तपेश्वर कमेडी च्याम्पियनबाट आउट, गोल्डेन कि पनि छिनियो

२७ पुष २०७७, सोमबार ०८:४५
Featured Video Play Icon

मकवानपुर, २७ पुस । कमेडी च्याम्पियन सिजन २ का तेस्रो गोल्डेन कि बिजेता तपेश्वर सिंहलाई कमेडी च्याम्पियन टिमले शोबाट निष्काशन गरेको छ । केही दिनअघि अपलोड गरिएको तपेश्वरको कमेडी विवादमा तानिएपछि कमेडी च्याम्पियन टिमले उनलाई शोबाट निष्काशन गरेको हो । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा तपेश्वर सिंहले प्रस्तुत गरेको सामग्री कपि गरिएको पाएपछि प्रोडक्सन टिमले यसअघि नै केही निर्णय गर्ने भन्दै आपत्ति जनाएको थियो । प्रोडक्सन टिमले आधिकारिक फेसबुक पेजमार्फत तपेश्वरको नाम नतोकी यस्तो लेखेको थियो –‘कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनको अडिसनको कन्टेन्ट एक युटयुबरको कमेडी कन्टेन्टसँग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ । यसलाई लिएर हाम्रो टिमका बिच छलफल जारी छ र शिघ्र उचित कदम चालिने छ । ’ यो आधिकारिक धारणा आएको केही दिनमा नै अर्थात जवनरी १० तारिखमा फेसबुक पेजबाटै आधिकारिक धारणा सार्वजनिक गर्दै कमेडी च्याम्पियन परिवारले तपेश्वरलाई शोबाट निष्काशन गरेको जानकारी दिएको हो । कमेडी च्याम्पियनको आधारिक धारणामा यस्तो लेखिएको छ–‘ कमेडी च्याम्पियन सिजन २ मा हालै भएको कंटेन्ट मेल खान गएको विषयलाई लिएर कमेडी च्याम्पियन परिवार यो निर्णयमा पुगेको छ, गोल्डेन की विजेता तपेश्वर सिंहको गोल्डेन की फिर्ता लिइँदै उहाँलाई टप २४ बाट निष्काशन गरिएको छ । उहाँको ठाउँमा अक्जल पूजारीलाई टप २४ मा प्रवेश दिइएको छ ।’ अरूबाट सिकौँ तर सिर्जना गर्दा नितान्त आफ्नो होस्, त्यसले नै एक कलाकारको कलालाई सुन्दर र भिडबाट अलग बनाउँछ ।’ हेर्नुहोस् भिडियो सामग्री–

तपेश्वरले फिजिकल अडिसनमा निर्णायकहरुलाई खुबै हँसाएका थिए । उनी मधेशी रोष्टरका नामले पनि परिचित छन् । उनी एक युट्युबर पनि हुन् । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा उनले एक ईमान्दार नेताका बारेमा व्यङ्ग्य गरेका थिए । उनले आफैलाई एउटा ईमान्दार नेताका रुपमा प्रस्तुत गर्दैगर्दा ईमान्दार नेताको वास्तविक अनुहारलाई व्यङ्ग्य गरेका थिए । उनको प्रस्तुतिमा निर्णायकहरु यति धेरै हाँसे कि उनले गोल्डेन कि नै प्राप्त गरेका थिए । तर उनले प्रस्तुत गरेको कमेडी एक भारतीय युट्युबरको कमेडीबाट कपि गरिएको पाएपछि विवाद भएको थियो । युट्युबमा उनको प्रस्तुति अपलोड भएसँगै दर्शकहरुले ओरिजिनल कन्टेन्टलाई समेत लिंकमा राखेका थिए । ओरिजिनल कन्टेट अनुसार हेर्दा तपेश्वरका धेरै जसो किस्साहरु मिलेको देखिएको थियो । केहीमा भने उनले मौलिकता पनि मिसाएका थिए । तपेश्वकार कमेडीहरु शतिश राय नामक युट्युबरको सामग्रीसँग मिलेको थियो ।

शतिसको यो सामग्रीसँग तपेश्वरको सामग्री मिलेपछि कमेडी च्याम्पियन परिवारले कडा निर्णय लिँदै उनको गोल्डेन कि फिर्ता लिनुका साथै उनलाई शोबाट निष्काशन गर्ने निश्कर्षमा पुगेको हो । तपेश्वरको ठाउँमा फिजिकल अडिसनमा सहभागी भएका अर्का प्रतियोगी अक्जल पुजारीलाई स्थान दिइएको छ । अब अक्जल उत्कृष्ट २४ मा प्रवेश भएका छन् । कमेडी च्याम्पियन अब छिट्टै प्रसारणमा आउँदैछ । शोका निर्देशक विशाल भण्डारीका अनुसार शो फ्रेब्रुरी ६ देखि प्रसारण हुनेछ । दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । कमेडी च्याम्पियनको यो सिजन कान्तिपुर टिभी, रेडियो कान्तिपुर र ओएसआर डिजिटल मार्फत हेर्नसकिनेछ । शोको उत्कृष्ट १५ देखि भोटिङ लाईन खुल्नेछ भने विजेताले एउटा कारसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*