यति रोमान्टिक बन्यो भुपेन्द्र थापा मगरको ‘लिन आउँदैछु’

१३ माघ २०७७, मंगलवार १६:३६

मकवानपुर, १३ माघ । नेपाल आईडल तथा नेपाल स्टार लगायतका शोबाट चर्चामा आउन सफल गायक भुपेन्द्र थापा मगरको पहिलो अफिसियल म्युजिक भिडियो सार्वजनिक भएको छ । भुपेन्द्रको ‘लिन आउँदैछु’ बोलको म्युजिक भिडियो उनकै अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भुपेन्द्रको सुमधुर आवाजमा सजिएको रोमान्टिक गीतलाई मनिश गोदारले लेखेका हुन् ।

घरमै प्रोडक्सनमा रेकर्ड गरिएको गीतलाई फिरोज बज्राचार्यले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतको शब्द अनुसारको म्युजिक भिडियोले गीतलाई थप उचाईमा पुराएको छ । गीतमा एक प्रेमिल जोडीको कथा छ जो आफ्नो प्रेमलाई पूर्णता दिन चाहान्छन् । जीवनमा विभिन्न कारणले आएका बाधालाई छिचोल्दै एउटा प्रेमिले प्रेमिकालाई लिन आउँदै गरेको वाचालाई गीतमा कलात्मक तरिकाले प्रस्तुत गरिएको छ । गीतको म्युजिक भिडियोमा सिम्स थापा र स्नेहा राउत थापाले अभिनय गरेका छन् । म्युजिक भिडियोको छायाँकन तथा सम्पादन सन्तोष क्षेत्रीले गरेका छन् ।

भैरहवा निवासी भुपेन्द्रका यसअघि नै केही कभर गीतहरु पनि चर्चामा आएका थिए । सुमधुर आवाजका कारण गायन रियालिटी शोमा तहल्का मच्चाएका भुपेन्द्रले नेपाल आईडल र नेपाल स्टारमा पनि सहभागिता जनाएका थिए । यसअघि कभर गीत र रियालिटी शोमार्फत दर्शक श्रोताहरुको मन जितेका भुपेन्द्रले पहिलो अफिसियल गीतबाट पनि दर्शक र श्रोताहरुको मन जित्नसक्ने देखिएको छ । हेर्नुहोस् भुपेन्द्रको गीत–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*