तिनै फाईनालिष्ट जोडीलाई अवार्ड

४ पुष २०७७, शनिबार १७:०४
Featured Video Play Icon

मकवानपुर, ४ पुस । विश्वप्रसिद्ध डान्सिङ रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स नेपाल’को फाईनल राउण्डको पहिलो दिन तिनै जना जोडीहरुले अवार्ड प्राप्त गरेका छन् । फाईनलमा पुगेका बुद्ध लामा र केबिका खत्री, सुमी मोक्तान र बिजु पार्की तथा प्रियना आचार्य र शुभम भुजेलले संयुक्त रुपमा पर्फोमेन्स अफ द डे अवार्ड प्राप्त गरेका हुन् । संयुक्त रुपमा अवार्ड प्राप्त गरेसँगै प्रियना र शुभमको प्रियम जोडीको नाममा एउटा अवार्ड, बुद्ध र केबिकाको बुद्धिका जोडीको नाममा ३ वटा अवार्ड तथा सुमी र बिजुको सुबिजु जोडीको नाममा पनि ३ वटा अवार्ड पुगेको छ । शुक्रबारको शोमा दर्शक भोटका लागि उत्कृष्ट ३ फाईनालिष्टहरुले प्रस्तुति दिएका थिए । शुक्रबारको प्रस्तुतिपश्चात शनिबार साँझ ८ बजेसम्म भोटिङ लाईन खुला रहेको छ । शोको फाईनल शनिबार साँझ सवा ७ बजेदेखि नै सुरु हुनेछ । यो साता निर्णायकहरुले ३ जोडीहरुलाई कुनै पनि अंक दिएनन् । उनीहरुको शुक्रबारको प्रस्तुतिपश्चात दर्शकहरुले भोट गर्न पाउने अप्सन भेन खुला नै राखिएको छ । शनिबार साँझ ८ बजेसम्म प्राप्त भोटका आधारमा ३ जोडीहरुमध्ये एक जोडीले शोको टाईटल जित्नेछन् । हेर्नुहोस् भिडियो–

शुक्रबारको प्रस्तुतिमा तिनै जना जोडीहरुले आफ्नो कम्फर्ट जोनभन्दा बाहिर गएर प्रस्तुति दिएका थिए । बुद्ध र केबिकाले पहिलो पटक ओपन स्टाईलमा नयाँ प्रयोग गर्दै फास्ट बिट डान्स गरेका थिए । त्यस्तै यसअघि कहिलेपनि एरियल डान्स नगरेको प्रियम जोडीले ओपन स्टाईलमा एरियल डान्स गरेका थिए भने सुमी र बिजुले पहिलो पटक हिपहप डान्स गरेका थिए । डान्सिङ स्टाईलका हिसाबले यी तिनै जोडीहरुले आफु अनुकुलभन्दा पनि आफु प्रतिकुल डान्स गरेका थिए । उनीहरुको फाईनल प्रस्तुतिलाई निर्णायकहरुले समेत प्रशंसा गर्दै फाईनलको वास्तविक झलक आएको बताएका थिए । सबै जोडीहरु अवार्डको हकदार भएको भन्दै निर्णायकहरुले उनीहरु तिनै जना जोडीलाई अवार्ड पनि प्रदान गरेको हो । शुक्रबारको प्रस्तुति पश्चात तिनै जोडीहरुले अन्तिम पटक शोबाट दर्शक भोटका लागि पनि अपिल गरेका छन् ।

बुद्धिका जोडीले शोमा सहभागी भएर निर्णायकहरुबाट जम्मा ४३९ अंक प्राप्त गरेका छन् । उनीहरुले नवौँ हप्ताको पहिलो दिन, एघारौँ हप्ताको पहिलो दिन र तेह्रौँ हप्ताको पहिलो दिन संयुक्त रुपमा गरी जम्मा ३ पटक पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । त्यस्तै फाईनलमा पुगेका सुबिजु जोडीले शोमा सबैभन्दा बढी अर्थात ५ पटक पूर्णाङ्क ३० मा ३० नै प्राप्त गरेका छन् । यतिधेरै सर्वाधिक अंक शोमा अरु कुनै पनि जोडीले पाएको छैन् । त्यस्तै शोमा अहिलेसम्मको अंक जोड्दा सबैभन्दा बढी अंक ल्याउने जोडीमा पनि सुबिजुकै रेकर्ड छ । उनीहरुले फाईनलसम्म आउँदा जम्मा ४४६ अंक प्राप्त गरेका छन् । उनीहरुले दोस्रो हप्ता पर्फोमेन्स अफ द विक अवार्ड, बाह्रौँ हप्तामा पर्फोमेन्स अफ द डे र तेह्रौँ हप्ताको पहिलो दिन संयुक्त रुपमा पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् । प्रियम जोडीले फाईनलसम्म आईपुग्दा जम्मा ३०५ अंक प्राप्त गरेका छन् भने तेह्रौँ हप्ताको पहिलो दिन संयुक्त रुपमा पर्फोमेन्स अफ द डे अवार्ड जितेका छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*