मोक्तान र बिजु पार्कीले जिते डान्सिङ विथ द स्टार्स नेपालको पहिलो सिजन

५ पुष २०७७, आईतवार ११:२१
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ५ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को पहिलो सिजनको विजेता नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको सुबजिु जोडी भएका छन् । शनिबार भएको ग्राण्ड फिनालेमा दर्शकहरुबाट सर्वाधिक भोट प्राप्त गर्दै उनीहरु विजेता भएका हुन् । विजेता भएसँगै उनीहरुले डान्सिङ विथ द स्टार्स नेपालको ट्रफी र नगद २० लाख रुपैयाँ सहित अन्य विभिन्न उपहारहरु प्राप्त गरेका छन् । फाईनलमा पुगेका अर्का दुई जोडीहरु गायक बुद्ध लामा र केबिका खत्री तथा प्रियना आचार्य र शुभम भुजेलको जोडीलाई पछि पार्दै सुबिजु जोडीले प्रतियोगिता जितेका हुन् । सुबिजु जोडीले टाईटल जितेसँगै बुद्धिका जोडी फर्स्ट रनर अप र प्रियम जोडी सेकेण्ड रनर अप भएका छन् । हेर्नुहोस् भिडियो सामग्री–

फाईनल शोमा सुमी र बिजुले ‘म यस्तो गीत गाउँछु’ बोलको गीतमा रोमान्टिक प्रस्तुति दिएका थिए । उनीहरुको प्रस्तुतिमा पनि निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । नायिका सुमी मोक्तान र कोरियोग्राफर बिजु पार्कीको जोडी शोमा स्टन्टवाला जोडीका रुपमा चिनिएका थिए । उनीहरुले शोमा सबैभन्दा बढी अंक र सबैभन्दा धेरै पटक पूर्णाङ्क पाउने जोडीका रुपमा रेकर्ड कायम गरेका छन् । उनीहरुले निर्णायकबाट ५ पटक पूर्णाङ्क प्राप्त गरेका थिए । उनीहरुले पहिलो,दोस्रो र तेस्रो हप्तामा समान ३०–३० अंक, चौथो हप्ता २६ अंक तथा पाँचौँ र छैटौँ हप्ता २३–२३ अंक प्राप्त गरेका थिए । उनीहरुले सातौँ र आठौँ हप्ता समान २७–२७ अंक, नवौ हप्तामा २७ र २६ अंक, दशौँ हप्ताको दुबै दिन समान २९–२९ अंक तथा एघारौँ हप्तामा २९ र ३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्रौँ हप्ताको दुबै दिनमा ३०–३० अंक प्राप्त गरेका थिए । उनीहरुले बाह्रौँ हप्ता सकिँदा जम्मा ४४६ अंक प्राप्त गरेका छन् ।

स्टेजमा सुबिजु नामले परिचित यो जोडीले पहिलो हप्ता फ्रि स्टाईल कन्टेम्प्ररी, दोस्रो हप्ता कन्टेम्प्ररी, तेस्रो हप्ता एरियल एण्ड एक्रोब्याट, चौथो हप्ता थिएटर र पाँचौँ हप्ता कलिउड हिपहप डान्स प्रस्तुत गरेका थिए । त्यस्तै उनीहरुले छैटौँ हप्ता झ्याउरे, सातौँ हप्ता ओपन स्टाईल र आठौँ हप्ता सुफी डान्स गरेका थिए । उनीहरुले नवौँ हप्ता पासो दोब्ले र कन्टेम्प्ररी, दशौँ हप्ता एरियल एक्रोब्याट्स एण्ड कन्टेम्प्ररी र ओपन स्टाईल तथा एघारौँ हप्तामा हिपहप र कन्टेम्प्ररी डान्स गरेका थिए । सुमीलाई सातौँ हप्ता सोमु गुरुङले नृत्यमा साथ दिएका थिए । सुमी र बिजुले एघारौँ हप्ताको शुक्रबार कोरियोग्राफर सञ्जय लामासँग मिलेर प्रस्तुति दिएका थिए । उनीहरुले बाह्रौँ हप्तामा आफ्रो फ्युजन र कन्टेम्प्ररी डान्स गरेका थिए । उनीहरुले तेह्रौँ हप्ताको शुक्रबार हिपहप डान्स गरेका थिए । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड, बाह्रौँ हप्तामा पर्फोमेन्स अफ द डे अवार्ड र तेह्रौँ हप्ता संयुक्त रुपमा पर्फोमेन्स अफ द डे अवार्ड जितेका थिए । यो जोडीले २ पटक बटम थ्रीको सामना गरेका थिए ।

