सुरेश लामाको मन छुने मार्मिक कथा

१८ पुष २०७७, शनिबार १८:४७
Featured Video Play Icon

चन्द्र घलान, १८ पुस । एउटा सुमधुर आवाज, जसले हरेक पुस्ताका मानिसहरुको मन छुन सक्छ अनि एउटा त्यस्तो जीवनकथा बोकेको आवाज जसले हृदयमा संगीतका तरंगहरु दौडाउन सफल हुन्छ । एउटा असल मानिसले आफ्नो सिमितता र क्षमतालाई बुझेर समय सँगसँगै चल्छ । तर समय सधैँ एउटै कहाँ रहन्छ र ? कहिलेकाँही लामो समयसम्म उसले केही गर्ने मौका पाउँदैन अनि चारैतिर पिल्सिएको आभाष गर्छ तर मानिसहरुले संसारमा भोग्ने यी दुःखहरुमा समानता छ । हामी सबैले भोग्ने दुःखहरु फरक फरक छैनन् । गरिबी, मृत्यू र रोग यस्तै हुन् हामीले भोग्ने पिडाहरु । त्यसैले पनि यी दुःखहरुलाई चिर्दै मानिसले फेरि आफैलाई उठाउन सक्छ अनि दौडन सक्छ समयको रफ्तारसँगै । नेपाली गायन रियालिटी शो वाईवाई नेपाल स्टारमा सबैको मन जित्दै गरेका सुरेश लामासँग पनि यस्तै एउटा कथा छ, एउटा अनुभव छ । उनको कथामा पिडै पिडा छ तर पनि उनी आज सबैको मनमा आवाजको मधुर गुञ्जन छर्दैछन् । उनका बिगत र वर्तमान सम्भवत एउटै जस्तै छ तर उनको जीवनमा अब केही परिवर्तन हुँदैछ । एउटा कर्णप्रिय आवाज लिएर उनी नेपाल स्टारको स्टेजबाट स्वदेशदेखि विदेशसम्म चिनिएका छन् । हेर्नुहोस् उनको जीवनकथाको भिडियो–

नेपाल स्टारमा एक्सपर्ट अफ द डे अवार्ड समेत जितिसकेका सुरेशका अहिले धेरै फ्यानहरु थपिएका छन् । रमाईलो कुरा त के छ भने संगीतका दिग्गजहरुपनि सुरेशको फ्यान बनेका छन् । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ अवेशन प्राप्त गरेका छन् । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । उनी २८ वर्षका छन् । सुरेश पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । तर उनी त्यसलाई पनि पार गर्दै नेपाल स्टारको उपाधी नजिक पुगिसकेका छन् । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेका सुरेशले औपचारिक रुपमा संगीत भने सिक्न पाएनन् ।

सानो छँदा गुम्बामै बसेर खाना पकाउने काम गरेको अनुभव उनीसँग छ । गुम्बामै बसेको समयमा उनले गायिका आनी छोईङ डोल्मालाई नजिकबाट चिन्ने मौका पाएका थिए । गायक रामकृष्ण ढकालको गीतहरु सुन्न रुचाउने र गुनगुनाउने सुरेशलाई राम्रो गीत गाएको भन्दै आनीले प्रशंसा गर्ने गर्थिन् । उनलाई आनीले नै संगीतकार न्यु बज्राचार्यसँग भेटाईदिएका थिए । केही समय संगीतकार बज्रचार्यसँगै काम गर्ने मौका पाएका उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट निक्कै प्रभावित छन् । साथै गायिका आनी छोईङ डोल्मा पनि उनको आवाजको प्रशंसक हुन् । सुरेशलाई सानैमा उनका आमा र बुवाले गायक बनाउने सपना देखेका थिए । तर उनीहरुले त्यो सपना पुरा भएको भने हेर्न पाएनन् । जीवनयात्राकै क्रममा बैदेशिक रोजगारको लागि मलेसिया पुगेको समयमै सुरेशले आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । विदेशको गएको ६ महिनामै आमा गुमाएका उनले त्यसको एकवर्षपछि बुवा पनि गुमाएका हुन् ।

जीवनको उतारचढावको बावजुद सुरेशले महत्वपूर्ण पाठहरु सिकेका छन् । यो संसारमा हाम्रो अनुकुल धेरै कुराहरु हुँदैनन् तर यी प्रतिकुल समयहरुमा पनि हामीले असल मनसाय राखेर अगाडि बढ्यौँ भने हामी खुशी हुने आधारहरु प्रशस्तै पाईन्छन् । हुन त नेपाल स्टारले उनलाई कुन हदसम्म अगाडि पुराउँछ त्यो सबैभन्दा महत्वपूर्ण कुरा होईन बरु उनले त्यो भन्दा पनि महत्वपूर्ण कुराहरु सिकिसकेका छन् । त्यो हो चुनौतिहरुमा पनि हाँस्न सक्नु अनि आफन्त गुमाएर पनि सम्हालिएर अगाडि बढ्नु । जीवनमा यस्ता पाठहरु सिकेर अगाडि बढेका सुरेशले जीवनमा अझै धेरै खुशी हुने आधारहरु पाउन् । हामी उनलाई यही शुभकामना दिन चाहान्छौँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*