बुद्ध लामा र केबिका खत्री अब अनमोल केसीको फिल्ममा

५ पुष २०७७, आईतवार २१:४२
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को पहिलो सिजनमा तहल्का मच्चाएको जोडी गायक बुद्ध लामा र कोरियोग्राफर केबिका खत्रीले नायक अनमोल केसीको आगामी चलचित्रमा सँगै काम गर्ने भएका छन् । डान्सिङ विथ द स्टार्स नेपालको फर्स्ट रनर अप हुन सफल बुद्धिका जोडीले शोको रिजल्ट हुनुपूर्व नै यो अवसर पाएका हुन् । शनिबार फाईनल राउण्डमा नतिजा घोषणा हुने क्रममा नायक भुवन केसीले फोन मार्फत आयोजकलाई बुद्ध र केबिकाको लागि अफर भएको जानकारी गराएका हु्न् । नायक केसीले फोनमार्फत जानकारी दिनेबित्तिकै लाईभ शोमा नै नायक अनमोल केसीको आगामी चलचित्रमा केबिकालाई कोरियोग्राफरका रुपमा र बुद्धलाई गायकका रुपमा राखिने घोषणा भएको थियो । हेर्नुहोस् भिडियो–

प्रतियोगितामा भाग लिएका सबै स्टार र कोरियोग्राफरहरुको जोडीहरुमध्ये सर्वाधिक केमेष्ट्रि मिलेको जोडीका रुपमा बुद्ध र केबिकाले चर्चा कमाएका थिए । स्टेजमा बुद्धिका जोडीका नामले परिचित यो जोडी शोमा मात्र नभई शोबाहिर पनि उत्तिकै चर्चामा आएका थिए । उनीहरुको जोडीलाई दर्शकहरुले केमेष्ट्रि मिलेको जोडीका रुपमा मन पराएका थिए । सामाजिक संजालभरि बुद्ध र केबिकाले जित्ने चर्चा चलेपनि अन्ततः शोको टाईटल नायिका सुमी मोक्तान र बिजु पार्कीले जितेका थिए । बुद्ध र केबिकाले नजितेको भन्दै अहिले दर्शकहरुले नतिजाको विरोधमा सामाजिक सञ्जाल पनि तताएका छन् । यद्यपि रियालिटी शोमा हारजित हुने नै भएकोले बुद्ध र केबिकाले यसलाई सामान्य रुपमै स्विकार गरेका छन् । बुद्ध र केबिकाले फाईनलमा ‘तिम्रो मिठो बोलीसँग’ बोलको गीतमा रोमान्टिक नृत्य गरेका थिए । उनीहरुको रोमान्टिक प्रस्तुतीमा सबै निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । फाईनलसम्मै चर्चा कमाएर यो जोडीले नयाँ तरंग ल्याएका छन् ।

बुद्ध र केबिकाले पहिलोदेखि छैटौँ हप्तासम्म समान २६–२६ अंक, सातौँ हप्ता २८ अंक र आठौँ हप्ता पून २६ अंक प्राप्त गरेका थिए । त्यस्तै उनीहरुले नवौँ हप्ता २७ र ३० अंक, दशौँ हप्ता २४ र ३० अंक तथा एघाराँै हप्ता २९ र ३० अंक प्राप्त गरेका छन् । उनीहरुले बाह्रौँ हप्ता २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्राँै हप्ता सकिँदा जम्मा ४३९ अंक प्राप्त गरेका थिए । उनीहरुले पहिलो हप्ता फ्री स्टाईल, दोस्रो हप्ता तामाङ सेलो, तेस्रो हप्ता कन्टेम्प्ररी, चौथो हप्ता ओपन स्टाईल र पाँचौँ हप्ता हाउस डान्स गरेका थिए । त्यस्तै छैटौँ हप्ता ओपन स्टाईल, सातौँ हप्ता लिरिकल कन्टेम्प्ररी र आठौँ हप्ता ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता साल्सा एण्ड साम्बा र ओपन स्टाईल, दशौँ हप्ता ओपन स्टाईल र कन्टेम्प्ररी तथा एघारौँ हप्ता सेमिक्लासिकल र कन्ट्रेम्प्ररी डान्स गरेका थिए । उनीहरुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर स्वयत्ना योञ्जनसँग मिलेर नृत्य गरेका थिए । उनीहरुले बाह्रौँ हप्ता दुबै दिन ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले तेह्रौँ हप्ताको शुक्रबार फाईनल राउण्डमा ओपन स्टाईल डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ताको पहिलो दिन, एघारौँ हप्ताको पहिलो दिन र तेह्रौँ हप्ता संयुक्त रुपमा पर्फोमेन्स अफ द डे अवार्ड गरी जम्मा ३ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । उनीहरुले ५ पटक बटम लाईनको सामना गरेका थिए ।

