
तामाङ कलाकारहरुले हेटौँडामा ल्होछार विशेष साँस्कृतिक कार्यक्रम गर्ने

मकवानपुर, १८ माघ । तामाङ समुदायको साँस्कृतिक पर्व २८५७ औँ लाङ ल्हो (गाई वर्ग) सोनाम ल्होछारको अवसरमा हेटौँडामा ल्होछार विशेष वृहत सास्कृतिक कार्यक्रम हुने भएको छ । यही माघ ३० गते मकवानपुर तामाङ कलाकार संघको आयोजनामा हेटौँडाको टिसिएन चौरमा साँस्कृतिक कार्यक्रमको आयोजना गर्न लागिएको हो । साँस्कृतिक कार्यक्रम बारे आज हेटौँडामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
साँस्कृतिक कार्यक्रममा तामाङको भेषभुषा, सँस्कृति र मौलिक खानाको प्रदर्शन गरिनुकासाथै लामा झाँक्रीहरुको विशेष प्रस्तुति पनि रहने कार्यक्रमका संयोजक तथा मकवानपुर तामाङ कलाकार संघका अध्यक्ष धिरेन लामाले जानकारी दिनुभयो । यस वर्ष संघकै कलाकारहरु पर्याप्त रहेकोले मकवानपुरमै रहेका तामाङ कलाकारहरु मार्फत साँस्कृतिक प्रस्तुति प्रस्तुत गरिने संयोजक लामाले बताउनुभयो । कार्यक्रमलाई वृहतरुपमा संचालन गर्नका लागि संघका अध्यक्ष लामाको संयोजकत्वमा २५ सदस्यीय ल्होछार विशेष बृहत साँस्कृतिक कार्यक्रम मूल आयोजक समिति पनि गठन गरिएको छ । समितिको सह-संयोजक अनराज मोक्तान, आर्थिक संयोजक माया घलान, प्रचारप्रसार संयोजक विक्रम लुङ्वा, मञ्च तथा साउण्ड सिस्टम व्यवस्थापन संयोजक रबिन्द्र थिङ, कलाकार संयोजक सुजना रुम्बा, अतिथि सत्कारमा राधिका स्याङ्तान, मायाको चिनो व्यवस्थापन संयोजक बिमला थिङ, स्टल व्यवस्थापनमा सोयल लामा र झाँकी व्यवस्थापनमा साम्तेन मोक्तानलाई जिम्मेवारी दिइएको छ । त्यस्तै अन्य विभिन्न तयारीका लागि पनि विशेष व्यक्तिहरुलाई जिम्मेवारी प्रदान गरिएको छ ।
मकवानपुर जिल्लामा विगतका वर्षहरुमा जिल्लाका गुम्बा, घेदुङ, तामाङ गुठी लगायतले संयुक्त रुपमा ल्होछार महोत्सव गर्दै आएका थिए । यस वर्ष भने मकवानपुर तामाङ कलाकार संघको आयोजनामा वृहत कार्यक्रम हुने भएको हो ।