नेपाल स्टारका उत्कृष्ट ९ प्रतियोगीहरु

१ पुष २०७७, बुधबार ११:२७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, १ पुस । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट ९ प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट १० मा पुगेका चर्चित प्रतियोगी कमल रसाईली दर्शक भोट र निर्णायक मतका आधारमा बाहिरिएपछि शोका उत्कृष्ट ९ प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट ९ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–

नेपाल स्टारको उत्कृष्ट ९ मा पुगेका पहिलो प्रतियोगी हुन् सुरेश लामा । काठमाडौँ अडिसनबाट छानिएका सुरेशले विभिन्न राउण्डहरुमा निर्णायकहरुको स्टाण्डिङ ओभिएसन प्राप्त गरेका छन् । २८ वर्षीय सुरेशले षडज राउण्डमा गाएको गीतलाई पनि निर्णायकहरुले एपिसोडकै बेस्ट प्रस्तुति भनेका थिए । काठमाडौँको तारेभिर निवासी सुरेश चर्चित गायक बन्न चाहान्छन् । अहिलेसम्म संगीत नसिकेता पनि संगीत क्षेत्रमै नै लाग्ने उनी बताउँछन् । उनी पहिलो पटक रियालिटी शोमा सहभागी भएका हुन् । अडिसन राउण्डमा पनि तहल्का मच्चाएका उनलाई निर्णायकहरुले कम्तिमा पनि उत्कृष्ट २० सम्म पुग्न सक्ने क्षमता देखेको बताएका थिए । काठमाडौंको गोकर्णेश्वर ३ तारेभिरमा आमा राममाया र बुवा साइलाबाट जन्मिएका सुरेशले सानै उमेरदेखि गीत गाउन थालेका हुन् । १० बर्षकै उमेरदेखि गीत गुन्गुनाउन थालेको स्मरण गर्ने उनले विभिन्न बाधा अवरोधका कारण सांगितिक यात्रालाई भने चाहेर पनि अगाडी बढाउन सकेका थिएनन् । आफुमा धेरै सम्भावना भएतापनि बाध्यताले बैदेशिक रोजगारको लागि मलेसिया पुगेका उनले आफु पराइ भुमिमा रहेकै बेला आफ्ना आमा बुवालाई गुमाउनु परेको थियो । आजसम्म कुनै संगीतको कक्षा नलिएका लामाले गायक रामकृष्ण ढकालको गीतहरु सुन्न थालेपछि गीत गाउने रहर लग्न थालेको बताएका छन् । उनी संगीतकार न्यू बज्राचार्य र गायिका आनी छोईङ डोल्माबाट उनी निक्कै प्रभावित छन् ।

नेपाल स्टारको उत्कृष्ट ९ मा पुगेका दोस्रो प्रतियोगी हुन् लक्ष्मण लिम्बु । काठमाडौँ अडिसनबाट छानिएका लक्ष्मणलाई विभिन्न राउण्डहरुमा निर्णायकहरुले स्टाण्डिङ ओभिएसन दिएका थिए । उनले उत्कृष्ट ३३ को प्रस्तुतिमा पनि तहल्का मच्चाएका थिए । संगीत क्षेत्रमा सक्रियताका साथ लागेका लक्ष्मणले आफ्नो अफिसियल गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनी गायक, संगीतकार तथा गीतकार रुपमा पनि परिचित छन् । उनका केही केही गीतहरु चर्चित बनेका छन् । २८ वर्षीय लक्ष्मण तेह्रथुमका हुन् । नेपाल स्टारको उत्कृष्ट ९ मा पर्न सफल तेस्रो प्रतियोगी हुन् सिद्धान्त खड्का । ईटहरी अडिसनबाट छानिएका सिद्धान्तले हरेक प्रस्तुतिहरुमा निर्णायकहरुको ताली पाएका छन् । झापाका २७ वर्षीय सिद्धान्त नेपाली सांगितिक क्षेत्रमा अग्रसर छन् । उनी यसअघि नेपाल आईडलमा पनि सहभागी भएका थिए । उनका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् ।

नेपाल स्टारको उत्कृष्ट ९ मा पुगेका चौथो प्रतियोगी हुन् विशाल देव श्रेष्ठ । विशालले उत्कृष्ट १० को प्रस्तुतिका क्रममा एक्स्पर्ट अफ द डे अवार्ड जितेका थिए । ईटहरी अडिसनबाट छानिएका विशालले निर्णायकहरुको मन जित्दै अगाडि बढेका छन् । झापाका ३२ वर्षीय विशालले षडज् राउण्डमा दिएको प्रस्तुतिबाट निर्णायक आलोक श्रीले आफु उनको फ्यान भएको बताएका थिए । विभिन्न सांगितिक कार्यक्रमहरुमा सहभागी भईरहने विशालका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भइसकेका छन् । सानैदेखि गायनमा रुचि राख्दै आएका विशाल झापाको मेचीनगर नगरपालिका वडा नम्बर १० धुलाबारी निवासी हुन् । नेपाल स्टारको उत्कृष्ट ९ मा पर्न सफल पाँचौँ प्रतियोगी हुन् सन्देश बम्जन लामा । संगीत क्षेत्रमा सक्रिय सन्देश २५ वर्षका छन् । यसअघि उनले नेपाल आईडलमा पनि सहभागिता जनाएका थिए । उनी धरान निवासी हुन् ।

