कमेडी च्याम्पियनका प्रतियोगी विवादमा

२५ पुष २०७७, शनिबार १९:४७
Featured Video Play Icon

मकवानपुर, २५ पुस । कमेडी च्याम्पियन सिजन २ प्रसारण अगावै चर्चामा छ । पहिलो सिजनमा तहल्का मच्चाएको यस शोले दोस्रो सिजनमा पनि प्रसारण अगावै चर्चा पाएको हो । फिजिकल अडिसनबाट उत्कृष्ट २४ प्रतियोगीहरु छानिएसँगै अहिले यसको ट्रेलर पनि चर्चामा छ । तर केही दिन अघि अपलोड गरिएको एक प्रतियोगीको कमेडी प्रस्तुति भने विवादमा तानिएको छ । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा गोल्डेन कि पाउने तेस्रो प्रतियोगी तपेश्वर सिंहले प्रस्तुत गरेको सामग्री कपि गरिएको पाएपछि प्रोडक्सन टिमले समेत त्यसमा आपत्ति जनाएको छ । प्रोडक्सन टिमले आधिकारिक फेसबुक पेजमार्फत तपेश्वरको नाम नतोकी यस्तो लेखेको छ –‘कमेडी च्याम्पियन सिजन २ का एक कमेडीयनको अडिसनको कन्टेन्ट एक युटयुबरको कमेडी कन्टेन्टसँग मेल खान गएकोमा कमेडी च्याम्पियन परिवारको गम्भीर ध्यान आकर्षण भएको छ । यसलाई लिएर हाम्रो टिमका बिच छलफल जारी छ र शिघ्र उचित कदम चालिने छ । कमेडी च्याम्पियनलाई लिएर यहाँहरूको सदासयता, माया र चासो प्रति आभारी छौं । आगामी दिनमा पनि तपाईंहरूको यस्तै सल्लाह, सुझावलाई मनन गर्दै अघि बढ्ने प्रतिवद्दता व्यक्त गर्दछौँ ।’ हेर्नुहोस् भिडियो सामग्री–

कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट २४ मा पुगेका तेस्रो प्रतियोगी हुन् तपेश्वर सिंह । उनी सिराहा निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउने तेस्रो प्रतियोगी पनि हुन् । उनले फिजिकल अडिसनमा निर्णायकहरुलाई खुबै हँसाएका थिए । उनी मधेशी रोष्टरका नामले पनि परिचित छन् । उनी युट्युबर पनि हुन् । कमेडी च्याम्पियनको फिजिकल अडिसनमा उनले एक ईमान्दार नेताका बारेमा व्यङ्ग्य गरेका थिए । उनले आफैलाई एउटा ईमान्दार नेताका रुपमा प्रस्तुत गर्दैगर्दा ईमान्दार नेताको वास्तविक अनुहारलाई व्यङ्ग्य गरेका थिए । उनको प्रस्तुतिमा निर्णायकहरु यति धेरै हाँसे कि उनले गोल्डेन कि नै प्राप्त गरे । तर उनले प्रस्तुत गरेको कमेडी एक भारतीय युट्युबरको कपि कमेडीबाट कपि गरिएको पाएपछि अहिले विवाद भएको छ । युट्युबमा उनको प्रस्तुति अपलोड भएसँगै दर्शकहरुले ओरिजिनल कन्टेन्टलाई समेत लिंकमा राखेका छन् । ओरिजिनल कन्टेट अनुसार हेर्दा तपेश्वरका धेरै जसो किस्साहरु मिलेको देखिएको छ । केहीमा भने उनले मौलिकता पनि मिसाएका छन् । तपेश्वकार कमेडीहरु शतिश राय नामक युट्युबरको सामग्रीसँग मिलेका थिए ।

शतिसको यो सामग्रीसँग तपेश्वरको सामग्री मिलेपछि अब कमेडी च्याम्पियन टिमले कस्तो निर्णय लिनेछ भनेर दर्शकहरुमाझ कौतुहलता जन्माएको छ । कमेडी च्याम्पियन अब छिट्टै प्रसारणमा आउँदैछ । शोका निर्देशक विशाल भण्डारीका अनुसार शो फ्रेब्रुरी ६ देखि प्रसारण हुनेछ । दोस्रो सिजनका लागि ६ हजारभन्दा बढी डिजिटल अडिसन प्राप्त भएको थियो । जसबाट १ सय ८० प्रतियोगीहरुलाई फिजिकल अडिसनको लागि काठमाडौं बोलाइएको थियो । उत्कृष्ट २४ प्रतियोगीहरुमध्ये केही प्रतियोगीहरुलाई निर्णायकहरुले गोल्डेन कि दिएर सिधै उत्कृष्ट २४ मा तानेका थिए । बाँकी प्रतियोगीहरुभने निर्णायकहरुको अंक र निर्देशक टिमको छनौटका आधारमा उत्कृष्ट २४ मा परेका हुन् । कमेडी च्याम्पियनका निर्णायकहरुमा सिजन १ कै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा रहेका छन् । कमेडी च्याम्पियनको यो सिजन कान्तिपुर टिभी, रेडियो कान्तिपुर र ओएसआर डिजिटल मार्फत हेर्नसकिनेछ । शोको उत्कृष्ट १५ देखि भोटिङ लाईन खुल्नेछ भने विजेताले एउटा कारसँगै नगद २५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*