सुरेश लामाको ३ भाईरल प्रस्तुतिहरु

१९ माघ २०७७, सोमबार ११:३९
Featured Video Play Icon

मकवानपुर, १९ माघ । वाईवाई नेपाल स्टारका उपविजेता सुरेश लामा यतिखेर चर्चाको शिखरमा छन् । शोमा भर्सटाईल गायकका रुपमा चिनिएका सुरेशको मेलोडीयस आवाजलाई निर्णायक र दर्शकहरुले निक्कै रुचाएका छन् । सुरेशले नेपाल स्टारमा विभिन्न चर्चित प्रस्तुतिहरु दिएका छन् । ती प्रस्तुतिहरुमध्ये केही प्रस्तुतिहरु वाईवाई नेपाल स्टारकै सर्वाधिक रुचाईएका १० उत्कृष्ट भिडियोहरुभित्र पनि परेका छन् । यस भिडियो सामग्रीमा सुरेशले नेपाल स्टारको स्टेजमा दिएका ३ चर्चित प्रस्तुतिहरुका बारेमा चर्चा गर्दैछौँ । सुरेशका यी प्रस्तुतिहरु दर्शक भ्युजका आधारमा क्रमबद्ध रुपमा राखिएको छ । त्यसैले केही हप्ताअघि मात्रै उनले दिएका चर्चित प्रस्तुतिहरु यो लिष्टम नहुन सक्छन् । आउनुहोस् यो काउनडाउनलाई सुरु गरौँ । हेर्नुहोस् भिडियो–

नम्बर ३ फुलबुट्टे सारी– सुरेश लामाको चर्चित प्रस्तुतिहरुमध्ये सर्वाधिक हेरिएको तेस्रो नम्बरको प्रस्तुतिमा फुलबुट्टे सारी बोलको गीत रहेको छ । उनले यो गीत उत्कृष्ट ६ को प्रस्तुतिका क्रममा गाएका थिए । उत्कृष्ट ६ को प्रस्तुतिसँगै उनी यसै गीत गाएको दिनमा उत्कृष्ट ५ का लागि छनौट पनि भएका थिए । रक मेलोडीमा गाएका सुरेशले गीतलाई न्यायपूर्वक गाएको भन्दै फुलबुट्टे सारी गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीले पनि उनको प्रशंसा गरेका थिए । निर्णायक आलोक श्री र अञ्जु पन्तले पनि उनको आलाप तथा आवाजको प्रशंसा गरेका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले उठेरै सम्मान गरेका थिए । सुरेशको यो प्रस्तुतिलाई जनवरी १२, २०२१ मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई ४२ हजार ६ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा १ हजार ९ सय लाईक र करिब एक सय वटा कमेन्टहरु गरिएका छन् ।

नम्बर २ मेरी आमा र छोडी गए पाप लाग्ला– सुरेश लामाको चर्चित प्रस्तुतिहरुमध्ये सर्वाधिक हेरिएको दोस्रो नम्बरको प्रस्तुतिमा उनले अडिसन राउण्डमा गाएका गीतहरु छन् । तिनै हुन् तिनै मेरी आमा र छोडी गए पाप लाग्ला बोलको उनको प्रस्तुति दोस्रो नम्बरमा छ । सुरेशको यो प्रस्तुति वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको चौथो नम्बरमा पनि पर्न सफल भएको छ । उनले अडिसनमा सुरुमा ‘तिनै हुन् मेरी आमा’ बोलको गीत गाएका थिए । पहिलो गीतबाट निर्णायकहरुको मन जितेका सुरेशले त्यसपछि ‘छोडी गए पाप लाग्ला’ बोलको गीत गाएका थिए । दोस्रो गीतबाट निर्णायकहरुको प्रशंसा पाएका सुरेश दोस्रो राउण्डका लागि छनौट भएका थिए । उनीमा निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । तर उनी अहिले फाईनलसम्मै पुगिसकेका छन् । उनको यो प्रस्तुतिलाई जुलाई ३, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ३० हजार ९ सयभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ७ सय लाईक र १ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।

नम्बर १ मर्न बरु गाह्रो हुन्न– सुरेश लामाको चर्चित प्रस्तुतिहरुमध्ये सर्वाधिक हेरिएको पहिलो नम्बरको प्रस्तुतिमा उनले ऋषभ राउण्डमा गाएको गीत रहेको छ । सुरेशको यो प्रस्तुति वाईवाई नेपाल स्टारको सर्वाधिक हेरिएको प्रस्तुतिको पनि तेस्रो नम्बरमा रहेको छ । सुरेशले ऋषभ राउण्डमा गायक फत्तेमान राजभण्डारीको ‘मर्न बरु गाह्रो हुन्न’ बोलको गीत गाएका थिए । प्रस्तुतिका क्रममा हरेक शब्द र अन्तराहरुमा निर्णायकहरुलाई ताली बजाउन र प्रशंसा गर्नका लागि जुर्मुराउन सफल सुरेशले सबै निर्णायकहरुको मन जितेका थिए । उनको प्रस्तुतिपश्चात निर्णायक आलोक श्री र रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिका क्रममा निर्णायक अञ्जु पन्तले उनको सुरमा सुर समेत मिलाएका थिए । उनको प्रस्तुतिले गायक फत्तेमान राजभण्डारीको आवाजलाई पनि न्याय गरेको भन्दै निर्णायक रामकृष्णले सुरेशको प्रशंसा गरेका थिए । नेपाली साँगितिक क्षेत्रमा सुरेश जस्तो गायकको आवश्यकता रहेको समेत ढकालले बताए । निर्णायकहरुले उनको प्रस्तुतिको खुलेर प्रशंसा गर्दै गारो गीतलाई पनि न्याय गर्न सकेकोमा ह्याट्स अप गरेका थिए । उनको यो प्रस्तुतिलाई अक्टोबर १५, २०२० मा युट्युब मार्फत सार्वजनिक गरिएको थियो । यो सामग्री तयार पार्दाको समयमा यस प्रस्तुतिलाई १ लाख ३८ हजारभन्दा बढी पटक हेरिएको छ । भिडियोमा ३ हजार ४ सय लाईक र २ सयभन्दा बढी कमेन्टहरु गरिएका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*