नेपाल स्टारको उत्कृष्ट ९ मा पर्न सफल छैटौँ प्रतियोगी हुन् अमिन परियार । पोखरा अडिसनबाट छानिएका अमिनले विभिन्न राउण्डहरुमा निर्णायकहरुको प्रशंसा र ताली पाउँदै आएका छन् । उनले फरक फरक प्रस्तुतिहरु दिएर निर्णायकहरुको मन जितेका छन् । पोखरा निवासी १९ वर्षीय अमिन संगीत क्षेत्रमा सक्रिय भएर अगाडि बढेका छन् । नेपाल स्टारको उत्कृष्ट ९ मा पुगेकी सातौँ प्रतियोगी हुन् एलिना गुरुङ । एलिना बिगत ४ वर्षदेखि साँगितिक क्षेत्रमा सक्रिय छिन् । उनी पोखराका विभिन्न सांगितिक जमघटमा सहभागी हुन्छिन् । न्यू मेलोडियस ब्याण्डमा आवद्ध उनी ब्याण्डमार्फत नै प्रस्तुतिहरु दिन्छिन् । २४ वर्षीया एलिनाका केही ओरिजिनल गीतहरु पनि सार्वजनिक भईसकेका छन् ।

नेपाल स्टारको उत्कृष्ट ९ मा पुगेकी आठौँ प्रतियोगी हुन् समिक्षा दाहाल । काठमाडौँ अडिसनबाट छानिएकी समिक्षा ईलामको सुर्योदय नगरपालिका वडा नम्बर ९ स्थित फिक्कल गैरीगाउँ निवासी हुन । उनी बिगत एक वर्षदेखि संगीत सिक्दैछिन् । सानैदेखि गाउन सुरु गरेकी समिक्षाले काठमाडौँमा आएर पनि गायनमा संघर्ष गरेकी छिन् । उनी नेपाल आईडल सिजन २ को थिएटर राउण्डसम्म पुगेकी थिईन् । केही कभर गीतहरु समेत गाएकी समिक्षाले निर्णायकहरुको मन जितेकी छिन् । उनी नेपाल स्टारमा रक स्टारका रुपमा चिनिदै आएकी छिन् । उनी २३ वर्षकी छिन् । नेपाल कमर्स क्याम्पस (एनसीसी) बाट स्नातक गरेकी समिक्षाले फिक्कलकै पञ्चकन्या बोर्डिङ स्कूलबाट अध्ययन सुरु गरेकी थिईन् । उनले फिक्कल माविबाट प्लस टु सकाएकी हुन् । सुरुमा नाच्न धेरै रुचाउने समिक्षाले अध्ययनका लागि काठमाडौँमा आएपछि गायनमा रुचि देखाएका हुन् । सांगीतिक क्षेत्रमा स्थापित उनका काका भूगोल दाहाललाई उनले पहिलो गुरु मान्छिन् । बुवा मातृका दाहाल र आमा चण्डिका दाहालको कोखबाट जेठी छोरीको रुपमा जन्मिएकी समिक्षाले नेपाल स्टार जित्नसक्ने सम्भावना रहेको उनका फ्यानहरु बताउँछन् ।

नेपाल स्टारको उत्कृष्ट ९ मा पुगेकी नवौँ प्रतियोगी हुन् प्रेक्षा लम्साल । सुर्खेत अडिसन हुँदै उत्कृष्ट ९ मा आईपुगेकी प्रेक्षाले निर्णायकहरुको मन जित्दै अगाडि बढेकी छिन् । दाङकी २० वर्षीय प्रेक्षाले यसअघि द भ्वाईस अफ नेपालको सिजन १ र २ मा पनि सहभागिता जनाएकी थिईन् । भ्वाईस अफ नेपालको सिजन २ मा चारै जना कोचलाई आफुतिर फर्काउन सफल उनी ब्याटल राउण्डसम्म पुगेकी थिईन् । सानैदेखि गीत गाउन रुचाउने प्रेक्षाले औपचारिक रुपमा संगीत पनि सिकेकी छिन् । प्रेक्षाले अध्ययन र संगीतलाई एकसाथ अघि बढाएकी छिन् । उनी मिठो कविता लेख्न र वाचन गर्न पनि माहिर छिन् । उनी विशेष गरी छन्द कविताहरुका लागि पनि चर्चित छिन् । उनका केही ओरिजिनल गीतहरु पनि चर्चामा छन् ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*