फाईनल शोमा प्रतियोगिताका निर्णायक, हेड कोरियोग्राफर, केही डान्स ग्रुप तथा यसअघि भाग लिएका केही कोरियोग्राफरहरुले पनि प्रस्तुति दिएका थिए । शोमा गायक विकास लिम्बु, आरिफ रौफ, राम लिम्बु लगायतले पनि प्रस्तुति दिएका थिए । शोका अर्का फाईनालिष्टहरु बुद्ध र केबिकाले फाईनलमा ‘तिम्रो मिठो बोलीसँग’ बोलको गीतमा रोमान्टिक नृत्य गरेका थिए । उनीहरुको रोमान्टिक प्रस्तुतीमा सबै निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । शुभम र प्रियनाले कति ‘माया गर्छौ ’ बोलको गीतमा रोमान्टिक प्रस्तुति दिएका थिए ।

सुमी मोक्तान चर्चित नायिका तथा मोडल हुन् । सन् १९९६ अक्टोबर ९ तारिखमा जन्मिएकी सुमीले सन् २०१२ मा मिस तामाङ २०१२ को उपाधि जितेकी थिईन् । मिस तामाङ हुँदै उनले सन् २०१३ मा आयोजित मिस नेपालमा उत्कृष्ट ५ मा आफुलाई कायम गर्न सफल भएकी थिईन् । काठमाडौँमा जन्मिएकी सुमी अध्ययनका लागि टेक्सासमा पुगेकी थिईन् । लक्ष्मण पब्लिक स्कूलबाट विद्यालय तहको अध्ययन सकाएपछि सुमीले टेक्सासको स्टाम्डफोर्ड ईन्टरनेशनल युनिभर्सिटीबाट पढाई पुरा गरेकी हुन् । साईकोलोजीमा स्नातक गरेकी सुमी डान्सरका साथै गायिकाका रुपमा पनि चर्चाम छिन् । ब्युटी प्याजेन्टहरुमा सहभागी भएसँगै मोडलका रुपमा चर्चामा आएकी सुमीले ‘दुई रुपैयाँ’ नामक चलचित्रबाट डेब्यु गरेकी थिईन् । उनले ‘टल्क्यो जवानी’ बोलमा गरेको नृत्य र अभिनयलाई दर्शकहरुले मनपराएका थिए । त्यसपश्चात झ्यानाकुटी र जानीनजानी चलचित्रमा देखिएकी सुमीले पछिल्लो पटक ‘सरौतो’ चलचित्रमा लिड रोलमा प्रस्तुत गरेकी थिईन् । उनी विभिन्न म्युजिक भिडियोहरुमार्फत पनि दर्शकमाझ पुग्ने गरेकी छिन् । उनी मार्सल आर्टकी खेलाडी पनि हुन् ।

बिजु पार्की चर्चित मोडलका साथै जिम ईन्स्ट्रक्टर र कोरियोग्राफर हुन् । भारतका विभिन्न चर्चित रियालिटी शोहरुमा समेत कोरियोग्राफीको अनुभव लिईसकेका बिजुले नायिका तथा मोडल सुमी मोक्तानसँग जोडी बाँधेर डान्सिङ विथ दि स्टार्स नेपालमा प्रतिस्पर्धा गरेका थिए । विभिन्न चर्चित म्युजिक भिडियोहरुमा कोरियोग्राफ गरिसकेका बिजुले अभिनय पनि गरेका छन् । सानैदेखि नाच्न सुरु गरेका बिजु सुरुमा बिबोईङमा रुचि राख्थे । ट्यालेन्टकै कारण बिजुले प्रोफेस्नल डान्सरमा कदम चालेका थिए । सेल्फ लर्निङबाटै कोरियोग्राफी दुनियाँमा प्रवेश गरेका बिजुले थोरै समयमै चर्चा पनि कमाईसकेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*