष्ठ ज्यु, सल्लाहकार ज्युहरु ,समितिका पदाधिकारी ज्युहरु, विभिन्न देशका उपसमितिका अध्यक्ष तथा पदाधिकारी ज्युहरु ,तमु समाजका अध्यक्ष ज्युहरु,यो अभियानमा दिनरात आ आफ्नो ठाउँबाट सामाजिक आर्थिक ,भौतिक ,नैतिकरूपमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुहुने बुद्धिजीवीवर्ग ,समाज, टोल, छिमेक, संघ सँस्था , युवा क्लब ,आमा समुह , कलाकार समूह, विद्यालय परिवार , दिदिबहिनी समूह, सबै सबैमा हार्दिक आभार सहित धन्यवाद दिन चाहन्छु ।’ त्यस्तै उनले यसभन्दा अघि पनि अर्को सन्देश लेखेर सबै भोट गर्ने दर्शकहरुलाई आभार प्रकट गरेकी थिईन् । उनले लेखेकी थिईन्–‘मलाई नेपाल स्टार बनाउन सहयोग गर्ने सबैमा धेरै धेरै धन्यवाद। यहाँहरुकै अमुल्य भोटले आज म नेपाल स्टारको पहिलो संस्करणको बिजेता बन्न सफल भएकी छु तपाईले गरेको भोटको म कहिले पनि गुन तिर्न सक्दिन होला तर संधै आफ्ना गित संगितले आफुलाई अगाडि राख्ने छु धेरै धेरै धन्यवाद हजुर ।’

एलिना बिगत ५ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । सानैदेखि संगीतमा रुचि राख्दै आएकी एलिनाले ५ वर्ष अघि रेष्टुरेन्टमा गीत गाउँदै संगीतको दुनियाँ प्रवेश गरेकी थिईन् । रेष्टुरेन्टमा गाउँदै गरेकी एलिनालाई साथीहरु र परिवारले गीत गाउनसक्छौ भनेर हौसला दिएका थिए । त्यसपछि उनी औपचारिक रुपमा संगीत सिक्नतर्फ लागिन् । संगीत सिक्दै गर्दा ब्याण्डको स्थापना गर्ने सल्लाह भएपछि उनले साथीहरुसँगै मिलेर न्यू मेलोडियस ब्याण्ड स्थापना गरिन् । ब्याण्ड स्थापना भएपछि उनले ब्याण्ड मार्फत नै प्रस्तुतिहरु दिन सुरु गरेकी थिईन् । उनको ब्याण्डले पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी भएर प्रस्तुतिहरु दिने गरेको छ । न्यु मेलोडियस ब्याण्डले करिब २ वर्षदेखि सांगितिक प्रस्तुतिहरु दिँदै आएको छ । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*