नेपाल स्टारका उत्कृष्ट ५ प्रतियोगीहरु

२८ पुष २०७७, मंगलवार ११:५५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २८ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ मा उत्कृष्ट ५ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट ६ मा पुगेका चर्चित प्रतियोगी सिद्धान्त खड्का दर्शक भोटका आधारमा बाहिरिएपछि शोका उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ५ प्रतियोगीहरुमा लक्ष्मण लिम्बु, सुरेश लामा, एलिना गुरुङ, सन्देश बम्जन लामा र अमिन परियार रहेका छन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट ५ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

लक्ष्मण लिम्बु– नेपाल स्टारको उत्कृष्ट ५ मा पुगेका पहिलो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । उत्कृष्ट ५ को छनौटको क्रममा उनले ‘छातिमा मेरो’ बोलको गीतमा रकिङ प्रस्तुति दिएका थिए । उनको प्रस्तुतिलाई निर्णायक आलोक श्रीले हालसम्मकै सबैभन्दा उत्कृष्ट भएको बताएका थिए । विशेष अतिथि राजनराज शिवाकोटी र निर्णायक अञ्जु पन्तले पनि लक्ष्मणको प्रस्तुतिको खुलेर प्रशंसा गरेका थिए । उनले उत्कृष्ट ७ छनौटका क्रममा पफोमर अफ द डे अवार्ड जितेका थिए ।

सुरेश लामा– नेपाल स्टारको उत्कृष्ट ५ मा पुगेका दोस्रो प्रतियोगी हुन् सुरेश लामा । उनले उत्कृष्ट ५ छनौटका क्रममा ‘फुलबुट्टे सारी’ बोलको गीत गाएर निर्णायकहरुको मन जितेका थिए । रक मेलोडीमा गाएका सुरेशले गीतलाई न्यायपूर्वक गाएको भन्दै फुलबुट्टे सारी गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीले पनि उनको प्रशंसा गरेका थिए । निर्णायक आलोक श्री र अञ्जु पन्तले पनि उनको आलाप तथा आवाजको प्रशंसा गरेका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले उठेरै सम्मान गरेका थिए । उनले उत्कृष्ट ७ को छनौटका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड प्राप्त गरेका थिए ।

एलिना गुरुङ– नेपाल स्टारको उत्कृष्ट ५ मा पुगेकी तेस्रो प्रतियोगी हुन् एलिना गुरुङ । एलिनाले उत्कृष्ट ५ छनौटको क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड पनि जितेका थिए । उनले ‘को हो त्यो’ बोलको गीत गाएर निर्णायक र दर्शकहरुको मन जितेकी थिईन् । उनको प्रस्तुतिमा निर्णायक अञ्जु पन्तले झक्कास प्रस्तुति भन्दै उनको प्रशंसा गरेकी थिईन् । एलिनाको प्रस्तुतिलाई उत्कृष्ट भन्दै निर्णायक आलोक श्री र रामकृष्ण ढकालले पनि उनको प्रशंसा गरेका थिए । एलिना नै नेपाल स्टारमा अवार्ड जित्ने पहिलो महिला प्रतियोगी पनि हुन् ।

सन्देश बम्जन लामा– नेपाल स्टारको उत्कृष्ट ५ मा पर्न सफल चौथो प्रतियोगी हुन् सन्देश बम्जन लामा । उत्कृष्ट ५ को प्रस्तुतिका क्रममा सन्देशले नशालु तिम्रो आँखैले बोलको गीत गाएका थिए । उनको प्रस्तुतिमा निर्णायक रामकृष्ण ढकालले स्टाण्डिङ अवेशन दिएका थिए । उनको प्रस्तुतिलाई निर्णायक रामकृष्ण ढकालले एपिसोडकै सबैभन्दा राम्रो भएको बताएका थिए । निर्णायक आलोक श्री र निर्णायक अञ्जु पन्तले उनको आवाजको प्रशंसा गर्दै दमदार प्रस्तुति दिएका थिए । सन्देशले उत्कृष्ट ८ छनौटको क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए ।

अमिन परियार– नेपाल स्टारको उत्कृष्ट ५ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् अमिन परियार । उत्कृष्ट ५ को छनौटका क्रम अमिनले रकिङ प्रस्तुति दिएका थिए । उनले ‘गाउँ गाउँबाट उठ’ बोलको गीतलाई रकिङ मुडमा प्रस्तुत गरेकोले निर्णायकहरुले प्रशंसा गरेका थिए । उनको प्रस्तुतिमा विशेष अतिथि, निर्णायक र सहभागीहरुले स्टाण्डिङ अवेशन दिएका थिए । निर्णायक आलोक श्रीले उनको प्रशंसा गर्दै भविष्यको लागि समेत शुभकामना दिएका थिए । निर्णायक अञ्जु पन्त र रामकृष्ण ढकालले पनि उनको प्रस्तुतिको प्रशंसा गर्दै स्यालुट समेत गरेका थिए । उनले सोही प्रस्तुतिबाट नै एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । अमिनले उत्कृष्ट ६ को छनौटका क्रममा पहिलो पटक पफोमर अफ द डे अवार्ड जितेका थिए । उनले अहिलेसम्म २ वटा अवार्डहरु प्राप्त गरेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*