अमिन बाहिरिँदा धरधरी रोईन अञ्जु पन्त, सर्वाधिक अवार्ड जित्दै बाहिरिए अमिन

५ माघ २०७७, सोमबार २२:२९
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ माघ । नेपालको आफ्नै गायन रियालिटि शो वाईवाई नेपाल स्टारमा नेपाली माईकल ज्याक्सनका नामले चर्चित भएका प्रतियोगी अमिन परियार शोबाट बाहिरिएका छन् । फाईनलको नजिकसम्म पुगेका अमिन अन्तिम ४ छनौटका क्रममा बाहिरिएका हुन् । सर्वाधिक चर्चामा रहेका अमिनले शोमा सबैभन्दा बढी अवार्ड पनि जितेका छन् । उनले जत्ति अवार्ड शोमा अरु कुनै प्रतियोगीहरुले जितेका छैनन् । वाईवाई नेपाल स्टारमा ३ वटा अवार्ड जित्ने उनी एकमात्र प्रतियोगी हुन् । बाहिरिएको हप्ता पनि उनले पफोमर अफ डे अवार्ड जितेका थिए । तर उनी अवार्ड जितेकै दिनमा शोबाट बाहिरिएका थिए । अमिन बाहिरिँदै गर्दा निर्णायकका रुपमा रहेकी गायिका अञ्जु पन्त स्टेजमै रोएकी थिईन् । स्टेजमै धरधरी रोएकी अञ्जुलाई निर्णायकहरुले सम्हालेका थिए । अमिन बाहिरिएपछि दुःखी भएका निर्णायकहरुले उनको उज्ज्वल भविष्यको कामना पनि गरेका छन् । निर्णायक आलोक श्रीले एउटा राम्रो प्रतिभालाई केही समयको लागि मञ्चबाट बिदा गरिएको भन्दै अमिन संसारभरिका दर्शकहरुको मनमा बस्नसक्ने असल प्रतिभा भएको पनि बताए । उनलाई रियल रकस्टार भएको भन्दै उनी सधैँ आफुहरुको मनमा बस्ने बताए । निर्णायक रामकृष्ण ढकालले पनि आफुलाई धेरै दुःख लागेको र स्तब्ध भएको भन्दै अमिन फाईनलको हकदार भएको बताएका थिए । निर्णायक अञ्जु पन्तले आफ्नो हृदयमा चोट लागेको भन्दै अमिनलाई आफ्नो हारलाई शक्तिको रुपमा बदल्न पनि आग्रह गरिन् । हेर्नुहोस् भिडियो–

निर्णायक आलोक श्रीले आफ्नै लगानीमा अमिनलाई गीतका साथै म्युजिक भिडियो तयार पार्ने अफर पनि दिएका छन् । स्टेजबाट बिदा हुँदै गर्दा अमिनले पनि सबै दर्शकहरुलाई धन्यवाद दिँदै आफुले केही समय विश्राम लिएर पून संगीत क्षेत्रमा फर्किने बताए । उत्कृष्ट ४ को छनौटका क्रम अमिनले रकिङ प्रस्तुति दिएका थिए । उनले ‘रेशम’ बोलको गीतमा स्टेज तताएका थिए । उनको प्रस्तुतिमा विशेष अतिथि शम्भुजित बास्कोटाले उनको प्रस्तुतिलाई बब्बाल प्रस्तुति भन्दै हाई रेञ्जको गीत गाउन निक्कै सफल भएको बताए । अमिनको खुलेर प्रशंसा गर्दै उनले उनी शोमा मात्र नभई बाहिर पनि चर्चित रहेको बताए ।निर्णायक रामकृष्ण ढकालले उनको प्रस्तुतिमा स्टाण्डिङ अवेशन दिँदै आफुले कन्सर्ट हेरिरहेको महशुस भएको बताए । निर्णायक अञ्जु पन्तले अमिनको प्रस्तुतिले आनन्द मिल्ने भन्दै आफु हृदयदेखि नै उनको प्रशंसक भएको बताएकी थिईन् । निर्णायक आलोक श्रीले पनि उनको प्रस्तुतिलाई स्टाण्डिङ अवेशन दिँदै उनको प्रशंसा गरेका थिए । उनले सोही प्रस्तुतिबाट नै पफोमर अफ द डे अवार्ड जितेका थिए । अमिनले उत्कृष्ट ६ को छनौटका क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले उत्कृष्ट ५ छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड र उत्कृष्ट ४ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले शोमा ३ वटा अवार्डहरु प्राप्त गरेका छन् । अमिनले उत्कृष्ट ७ छनौटका क्रममा, उत्कृष्ट ६ छनौटका क्रममा, उत्कृष्ट ५ छनौटका क्रममा र उत्कृष्ट ४ छनौटका क्रममा गरी ४ पटक बटम थ्रीको सामना गरेका थिए ।

पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । पोखराको एयरपोर्ट साईटमा अवस्थित सुकुम्बासी बस्तीबाट जन्मी हुर्केर जीवनयात्रा अगाडि बढाएका अमिन अहिले पनि सोही क्षेत्रमा बसोबास गर्छन् । ७ जनाको परिवारमा हुर्किएका अमिनले बुवाको दुःखलाई नजिकबाट चिन्ने मौका पाएका छन् । टुरिष्ट गाईडका रुपमा कार्यरत बुवाले अमिनलाई अगाडि बढाउनका लागि सहेको सहयोग गरेका छन् । हाउसपेन्टिङ देखि होटल लाईनसम्म संघर्ष गरेका बुवाको कथा सुन्दा अमिनका आँखा रसाउँछन् । सानैदेखि गीत गाउन र सांगितिक बाजाहरु ब्जाउन रुचाउने अमिनलाई उनका बुवाले संगीत सिक्न खर्च दिन त सकेनन् तर अमिनले आफ्नो सांगितिक यात्रालाई रोकिन दिएनन् । आफै सक्रिय भएर ब्याण्ड स्थापना गरेका अमिनलाई ब्याण्डकै मेम्बर र अग्रजहरुले अगाडि बढ्न हौसला दिएका थिए । ब्याण्डमार्फत काम गर्दै जाँदा शो गरेवापत एक हजार रुपैयाँ पाउने गरेका अमिनले त्यही पैसालाई संगीत क्षेत्रमा लाग्ने बाटो बनाए । पकेट खर्च मात्रै बोकेर अगाडि बढेका उनी झुप्रोबस्तीबाट लेकसाईडको रमझममा गाउने सपना देख्थे । उनका ती सपनाहरु आमा र बुवाको मदतले पुरा हुँदै गएको अमिन बताउँछन् । उनी आफ्नो लागि ३ जना दाईहरुले गरेको माया र दुःखलाई सदैव सम्झन चाहान्छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*