आवाजका धनी सिद्धान्त खड्काको वियोगान्त कथा

७ माघ २०७७, बुधबार १४:५८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ७ माघ । नेपालको चर्चित गायन रियालिटी शो वाईवाई नेपाल स्टारमा नेपाल स्टार बन्ने चाहाना बोकेर आवाजको प्रतिस्पर्धामा उत्रिएका सिद्धान्त खड्का शोमा आवाजकै कारण चिनिए । दमदार आवाज भएका सिद्धान्तले शोमा नाम मात्रै कमाएनन् बरु स्वदेश तथा विदेशमा लाखौँ दर्शक र श्रोताहरु पनि कमाए । हरेक प्रस्तुतिमा निर्णायकहरुको स्टाण्डिङ अवेशन पाईरहेका सिद्धान्तको नेपाल स्टार बन्ने सपना उत्कृष्ट ६ सम्म आईपुगेर रोकियो । शोमा पावरप्याक पफोमरका रुपमा चिनिएका सिद्धान्तले भोटकै कारण शो छोड्नुपर्यो । प्रतियोगिताको फाईनलसम्म पुग्नसक्ने बलियो आधार भएका सिद्धान्त बाहिरिएपछि दर्शक र निर्णायकहरुले पनि आश्चर्य मान्दै कमेन्टहरु गरेका थिए । शोमा दमदार प्रस्तुति दिईरहँदा सिद्धान्तलाई सबैले ईमान्दार, खुशी अनि हँसिलो मुहारमा देखेका थिए । हुन पनि उनी शोमा दुःखी भएको विरलै देखियो । आफुसँगै प्रतिस्पर्धामा भएका साथीहरु शोबाट बाहिरिँदा मात्र सिद्धान्त केही दुःखी देखिन्थे अरु बेला उनी बलियो मुटु भएका प्रतियोगीका रुपमा देखिएका थिए । तर फाईनालिष्टहरु छानिएको दिनमा उनले फेरि एकपटक स्टेजमा तहल्का मच्चाउँदै ईन्ट्री गरे । हुन त त्यो वाईल्ड कार्ड ईन्ट्री थिएन तर उनी विशेष प्रस्तुतिका लागि शोमा प्रवेश गरेका थिए । त्यो दमदार प्रस्तुतिपछि जब उनका बुवाको सन्देश सिद्धान्तलाई देखाईयो तब हँसिलो सिद्धान्तको वास्तविक दुःखद कथा दर्शक र श्रोताहरुमाझ पुग्यो । हेर्नुहोस् उनको जीवनकथाको भिडियो–

ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका थिए । उनले कतिपय प्रस्तुतिहरुमा निर्णायकहरुलाई स्पिचलेस समेत बनाईदिएका थिए । झापाका २७ वर्षीय सिद्धान्त यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सिद्धान्तले उत्कृष्ट ६ को छनौटको क्रममा पहिलो पटक एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । दर्शक र श्रोताहरुलाई उनका यति मात्रै कथा थाहा थियो तर विशेष प्रस्तुतिपश्चात उनको वास्तविक कथासँग दर्शक श्रोताले पनि नजिक हुने मौका पाए । दमदार प्रस्तुतिमा निर्णायकहरुको स्टाण्डिङ अवेशन समेत पाएका उनले विशेष प्रस्तुतिको मौका दिएकोमा सबैलाई धन्यवाद दिए । त्यसपछि उनको बुवाको आवाज स्टेजमा गुञ्जिएको थियो ।

१५ वर्षको उमेरमा एउटा आँखा गुमाएका सिद्धान्तका बुवाआमा र एउटी बहिनी पनि छिन् । उनका बुवाले गरेको संघर्षको एउटा छुट्टै कथा पनि छ । जीवनमा सहज बनाईदिने आफ्नो जग्गा जमिन खोलाका कारण गुमाएपछि सिद्धान्तको परिवार रेडक्रसको सहयोगमा पाएको पाल र बाँसको सानो छाप्रोमा बस्दै आएको थियो । सिद्धान्तलाई जेनतेन पढाईरहेका उनका बुवाले संगीत सिक्न र अध्ययन गराउन दुबैतिर खर्च धान्न नसकेपछि सिद्धान्तलाई पढाई र संगीतमध्ये एउटा छोड्नु भनेका थिए । सिद्धान्तले पढाई छोडेर संगीतलाई रोजे । सिद्धान्तले आफुले चाहेको क्षेत्रमा नै केही गरोस भन्ने बुवाआमाको चाहाना भएको पनि उनका बुवाले बताए ।

बुवाको सन्देशपछि सिद्धान्तले मन थाम्न सकेनन् । आफ्नो आमाबुवालाई सानो चिटिक्क परेको घरमा राख्ने सपनालाई उनले सबै दर्शकहरुमाझ साझा गरे । आफ्नो सपना सुनाउँदै गर्दा सिद्धान्त भक्कानिएका थिए । सिद्धान्त भक्कानिदै गर्दा उनका आमा र बहिनीले उनलाई सम्हालेका थिए । सिद्धान्तलाई विशेष अतिथि शम्भुजित बास्कोटा र निर्णायक आलोक श्रीले उनलाई सँगीतको लागि अफर पनि गरेका थिए । सिद्धान्तको बुवाआमाको लागि घर बनाउने सपना भने तत्कालै पुरा हुने भएको छ । शोही शोका दौरान सिद्धान्तलाई वृज सिमेन्टले घर बनाउन सहयोग गरेको छ । आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत पुष्पतारा केडिया सेवा फाउण्डेशनको सहकार्यमा वृज सिमेन्टले उक्त सहयोग गरेको हो । वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लिका कार्यकारी निर्देशक मोहित केडियाले स्टेजबाटै उनलाई सहयोगको घोषणा गरेका थिए । सिद्धान्तले पनि आफ्नो सपना पुरा गर्न मदत गरेकोमा वृज सिमेन्ट टिमलाई आभार प्रकट गरेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*