सबैको मन जित्दै बाहिरिए सिद्धान्त खड्का

२७ पुष २०७७, सोमबार ०८:४१
Featured Video Play Icon

मकवानपुर, २७ पुस । चर्चित गायन रियालिटी शो वाईवाई नेपाल स्टारका चर्चित प्रतियोगी सिद्धान्त खड्का शोबाट बाहिरिएका छन् । शनिबार बटम थ्रीमा परेसँगै उनी बाहिरिएका हुन् । उत्कृष्ट ६ सम्म पुगेका सिद्धान्त पावरप्याक पफोमरका रुपमा चिनिएका थिए । सबै निर्णायक र धेरै दर्शकहरुको मन जित्न सफल सिद्धान्त दर्शक भोट र निर्णायक मतको आधारमा बाहिरिएका हुन् । प्रतियोगिताको फाईनलसम्म पुग्नसक्ने बलियो आधार भएका सिद्धान्त बाहिरिएपछि दर्शकहरुले पनि आश्चर्य मान्दै कमेन्टहरु गरेका छन् । शनिबार अमिन परियार र सन्देश बम्जन लामासँगै उनी बटम थ्रीमा परेका थिए । सिद्धान्त बाहिरिएसँगै अमिन र सन्देश सुरक्षित भएका छन् । शनिबार आफ्नो अन्तिम प्रस्तुतिमा सिद्धान्तले शिव परियारको ‘टाढाको साथी’ बोलको गीत गाएर तहल्का मच्चाएका थिए । उनको प्रस्तुतिमा निर्णायकहरु रमाएका थिए । सिद्धान्तले सधैँ सतप्रतिशत न्याय गर्ने प्रस्तुति दिने गरेको भन्दै उनलाई निर्णायकहरुले प्रशंसा गरेका थिए । उनको आवाजको प्रशंसा गर्दै निर्णायकहरुले लोभलाग्दो आवाजलाई सदैव कायम राख्न पनि उनलाई आग्रह गरेका थिए । उनी बाहिरिएसँगै निर्णायकहरुले पनि दुःख व्यक्त गर्दै राम्रो आवाजलाई भोट दिन पनि आग्रह गरेका थिए । सहभागीहरु उनी बाहिरिएकोमा दुखित भएका थिए । सिद्धान्तले पनि आफ्नो दर्शक तथा सहयोगीहरुलाई धन्यवाद दिएका थिए । हेर्नुहोस् भिडियो सामग्री–

ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका थिए । उनले कतिपय प्रस्तुतिहरुमा निर्णायकहरुलाई स्पिचलेस समेत बनाईदिएका थिए । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सिद्धान्तले उत्कृष्ट ६ को छनौटको क्रममा पहिलो पटक एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*