बुद्ध लामा पहिलो नेपाल आईडल हुन् । बुद्ध कास्की निवासी हुन् । २०५४ साल मंसिर ८ गते पोखरामा जन्मिएका बुद्ध लामाको पुख्र्यौली थलो धादिङको लापा हो । उनको परिवार २०४२ सालमा पोखरामा बसाईं सरेको थियो । बुद्धका बुवा सन्तबहादुर लामा नगरपालिकाका कर्मचारी हुन् । उनका आमाबुवा पनि उनी जस्तै गीत गाउन माहिर छन् । पोखराको महेन्द्र माविमाबाट एसईई अध्ययन पुरा गरेका उनले सोही विद्यालयमै गीत गाएर गायनको यात्रा थालेका हुन् । उनले एसईईपछि टुरिजम हस्पिटालिटी म्यानेज्मेन्ट विषय अध्ययन गरेका छन् । गायन क्षेत्रमा लाग्न दिदी र भिनाजुको साथ पाएका बुद्धले त्रिवेणी संगीतालयमा संगीत सिकेका थिए । उनले पोखराकै गुरुकुल संगितालयमा पनि संगित सिकेका थिए । सानै उमेरदेखि त्रिवेणीका गुरु नवराज बरालसँग संगीत सिकेका बुद्ध पोखरामा आयोजना भएको ‘बिग आइकन–२०११’ मा चौथो भएका थिए । साथीहरुसँग मिलेर उनले ताण्डव नामको ब्याण्ड पनि बनाएका थिए । तर त्यो ब्याण्ड दुःखद घटनाका कारण स्थायी हुन सकेन । उनले सन् २०१२ मा आफ्नै कम्पोजिसनमा ‘कसरी तिमीलाई’ बोलको गीत रेकर्ड गराएका थिए । यसरी संघर्ष गरेर अघि बढेका बुद्धले नेपालमा पहिलो पटक विदेशी रियालिटी शोको फ्रेन्चाईजका रुपमा संचालनमा आएको नेपाल आईडलको पहिलो सिजन सन् २०१७ मा जितेका थिए । त्यसपछि उनका लगातार हिट गीतहरु सार्वजनिक भईरहेका छन् ।

केबिका खत्री चर्चित डान्सर तथा कोरियोग्राफर हुन् । नेपाल टेलिभिजनबाटै प्रसारणमा आएको चर्चित डान्सिङ रियालिटी शो ‘छमछमी सिजन ३’ को फाईनालिष्ट समेत रहेकी केबिका डान्सिङ विथ द स्टार्स नेपालमा बुद्ध लामाको बलियो जोडीका रुपमा देखिएकी थिईन् । धरान १७ रेल्वेचोक स्थायी घर भएकी केबिकाले झापामा रहेर नृत्यलाई अगाडि बढाएकी थिईन् । सानैबाट नृत्यमा विशेष रुची राख्ने गरेकी केबिकाले विद्यालयस्तरका नृत्यका प्रतियोगिताहरुमा धेरै पटक शिर्ष स्थान जितेकी छिन् । उनी युट्युब फेसबुक डान्स कम्पिटिसन ‘दुनिया बेग्लै छ’ को विजेता समेत बनेकी थिइन् । त्यस्तै लेटमी डान्स नेपाल र अल नेपाल डान्स च्याम्पियनमा पनि फाइनलमा पुगेकी थिइन् । झापा नृत्य कलाकार संघकी सदस्य समेत रहेकी केबिकाले झापामा शनिश्चरे डान्स एकेडेमीको समेत सञ्चालन गरेकी थिईन् । वि.सं. २०५२ सालमा बुवा काजी अधिकारी खत्री र आमा शान्ता अधिकारी खत्रीको कोखबाट जन्मिएकी केबिकाले सामान्य परिवारमा हुर्किएर नृत्य यात्राको सुरुवात गरेकी थिईन् । उनले धरान १६ स्थित नवोदय उच्च माविबाट अध्ययन गरेकी थिईन् । उनले युएन कलेज धरानबाट बिबिएस अध्ययन गरेकी छिन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*